परराष्ट्रमन्त्रीद्वारा इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसदलाई जानकारी

परराष्ट्रमन्त्रीद्वारा इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसदलाई जानकारी

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ, परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराउनुभएको छ ।

नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराउनुभएको हो ।

“नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौंको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ”, परराष्ट्रमन्त्री साउदले भन्नुभयो ।

उहाँका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँको भनाइ छ । इजराइलमा हाल करिब चार हजार पाँच सय नेपाली ‘केयर गिभर’को रुपमा कार्यरत छन् । त्यस्तै, दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिनुभयो ।

इजराइलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको पनि उहाँले संसद्मा बताउनुभयो ।