आमाहरूको इतिहास : छोरीले जन्माएका आमाहरू

आमाहरूको इतिहास : छोरीले जन्माएका आमाहरू


हरेक मानिसको जीवनमा आफ्नै कथा हुन्छ । कति कथाहरू मानिसले देख्ने हुन्छन् कति अदृष्य । कतिपय कथाहरू बाचन गरिन्छन् कतिपय कथाहरू मनमै रहन्छन्, सुनाइदैनन् । आमाहरू आफैमा इतिहास हुन, सन्तानका पहिलो स्मृति नै आमाहरू हुन् । नेपाली समाजमा बाबुआमाको नाम राख्ने वंशका रूपमा प्रायः छोराहरूलाई लिइन्छ । वंश परम्परा, कुल खान्दान धान्ने, मृत्यु संस्कारलगायतका काममा छोराहरूकै परिकल्पना गरिन्छ । यस्तो परिकल्पना र परम्परागत सोचलाई पन्छाउँदै छोरीहरूको कलमबाट आमाहरूको जीवन गाथा कोरिएको कृति हो- ‘छोरीले जन्माएका आमाहरू’ ।

बड्की मास्टर्नी आमा, आमा : आँसु, हाँसो र स्पर्श, मेरी आमा : छोटो जीवन लामो सम्झना, मेरो आदर्श : मेरी आमा, चुनौतीहरू माझ आमा खोज्दै, फेरि कहाँ पाउँ ति आमालाई, आह ! कुन शून्यमा हराउनुभयो आमा ?, अनाम आमाकी अठ्ठाइस्नी छोरी, आमाले बाँचेको संघर्षपूर्ण जीवन, सात वर्षमै बुहारी बनेकी आमा, दृढता र वात्सल्यकी प्रतिमूर्ति मम्मी, कार्यबोझ र विभेदमा खारिएकी मेरी आमा शीर्षकमा आमाका सम्झनाहरू रहेका छन् । जसलाई क्रमशः इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, कल्पना तामाङ, डा. कविता घिमिरे, जानु ओझा, तनुजा पोख्रेल, निर्मला राई, मञ्जु थापा, मीरा बस्नेत, डा. मोनिका आचार्य र सञ्जिता बराइलीले लेख्नुभएको छ ।

पत्रकार मञ्जु थापाको परिकल्पना तथा संयोजन र पत्रकार जयदेव गौतमको सम्पादनमा प्रकाशित ‘छोरीले जन्माएका आमाहरू’मा बाह्र जना आमाहरूको संघर्षको कथा लेखिएको छ । अक्षर क्रियसनद्वारा प्रकाशित पुस्तकको प्रकाशकीयमा डा. अर्चना थापाले लेख्नुभएको छ- ‘नेपाली साहित्यमा आमाको स्तुतीगान र प्रशस्तीमा थुप्रै कथा, कविता, जीवनी, नाटक र उपन्यास लेखिएका छन् । तर आमा शब्दको अर्थबाट निर्माण भएका सामाजिक, सांस्कृतिक र राजनीतिक अपेक्षा एवं आकांक्षाहरूबारे सूक्ष्म रुपले विश्लेषण गरिएको छैन । राज्य, समूदाय एवं परिवारको आमामाथि हुने निर्भरता र तिनैले आमामाथि गर्ने नियन्त्रणबारे पनि लेखिएको छैन ।’

यसैगरी पुस्तककी परिकल्पनाकार तथा संयोजक मञ्जु थापाले लेख्नुभएको छ- ‘पुस्तकको परिकल्पना पूर्ण भएपछि नेपालबाट अमेरिका आइ बसोबास गरेका विविध समूदाय र क्षेत्रलाई प्रतिनिधित्व गर्ने लेखकहरूलाई समेट्न पाए हुन्थ्यो भन्ने सोच थियो । त्यसैअनुरुप हामीले विभिन्न जाति, क्षेत्र, उमेर समूह, लैंगिक झुकाव र पेसा आदिका महिलाहरूलाई आफ्नी आमाको जीवनी लेख्नका लागि प्रस्ताव गरेका थियौँ ।’ कतिपयले आफ्नी आमाका कुरा समाजमा किन देखाउनु ? भनेको कुरापनि सम्पादकले उल्लेख गर्नुभएको छ । विभिन्न पृष्ठभूमिका ब्यक्तिहरूबाट कुनैपनि विषयमा लेख्न लगाउनु त्यति सहज पनि हुँदैन ।

आमाहरूका कथा पढ्दा लाग्छ, हरेक महिलाका दुःख, सुख र खुशी करिव-करिव उस्तै-उस्तै हुन्छन् । आफ्ना सन्तानप्रतिको कर्तब्य, परिवारको खुशीलगायतका कुरामा अल्झिँदाअल्झिँदै जीवन समाप्तितिर गएको पत्तै हुँदैन । अमेरिकामा बसेर छोरीहरूले कथा लेख्दै गर्दा आमाहरूले गाउँमा भोगेका दु:खसुखहरू प्रमुख रूपमा समेटिएका छन् । हामी सबैले आमाका कथा लेख्न सकेका छैनौँ, आमाका कथा जनसमक्ष ल्याउनु भनेको आमाको इतिहास ल्याउनु हो । धेरै आमाहरूका इतिहास छायामा पर्ने गरेका छन्, परिरहेका छन् । समग्र आमाका प्रतिनिध पात्रका रूपमा यो पुस्तकमा समेटिएका कथाहरूलाई हेर्ने हो भने आमाहरूको संसार भनेको दुःख, संघर्ष र प्रेरणाको संसार हो । यस्ता कथाहरू श्रंखलावद्ध रूपमा आउन आवश्यक छ ।

✍ बबिता बस्नेत