इजरायलमा रहेका ११९ विद्यार्थी स्थानान्तरणको प्रयास जारी छ : कृषि विश्वविद्यालय

इजरायलमा रहेका ११९ विद्यार्थी स्थानान्तरणको प्रयास जारी छ : कृषि विश्वविद्यालय

घ.वि. सम्वाददाता
0
Shares

चितवन, इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरु सकुसल रहेकोले स्थानान्तरणको प्रयास भइरहेको चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुसल रहेको विश्वविद्यालयकी रजिष्ट्रार प्राध्यापक डा.शारदा थपलियाले जानकारी दिनुभएको हो । उहाँले इजरायलमा भएको अतंककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुसल रहेको जनाउनुभएको हो । उहाँले विभिन्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

हालसम्म विश्वद्यिालयलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरु इजरायलमा सकुसल रहेको जानकारी मिलेको जानकारी दिईएको छ । यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल स्थित इजरायलको राजदूतावास एवम् इजरायल स्थित नेपाली राजदूताबासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको विज्ञप्तिमा उल्लेख छ ।

यस दुखद अवस्थामा विश्वविद्यालय विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहिराखेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजिम सुरक्षाका उपायहरु अपनाउन र सजक रहन अनुरोध गरिरहेका विज्ञप्तीमा जनाईएको छ।