केपीको विरूद्ध भित्रभित्रै सक्रियता !
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना आलोचक या विरोधीहरूलाई सम्पूर्ण रूपले पन्छाइसकेको भएपनि पार्टीमा उनको विरूद्ध सशक्त समूहको जन्म हुन पुगेको छ । पार्टीको प्रदेश तहको नेतृत्वका निम्ति भएका अधिवेशन र निर्वाचन परिणामले पार्टीमा विकल्प खोज्नेहरूको बलियो उपस्थिति रहेको प्रमाणित गरेको छ । केही साताअघि लुम्बिनी प्रदेशमा सम्पन्न अधिवेशनले केपीको रोजाइका ब्यक्तिलाई अनुमोदन गरेन । केपी प्युठानका हरि रिजाललाई प्रदेश अध्यक्षका रूपमा हेर्न चाहनुहुन्थ्यो, तर प्रतिनिधिहरूको रोजाइमा पाल्पाका राधाकृष्ण कँडेल परे । कँडेललाई पराजित गराउन महासचिव शङ्कर पोखरेलको टोलीले कुनै कसर बाँकी राखेको थिएन ।
ज्ञातब्य छ, केपी शङ्करलाई आफ्नो उत्तराधिकारी बनाउन चाहनुहुन्छ र, त्यसनिम्ति आन्तरिक गृहकार्य गर्दैहुनुहुन्छ । शङ्करकै गृहप्रदेशमा भएको शङ्करको पराजयले केपीलाई निकै ठूलो धक्का पुऱ्याएको थियो । लुम्बिनीमा जस्तै प्रतिकुल परिणाम नआओस् भनेर अन्य प्रदेशमा पार्टीसत्ताको व्यापक प्रयोग भएको महसूस सहभागीहरूले गरेका छन् । केपी ओलीको पुरानो हितैषी एवम् बागमती प्रदेशमा लोकप्रिय मानिएका कृष्णप्रसाद दाहाललाई पराजित गर्न शङ्कर पोखरेल, राजन भट्टराई र बिष्णु रिमालको टोलीले न्वारानदेखिको बल लगाउनु परेको थियो । पार्टी-सत्ताको सम्पूर्ण शक्ति प्रयोग गरेर अध्यक्षका उम्मेदवार दाहाललाई परास्त गरिए पनि सचिवमा नवराज सिलवाललाई रोक्न उनीहरूले सकेनन् । अध्यमा कैलाश ढुङ्गेललाई जिताउन केपीले समेत छुट्टै ‘एफोर्ट’ लगाउनुपरेको थियो । कर्णाली प्रदेशमा मीनबहादुर शाहीलाई पार्टी-सत्ताको साथ हुँदाहुँदै पनि कार्यकर्ताले गुलाबजङ शाहलाई अध्यक्ष बनाइदिएका छन् । शङ्कर पोखरेल आफै मीनबहादुरलाई जिताउन खटेका थिए ।
कोशी प्रदेशमा पार्टी-सत्ताको व्यापक दुरुपयोग हुँदा पनि मात्र ८२ मतको अन्तरले घनश्याम खतिवडालाई जिताउन सत्तापक्ष सफल भएको छ । लोकप्रिय मानिएका विनोद ढकाललाई पराजित गरिदिएपछि कार्यकर्ताहरूमा व्यापक निराशाको स्थिति उत्पन्न भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशमा पनि सत्तापक्ष र विपक्षीबीच कडा मुकाबिला हुने अवस्था छ । असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुँदैछ । गण्डकी प्रदेशमा पार्टी सत्तापक्षले मायानाथ अधिकारीलाई अघिसारेको छ भने नवराज शर्मा फरक धारका उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् । अधिकारीलाई जिताउन शङ्कर पोखरेल, खगराज अधिकारी र पद्मा अर्याललगायतका ब्यक्तिहरू दिलोज्यानले लागिपरेका छन् । खगराज अधिकारी मायानाथका पक्षमा उभिएका छन् ।
प्रदेश कमिटीका निम्ति भएका निर्वाचनहरूले एमालेभित्र सत्तापक्षको विकल्प जबर्जस्त ढङ्गले खडा हुँदै गरेको देखिन्छ । यसले आगामी महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै पुनः अध्यक्षको उम्मेदवार बन्नुभएमा उहाँको विरूद्ध समेत सशक्त उम्मेदवार खडा हुनसक्ने सङ्केत दिएको छ । केपीको विपक्षमा कसले उम्मेदवारी दिनसक्ला यो भन्न सकिन्न, तर उहाँलाई निर्विरोध बन्न नदिइनेचाहिँ अब पक्कापक्की भएको छ । निवर्तमान राष्ट्रपति विद्या भण्डारीले पार्टी राजनीतिमा पुनः सक्रिय रहने तत्परता लिनुभएको छैन । यदि भण्डारी पार्टी नेतृत्व लिन तयार हुनुभयो भने उहाँ सर्वसम्मत अध्यक्ष बन्न सक्नुहुने सम्भावना देखिएको छ ।
प्रतिक्रिया