देउवा र प्रचण्डविरूद्ध निर्णायक अस्त्र प्रयोग हुँदै !

देउवा र प्रचण्डविरूद्ध निर्णायक अस्त्र प्रयोग हुँदै !


काङ्ग्रेसलाई भड्काउन विशेष कसरत

देउवा प्रधानमन्त्री रहेकै बेला काङ्ग्रेसको महाधिवेशन हुने र, उक्त महाधिवेशनमा सत्तारुढ देउवाको प्रभाव पर्ने भएकोले गगनहरूको टोली अहिलेदेखि नै आक्रामक बन्न थालेको बुझिन्छ ।

अमेरिका र भारतको ‘सुझाव र दबाब’ विपरीत चीनको भ्रमण गरेर पनि प्रधानमन्त्री प्रचण्ड आफ्नो निरन्तरता कायम राख्न सफल हुनुभएको छ । बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता नगरेर प्रचण्ड आफ्नो सरकार बचाउन सफल हुनुभएको हो । अब मङ्सिरसम्म यो सरकार सजिलै अगाडि बढ्ने देखिएको छ, तर मङ्सिरमा हुने भनिएको काङ्ग्रेस महासमिति बैठकको सम्भावित तस्बिरले सरकारको भविष्य निर्धारण गर्ने अवस्था छ ।

मङ्सिरको दोस्रो साता काङ्ग्रेसले महासमितिको बैठक काठमाडौंमा सम्पन्न गर्ने भएको छ । उक्त बैठकबाट ‘काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने या सरकार छोडेर काङ्ग्रेस बाहिर बस्ने’ निर्णय गराउन पश्चिमी तागत र गगन थापाको टोली आन्तरिक गृहकार्यमा जुटिसकेका छन् । प्रचण्ड सरकारले पूर्वनिर्धारित समयसम्म (अब १६ महिना बाँकी) निरन्तरता पाएमा त्यसपछिको एक वर्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्नुहुने र, त्यसपछि आमनिर्वाचनसम्म शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुनेछ । देउवा प्रधानमन्त्री रहेकै बेला काङ्ग्रेसको महाधिवेशन हुने र, उक्त महाधिवेशनमा सत्तारुढ देउवाको प्रभाव पर्ने भएकोले गगनहरूको टोली अहिलेदेखि नै आक्रामक बन्न थालेको बुझिन्छ ।

अहिले प्रचण्डलाई छोड्ने निर्णयमा काङ्ग्रेसलाई पुऱ्याउन नसके देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहने र, देउवा प्रधानमन्त्री रहेको स्थितिमा आगामी महाधिवेशन पनि आफ्नो अनुकुल नहुने ठहर गगनहरूले गरेका छन् । त्यसैले डा. शेखर कोइरालालाई अगाडि सारेर अघि बढ्ने योजना देउवाविरोधीहरूले बनाएका छन् । यस्तो योजनाको पछाडि एमाले, राप्रपा, रास्वपा र पश्चिमा शक्ति समेत एकसाथ रहेको बुझिन्छ । त्यसैले एक समय हिन्दूराष्ट्रको पक्षमा रहनुभएका शेखर कोइराला अहिले धर्मनिरपेक्षताको पक्षधर बन्नुभएको छ । काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउने भन्दै महासमितिबाट निर्णय गराउने र, शेखर कोइरालाको नेतृत्वमा एमालेसहितको सरकार बनाउने उनीहरूको योजना छ । यस्तो योजना सफल भएमा प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना न्यून हुनेछ ।

गगनहरूको यस्तै चालबाजी बुझेर शेरबहादुर देउवा वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिन कटिबद्ध हुनुहुन्छ । उहाँ न काङ्ग्रेसको नेतृत्व छोड्ने मानसिकतामा हुनुहुन्छ न प्रचण्डलाई पन्छाएर गठबन्धन भत्काउने पक्षमा रहनुभएको छ । यसरी अहिले देउवाको रक्षा गर्न प्रचण्ड अघिसर्ने र प्रचण्डको रक्षाका निम्ति देउवा जुनसुकै कदम चाल्न तयार रहने स्थिति बनेको छ । उपेन्द्र यादवको भूमिका दोहोरो भएपनि माधव नेपालसमेत गठबन्धनरक्षाको पक्षमा दृढ देखिनुभएको छ ।

यसका बाबजुद शेखर कोइराला र केपी ओली जुन प्रकारले सरकार बदल्ने खेलमा लाग्नुभएको छ, त्यो अण्डरमाइण्ड गर्न मिल्ने स्तरको छैन । जसरी भएपनि विद्यमान गठबन्धन भत्काएरै छोड्ने दृढताका साथ केपी-शेखरहरूको योजना अघि बढेको छ । माओवादी-काङ्ग्रेस गठबन्धनको पक्षमा भारत रहेकोले मात्र केपी र कोइरालाको टोली सफल हुनेमा आशङ्का रहेको हो ।