नगर अस्पताल निर्माणको समयावधि सकिँदा प्रगति ३५ प्रतिशत मात्र

नगर अस्पताल निर्माणको समयावधि सकिँदा प्रगति ३५ प्रतिशत मात्र

घ.वि. सम्वाददाता
0
Shares

चितवन, राप्ती नगरपालिकाद्धारा निर्माणाधिन भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। वि सं २०७८ असार २२ गते दुई वर्षमै निर्माण गर्ने सम्झौता भई सुरु भएको सो अस्पताल ठेक्का सम्झौताको समय सकिँदा पनि काममा भने प्रगति नभएको हो ।

नगरपालिकाका प्रमुख शमशेर लामाले यस अस्पताल निर्माणका लागि नगरपालिकासँग जोडिएको बुद्धअत्रेय बस्नेत जेभी काठमाडौँले रु १० करोड ४२ लाख ४३ हजार चार सय ९० मा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मत्स्य विकास केन्द्रको नाममा रहेको एक बिघा दस कठ्ठा जग्गामा नगर अस्पताल निर्माण गर्न सुरु गरिएको थियो।

प्रादेशिक मन्त्रिपरिषद् बैठकबाट निर्णय भई नगरपालिकालाई भोगचलनका लागि दिइएको सो जग्गामा तीन तले अस्पताल निर्माण गर्न लागिएको थियोे । अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कमा नआएका कारण अस्पताल निर्माणकै क्रममा अलपत्र परेको उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख लामाले अस्पताल निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गर्दा विभिन्न बाहना देखाउने गरेको र पछिल्लो समयमा मात्र सम्पर्कमा आएको बताउनुभयो । उहाँले ठेक्का सम्झौताको समय सकिए पनि पुनः समय थप गरी निर्माण सम्पन गर्न नगरपालिका लागिपरेको जानकारी दिनुभयो ।