नेपालको एकमात्र घुमन्ते प्रजाति राउटे

नेपालको एकमात्र घुमन्ते प्रजाति राउटे


✍ सुनिल उलक

अचेल सामाजिक सञ्जालमा राउटेको चर्चा-परिचर्चा निकै हुनेगर्छ । यसबाट धेरैले राउटेहरूको रहनसहन, भेषभुषा तथा बोलीचालीबारे जानकारी पाउन थालेका छन् । पहिले एनजिओ तथा आइएनजिओको नाममा डलर कमाउनेहरू राउटे बस्तीमा पुग्दथे । अहिले यूट्यूबरहरू डलर कमाउन राउटे बस्ती पुग्ने गरेका छन् । तर राउटेको जीवनशैलीमा भने कुनै परिवर्तन आएको देखिँदैन । कतिपय सुधार र सामाजिक कुराहरू उनीहरू स्विकार्दैनन् । कतिपय सरकार र यहाँको समाजले स्विकार्न दिँदैनन् ।

वास्तवमा भनौँ भने राउटेहरू घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको प्रजाति हो । तसर्थ यी राउटेहरूको लागि स्थायी घर बनाइदिने र अन्य ब्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो । यिनीहरूलाई यसरी नै बाँच्न दिनुपर्छ । सरकार वा यहाँको समाजले यिनीहरूको जीवनरक्षाको लागि यिनले उत्पादन गर्ने सामग्री उत्पादनमा सहयोग गर्ने तथा सो उत्पादित सामग्री खरिद गरिदिने हो । यी सामग्री बजारमा बिक्छन् वा बिक्दैनन् भन्नु भन्दापनि यिनीहरूबाट उचित मुल्यमा खरिद गरिदिएमा अन्य आर्थिक सहयोगको अपेक्षा राख्ने गर्दैनन् । बजारमा आउँदा यिनीहरूले तैयार बनाएर बिक्रीका लागि ल्याइएका सामग्री किन्न नखोज्ने वा सस्तोमा किन्न खोज्ने गर्दा यिनीहरूमा आर्थिक अभावको अवस्था सिर्जना भयो । जसले गर्दा यिनीहरू आफू बसेको नजिकको बस्तीमा माग्नको लागि पनि पस्न थाले । नेपाल सरकारले मासिक लोपोन्मुख भत्ता बापत रु ३००० र कर्णाली प्रदेश सरकारबाट रु २००० गरि मासिक रु ५००० पाउने ब्यवस्था गरेको छ । यस किसिमको ब्यवस्थाले सरकारले राउटे प्रजातिको सुरक्षण गरेको भन्ने गरेको छ । वास्तवमा यसरी रकम उपलब्ध गराउनु गलत हो । यसको सत्ता उनीहरूलाई उनीहरूले तैयार गर्ने काठको सन्दुस, कौशी, औखल तथा सिलौटाहरू उत्पादन गर्न सहयोग गर्ने तथा ती उत्पादित वस्तु सरकारले खरिद गरिदिने ब्यवस्था मिलाएको भए उनीहरू आत्मनिर्भर हुन्थे । तर अचेल उनिहरूले यी सामग्री उत्पादन गर्न बिस्तारै छोडिसके । काठ पाइँदैन… काट्न दिँदैन भनेर पन्छिन थालेका छन् । साथमा सरकारसँग विभिन्न सहयोगको माग गर्न थालेका छन् । सरकारले लोपोन्मुख भत्ता उपलब्ध गराउँदा उल्टो अझ बढी रकमको अपेक्षा गर्न थालेका छन् ।

नेपालमा राउटेहरूको बारेमा बिस्तृत अध्ययन २०२५ सालमा भएको थियो । अमेरिकी मानवशास्त्री एवम् पुरातत्वविद् योहन रेयनहर्डले २०२५ साल पुसदेखि फागुनसम्म राउटे बस्तीमा नै बसेर अध्ययन गरेका थिए । हुन त रेयनहर्ड २०२४ को अन्तमा नै नेपाल आउनुभएर नेपालको अर्को आदिवासी कुसुण्डासम्बन्धी अध्ययन गर्दै थिए । कुसुण्डाका राजामामासँग बसेका थिए । कुसुण्डाको भाषा र लिपिसम्बन्धी पनि अध्ययन गरेका थिए । कुसुण्डासम्बन्धी अध्ययन गर्ने क्रममा नै राउटेहरूको बारेमा पनि सुनेपछि उनले राउटेको अध्ययन पनि थालेका थिए । यसअगाडि राउटेको विषयमा योगी नरहरिनाथले २०१३ सालमा प्रकाशित आफ्नो पुस्तक ‘इतिहास प्रकाश’मा राउटे बारेमा लेखेका छन् । विदेशीको हकमा भने रेयनहर्ड नै पहिलो ब्यक्ति थिए जो राउटेबस्तीमा पुगेर राउटेहरूसँग बसेर उनीहरूको विषयमा अध्ययन गरेका थिए ।

नेपालमा कुसुण्डा प्रजाति र उनिहरूको बिलुप्त हुँदै गरेको भाषासम्बन्धी अध्ययन गर्ने मनसायले नेपालमा आएका रेयनहर्डले कुसुण्डाहरूसँगको कुराकानीकै समय राउटेको बारेमा सुनेपछि राउटेहरूको विषयमा पनि विशेष चासो लिन थालेका थिए । राउटेहरूको विषयमा सुनेपछि राउटेहरूको बस्ति खोज्न २०२५ पुस ५ गते रेयनहर्ड काठमाडौबाट सुर्खेत लागेका थिए । त्यसपछि पनि राउटेहरूलाई खोज्न करिव तीन हप्ता लागेको थियो । अन्ततः २०२५ पुस २७ गते उनले बस्ती सर्दै गरेका लामबद्ध राउटेहरूलाई टाढाबाट देखे । त्यस पछि उनीहरूको नजिक जाने खोजे । राउटेहरू अन्य मानिसहरूको नजिक जान खोज्दैनन् तथा नजिक आएको रुचाउँदैनन् । त्यसमा झन् एक विदेशीको लागि अझ गाह्रो थियो उनीहरूको बारेमा बुझ्न । उनीहरूको मुख्य बसोबास क्षेत्र कर्णाली भेरी र बबइ नदीवरपर सुर्खेत, दैलेख र सल्यान जिल्ला नै थियो । २०२२ को पुस देखि २०२९ को पुससम्मको अध्ययनमा उनीहरूको बसाइस्थल यही सेरोफेरो नै थियो ।

यी प्रजातिलाई जंगलको राजाको रूपमा धेरै अगाडिदेखि वनरावत, जंगली तथा वनमानुस भन्ने गरिन्थ्यो । राउटेहरूको बारेमा जेना फोर्टियरले ‘Kings of the Forest’ लेखेका छन् भने ओम गुरुङले Route of Nepal लेखेका छन् । त्यस्तै गणेश ओलीले The RautesM The Endangered Jungle Tribe of Nepal लेखेका छन् । त्यस्तै रेयनहर्डको Raute Nepal : Camp Scenes and Bartering को साथै अन्य पुस्तकहरू पनि भेटिन्छ । साथै बिबिसी टेलिभिजनले Living with Nomads शीर्षकको श्रृंखलामा केथ हम्बलले नेपालका राउटेहरूको साथ बिताएको डकुमेन्ट्री नै बनाएको थियो ।

समयअनुसार राउटेहरूको जीवनशैलीमा पनि फरक आएको छ । पहिले पहिले छाप्रो बनाउँदा रुखका हाँगा पातपतिङ्गरले छाउँथे । अहिले भने पालमा निर्भर हुन थालेका छन् । बलियो पालको लागि सरकारलाई गुहार्छन् । बस्ति नजिकै बस्न थालेपछि बियरको स्वादमा रम्न थालेका छन् । खाजाको रुपमा चाउचाउको प्रयोग बढ्दै गएको छ । केहीले मोबाइल पनि चलाउन थालेका छन् ।

राउटेहरूको इतिहास

राउटेहरूसँग आफ्नो कुनै इतिहास छैन । घुमन्ते र देवताको सन्तान भन्ने गरिए पनि राउटेहरूको उद्गम स्थल फुकोट भन्ने गरिन्छ । उनिहरूकै कथनअनुसार फुकोटमा बस्ने बिष्णु ठकुरीका सात भाइ छोरा मध्य माहिलो छोराले पारिवारिक सजाय बापत गाउँबाट निष्कासित भएर जंगल बस्नु परेको भन्ने कथन छ । कति सय वर्ष अगाडिको कुरा हो भन्ने कुनै यकिन तथ्य छैन । अहिलेका राउटे तिनै माहिलोका सन्तान हुन भनिन्छ । राउटेहरूको जनसंख्या ७०० जति भए पनि अहिले वास्तविक राउटेहरूको संख्या मुस्किलले १५० जति मात्र छ । बाँकी अन्य राउटे समाजमा घुलमिल भइसकेका छन् । राउटेहरूमा आफ्नो संख्या गन्नु हुदैन भनेर यकिन संख्या भन्ने गर्दैनन् ।

मुख्य गरेर राउटेहरू तीन गोत्रका छन् कल्याल गोत्र, रास्कोटी गोत्र र सूर्यवंशी समाल गोत्र । यी तीन गोत्रबीच विवाह चलाउँछन् । आफ्नै गोत्रमा विवाह गर्न नहुने हुँदा कल्यालहरू रास्कोटीसँग र समालहरू कल्यालसँग बिहे गर्दछन् । कल्यालहरूको संख्या सबैभन्दा अधिक र रास्कोटी तथा समालहरूको संख्या न्यून हुँदा विवाहको उमेर पुगे तापनि बिहे हुन नपाएका कल्याल युवायुवतीहरूको संख्या बढ्दै गएको छ ।

राउटेहरूमा समुहगत महामुखिया र गोत्रअनुरुप तीन मुखिया हुने गर्दछ । निकै लामो समय देखि राउटेहरूको महामुखिया मइनबहादुर कल्याल (शाही) छन् भने अन्यमा कल्याल मुखिया वीरबहादुर शाही, रास्कोटी मुखिया सूर्यनारायण शाही तथा समाल मुखिया डीलबहादुर शाही हुन् ।

२०७५ असार ३० गतेदेखि गुराँस गाउँपालिकाले परिचयपत्र प्रदान गरेको थियो । जसअनुसार उनीहरूलाई नागरिकता पनि दिने प्रयासहरू भइरहेको छ । केही समय देखी सुर्खेतको दमारमा बस्दै आएका राउटेहरू हालै सल्यान जिल्लाको काल्चे डाँडामा बसाइँ सरेका छन् । अहिले यिनीहरू ४६ घरधुरीका १४३ जना भएको जनाइएको छ । राउटेहरू मुख्यतया कुनै पनि ठाउँमा बस्दै गर्दा कुनै सदस्यको मृत्यु भयो भने बसाइँ सर्ने गर्दछन् । शवलाई आफू बस्दै आएको ठाउँमा नै गाड्दछन् र सो ठाउँ छोडेर नयाँ ठाउँको खोजीमा निस्कन्छन् । पछिल्लो पटक सुर्खेतको बसाइमा राउटे बस्तीमा आएर यूट्यूव तथा टिकटक बनाउनेले दुःख दिन थालेपछि पनि सर्न बाध्य भएका थिए । तर मुखियाले भने सुर्खेतमा बढि गर्मी भएको हुँदा बसाइँ सर्नुपरेको जानकारी दिएका थिए ।