एउटा प्रश्न

एउटा प्रश्न


✍ ई. नरोत्तम श्रेष्ठ

के सोच्दो हो त्यो बालक
ताते गर्दागर्दै चुँडिएको
आमाको रगतपच्छे हात
मुखमा लतपताउँदै
क्रन्दन चिच्याइरहँदा… ?
उनलाई रत्तिभर थाहा छैन
बिलौना पोख्ने ठाउँ
मान्छे हो कि अल्लाह ?
यहोवा हो कि येशु ?
थाहा छैन उनलाई किन रोइरहेको छ उ
भोकले, शोकले, दुःखले, पीडाले, कुटाइले, संवेदनाले ?
कुन आँशु झरिरहेको छ
पानीको, नुनको, खुनको ?
थाहा छैन उनलाई कस्तो देखिन्छ जून आकाशमा ?
कसले झारिरहेछ गोला र बारुद
जूनले कि ताराले ?

०००

तर यतिबेला म
सात समुद्रपार
फगत एउटा निर्जीव समवेदना
जसको आवाज
हावाको झोकासँग बग्नसम्म सक्दैन
जसको दृष्टि
सूर्यको किरणसँग जुध्नसम्म सक्दैन

०००

सोचिरहेको छु-
यतिबेला त्यो बालक
मृत्युसँग सङ्घर्षरत छ कि पराजित ?

(इजरायल युद्धमा अनाथ भएका बालबालिकाहरूको सम्झनामा)
(कवि ‘हाम्रो मातृभूमिका लागि नेपाली’का केन्द्रीय परिषद् सदस्य एवम् उपाध्यक्ष हुन् ।)