‘एक भगवत् र एक गीता’बारे अभिनेता विपीनको अनुभव

‘एक भगवत् र एक गीता’बारे अभिनेता विपीनको अनुभव


नेपाली चलचित्रमा नामभन्दा पनि आफूले निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक हुन् विपीन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले उनको पहिचान स्थापित भएको, तर अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले खास अभिनेताको रूपमा चिनेका हुन् ।

आज विपीनको नाम हरेक चलचित्रप्रेमीका लागि सुपरिचित छ । दर्शकमाझ परिचित भए पनि अभिनेता कार्की आफ्ना पात्रलाई नयाँ जीवन दिन सङ्घर्षशील छन् । दर्शकले आफ्ना भूमिकामा आफूलाई महसूस नगरुन् भन्ने उनको प्रयास हुन्छ । यसकै निरन्तरता हो, ‘एक भगवत् र एक गीता (सामाजिक प्रेमकथा)’ । उनले चलचित्रमा निर्वाह गरेको ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

‘एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसूस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्’, अभिनेता कार्की भन्छन्, ‘मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।’

उनलाई कथाले आकर्षित गरेता पनि निर्माण समूहसँग विश्वस्त हुन समय लाग्यो । किनकि निर्देशक झरना थापाद्वारा अभिनय र निर्देशन गरिएका अधिकांश चलचित्र परम्परागत थिए । यद्यपि यो विषयवस्तुलाई महिला निर्देशकले अन्यको तुलनामा न्याय गर्न सक्ने विश्वास अभिनेता कार्कीलाई थियो ।

‘मैले पटकथा सुनेपछि प्रस्तुतीकरणका विषयमा छलफल गरेँ । म विश्वस्त भएपछि काम सुरु गरेँ । किनकि उहाँहरू परिवर्तन हुन् खोज्नु भएको छ भने हामीले सहकार्य गर्नै पर्छ’, अभिनेता कार्कीको भनाइ छ । छायाङ्कनका क्रममा उनले नयाँ अनुभव सँगाले । शृङ्गारमा लाग्ने समय, लिङ्ग परिवर्तन हुँदा ल्याउनुपर्ने हाउभाउ लगायतले उनलाई छायाङ्कन अवधिभर ‘विपीन’ भन्दा पर राख्यो । छायाङ्कन सकिएको दुई दिन जनकपुरमै बसेर बल्ल उनी काठमाडौ फर्किए । किनकि, उनी पात्रलाई अन्यसँग परिचित गराउन चाहँदैनथे ।

निर्देशक थापाले लगातार निर्माण गरिरहेको चलचित्रमा फरक रहेको बताइन् । ‘प्रेमकथा भन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ’- झरना भन्छिन् । चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।