शक्तिकेन्द्रको स्वभाव !

शक्तिकेन्द्रको स्वभाव !


सत्तामा रहेका मानिस हरेकलाई उपयोगिताका आधारमा हेर्छन र, सोही अनुरूप ‘पर्सेप्सन’ बनाउँछन् । सत्तासम्म पुग्न विगतमा ककसले सहयोग पुऱ्याए, त्यो उनीहरूका निम्ति गौण विषय बन्न जान्छ, सत्तामा रहिरहन को-को उपयोगी हुनसक्छन् भन्ने आधारमा मानिसको महत्व निर्धारण गरिन्छ । सत्तामा पुग्नुअघि कस्तो विचार दर्शन र सिद्धान्तबाट प्रेरित या निर्देशित थिएँ भन्ने हेक्का सत्तामा पुगेपछि रहन्न । सत्ता नै आदर्श, दर्शन, सिद्धान्त, नीति, मूल्य-मान्यता बन्न थाल्छ ।
✍ देवप्रकाश त्रिपाठी

शास्त्रीय मान्यताअनुसार मानिसको शक्तिका श्रोत तीन प्रकारका हुन्छन, पहिलो ज्ञानशक्ति, दोस्रो धनशक्ति र तेस्रो राज्य (जन)शक्ति । ज्ञानशक्ति अध्ययन, चिन्तन र अनुभवबाट प्राप्त हुन्छ, धनशक्ति कर्म, बुद्धि र भाग्यका कारण मिल्नसक्छ भने जनशक्ति राजनीति, समाजसेवा र धर्मका कारण प्राप्त हुनसक्छ । उल्लिखित तीनवटै शक्ति एकै ब्यक्तिलाई प्राप्त हुन मुस्किल पर्छ, तथापि वर्तमान संसारका अधिकाङ्श मानिस उल्लिखित तीनवटै शक्ति आफूमा निहित गर्ने प्रतिष्पर्धामा छन्, हुन्छन् । तीन प्रकारका सत्ताका आफ्नै किसिमका मौलिक सुन्दरता हुन्छन् र, पछिल्लो समयमा अधिकाङ्श मानिसले तीनवटै सत्ताको मालिक बन्न चाहेको देखिन्छ । धन सङ्ग्रह गरेर धनीको परिचय बनाएपछि कवि, कलाकार, पत्रकार या लेखकको पहिचानसमेत बनाएर नामी बन्न चाहने, धनी र नामी बनिसकेपछि अझै शक्तिशाली बन्नका निम्ति राजनीतिक भूमिकामा सामेल हुन खोज्ने प्रवृत्ति खासगरी विपन्न तथा विकासोन्मुख मुलुकहरूमा ब्याप्त देखिन्छ ।

ज्ञानशक्ति, धनशक्ति र राज्यशक्तिमध्ये जुनकुनैले मानिसलाई अहङ्कारी तुल्याइदिन्छ । शक्ति जुनसुकै विधा अर्थात् श्रोतबाट प्राप्त भएको होस्, त्यसको एउटै गुण चरित्र हुन्छ- ‘आफूलाई सर्वमान्य एवम् सर्वस्वीकार्य तुल्याउन चाहनु’ ! विद्वान् मानिस आफैलाई सर्वज्ञ ठान्दछन् र, उनीहरू आफ्नो कुराको खण्डन नहोस् भन्ने इच्छा राख्छन् । धनी मानिसमा पनि सबैले आफूलाई अधिक महत्व दिएको अनुभूति गर्ने प्रवृत्ति हुन्छ, उनीहरू धनका माध्यमबाट जे पनि गर्न सकिन्छ भन्ने विश्वास (कि भ्रम)मा हुन्छन् । राज्यशक्ति प्राप्त ब्यक्तिमा अहङ्कारको सीमा हुन्न । उनीहरूमा सबै विधाका मानिसभन्दा आफू अब्बल भएकोले उच्च पदीय जिम्मेवारी प्राप्त भएको ठान्ने प्रवृत्ति हुनेगर्छ । उनीहरू ‘जान्ने भन्दा मान्ने मानिस’लाई मनपराउँछन् ।

कतिपय मानिस सत्तामा रहेका मानिसलाई भेट्ने वित्तिकै सुझाव दिने र, सुझाव दिने सामर्थ्य देखिएपछि तिनका दृष्टिमा प्रिय या निकट भइन्छ भन्ने सोच राख्छन् । वास्तवमा सत्तामा रहेका मानिस सुझाव दिने क्षमताका भन्दा सेवक अर्थात सहयोगी बन्ने क्षमताका मानिसलाई योग्य ठान्दछन् । उनीहरू सधैं सुझावकर्ताको नभएर सेवकको प्यासी हुन्छन् । ज्ञान, बुद्धि, कला, योग्यता र क्षमतामा अब्बल भएकैले आफूलाई उच्च जिम्मेवारी मिलेको भ्रममा उनीहरू हुन्छन् । पृथ्वीका सबै अन्यकाप्रति तिनको धारणा सामान्यतः सहानुभूतिमा आधारित हुनेगर्छ । आफूलाई कर्ता र अन्यलाई कारिन्दा ठान्ने उनीहरू आफू दानी र अरुहरू ग्रहणकर्ता, आफू कृपावान र अन्य कृपापात्र भएको आत्मानुभूतिबाट वशीभूत हुन्छन् । सत्ताको शक्तिप्राप्त मानिसमा विवेक र नयनद्वार क्रमशः बन्द हुँदै जान्छ र, केवल श्रवणद्वार (कान) मात्र सक्रिय रहने गर्छ । आफ्ना हरेक क्रियाकलापलाई प्रशंसा गर्ने र आफूले दिएका अभिव्यक्तिलाई खस्न नपाउँदै सही थाप्ने चर-अनुचरहरू वरिपरि राखेर तिनकै ‘वाणीउकास’मा निर्णय लिँदै जाँदा उनीहरूमा एकप्रकारको संस्कार नै विकाश भइसकेको हुन्छ । सबै मानिस र सम्पूर्ण उपभोग्य वस्तु आफ्नो प्रयोजनको निम्ति मात्र भएको ठान्ने सोच नै कालान्तरमा तिनको संस्कार बन्न जान्छ । आफूप्रति आलोचनात्मक दृष्टि राख्ने हरेकलाई बैरी ठान्ने उनीहरू भजन मण्डलीका सुझाव, प्रशंसा र इच्छाको बसमा रमाउन थाल्छन् । अन्य साधारण मानिसको तुलनामा कान मात्र सक्रिय रहेका मानिसबाट ज्यादा गल्ती हुने गर्छ र, सत्ताको केन्द्रमा रहेका मानिस इन्द्रीयहरू मध्ये केवल कानमै भर परिरहेका हुन्छन् । आलोचना सुन्ने र, सुनेर आत्मसात गर्ने क्षमता उनीहरूले गुमाइसकेका हुन्छन् । मनपर्ने कुराहरू मात्र सुन्न चाहने भएपछि समीप रहेका हरेकले तिनलाई मनपर्ने कुराहरू मात्र सुनाइरहेका हुन्छन् । त्यसैले गलत निर्णय हुँदै जाने, गल्तीहरूको चाङ लागेपछि शासक भूमिकाका मानिस अलोकप्रिय बन्ने र, त्यसले विद्रोहको आधारभूमि तयार गर्ने अवस्था बनाइरहेको हुन्छ ।

राजा ज्ञानेन्द्रदेखि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, बाबुराम, झलनाथ र माधवकुमार नेपालसम्मलाई निकटबाट हेर्दा सबैमा एउटा समानता रहेको महसूस गरिएको तथ्य यहाँ प्रस्तुत गर्नु उपयुक्त हुनसक्छ । उहाँहरू सबैमा फेलापरेको समान गुणतत्व यस्ता छन्- ‘म नै सबैभन्दा शक्तिशाली हुँ, म बराबरी बुद्धिमान तथा बलवान कम्तिमा देशभित्र अर्को कोही छैन, म जे पनि गर्ने सामर्थ्य राख्छु, मैले जे गरेको हुन्छु त्यो ठीक मात्र हुने भएकोले सबैले मेरो निर्णयलाई समर्थन गर्नुपर्दछ । योग्यहरूमा सर्वोत्कृष्ट हुँ, बलवानहरूमा म सबैभन्दा बलशाली हुँ, मलाई हरेकले समर्थन र सहयोग गर्नु पर्दछ, जो समर्थन र सहयोग गर्दैनन् ती बैरी हुन् ।’ शासनको केन्द्रबिन्दुमा रहेका बेला हरेकमा यस्तै मनोग्रन्थी सक्रिय रहेको भेटिन्छ ।

सत्तामा रहेका मानिस हरेकलाई उपयोगिताका आधारमा हेर्छन र, सोही अनुरूप ‘पर्सेप्सन’ बनाउँछन् । सत्तासम्म पुग्न विगतमा ककसले सहयोग पु¥याए, त्यो उनीहरूका निम्ति गौण विषय बन्न जान्छ, सत्तामा रहिरहन को-को उपयोगी हुनसक्छन् भन्ने आधारमा मानिसको महत्व निर्धारण गरिन्छ । सत्तामा पुग्नुअघि कस्तो विचार दर्शन र सिद्धान्तबाट प्रेरित या निर्देशित थिएँ भन्ने हेक्का सत्तामा पुगेपछि रहन्न । सत्ता नै आदर्श, दर्शन, सिद्धान्त, नीति, मूल्य-मान्यता बन्न थाल्छ । त्यसमा पनि विपन्न मुलुकमा सत्ता नै आय आर्जनको सबैभन्दा सजिलो र व्यापक श्रोत बन्ने, शान र मानको एकमात्र कारण पनि सत्ता नै हुने भएकोले राजनीति एउटा आकर्षक ब्यवशाय बनिरहेको हुन्छ

न्याय र अवसर पाउन पनि सत्ताकै छेउछाउमा बस्नुपर्ने बाध्यात्मक स्थितिले गर्दा राज्यशक्ति प्राप्त ब्यक्तिका वरिपरि एकथरी मानिस झुम्मिइरहेका हुन्छन् । ओशो रजनीशले भन्नुभए जस्तो खासमा राजनीतिकर्मीहरू रित्ता हुन्छन्, पदीय शक्तिबिना उनीहरू आफूलाई केही नभएको ठान्दछन् र, पद पाएपछि आफ्नो हैसियत देखाइदिने चाहना उनीहरूको हुन्छ । पद पाएपछि सबै काम त्यही पदले गरिरहेको हुन्छ, तर उनीहरू पदलाई नै आफू ठान्ने भ्रमबाट गुज्रिएका हुन्छन् । वास्तवमा पदबिना हरेक राजनीतिकर्मी रित्ता हुन्छन् र, उनीहरू आफैले पनि रित्तो बोध गरिरहेका हुन्छन् ।

यो लेखक आफै सत्ताको केन्द्रभूमिमा नपुगेपनि सत्तामा पुगेका धेरै मानिसलाई निकटबाट हेर्ने/बुझ्ने अवसर पाउनेहरू मध्ये पर्दछ । राजा ज्ञानेन्द्रदेखि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, बाबुराम, झलनाथ र माधवकुमार नेपालसम्मलाई निकटबाट हेर्दा सबैमा एउटा समानता रहेको महसूस गरिएको तथ्य यहाँ प्रस्तुत गर्नु उपयुक्त हुनसक्छ । उहाँहरू सबैमा फेलापरेको समान गुणतत्व यस्ता छन्- ‘म नै सबैभन्दा शक्तिशाली हुँ, म बराबरी बुद्धिमान तथा बलवान कम्तिमा देशभित्र अर्को कोही छैन, म जे पनि गर्ने सामर्थ्य राख्छु, मैले जे गरेको हुन्छु त्यो ठीक मात्र हुने भएकोले सबैले मेरो निर्णयलाई समर्थन गर्नुपर्दछ । योग्यहरूमा सर्वोत्कृष्ट हुँ, बलवानहरूमा म सबैभन्दा बलशाली हुँ, मलाई हरेकले समर्थन र सहयोग गर्नु पर्दछ, जो समर्थन र सहयोग गर्दैनन् ती बैरी हुन् ।’ शासनको केन्द्रबिन्दुमा रहेका बेला हरेकमा यस्तै मनोग्रन्थी सक्रिय रहेको भेटिन्छ । यस्ता मानिसलाई कसैले सुझाव दिन थाल्यो भने उसले मनमनै ‘बडो मलाई सिकाउँछ, जान्ने भएको भए त मेरो ठाउँमा तिमी नै हुने थियौ नि’ भन्ने सोच बनाएको हुन्छ । त्यसैले ज्ञानशक्ति, धनशक्ति र राज्यशक्ति प्राप्त ब्यक्तिलाई सिकाउने या सुझाउने कार्य गर्नु भनेको समयको बर्बादी मात्र हो । तिनले सिक्न खोज्दैनन्, बरू आफूप्रति नै गलत भाव बनाएर बसिरहेका हुन्छन् । राजा ज्ञानेन्द्रदेखि प्रचण्डसम्ममा भेटिने भनेको एउटै मनोदशा यही हो ।

राजा ज्ञानेन्द्र माओवादीलाई राष्ट्रवादी शक्ति ठान्नुहुन्थ्यो, त्यसताका संसद्मा रहेका दलहरू मुख्य बाधक तत्व भएको उहाँको ठम्याइ थियो । यो बुझाइ गलत भएको सैयौँ तथ्य प्रस्तुत गर्दा पनि माओवादीप्रतिको उहाँको दृष्टिकोण बदल्न नसकिएको अनुभव यो पङ्क्तिकारसँग छ । टेकओभर गरियो भने त्यसपछि उत्पन्न परिस्थितिले संवैधानिक राजतन्त्रमा सम्झौता हुने परिस्थितिको अन्त्य गर्छ र, अन्ततः गणतन्त्रसम्म पुग्छ भन्ने व्याख्या र विश्लेषणमा उहाँले गणतन्त्र घोषणा भएपछि मात्र सहमति जनाउनुभएको हो । २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बन्दा प्रचण्डमा थामिनसक्नु बेग र उत्तेजना थियो । त्यसबेला नेपाली सेनालाई नजिस्काउन र, असमयमै प्रधानसेनापति परिवर्तन नगर्न दिएको सुझावलाई प्रचण्डले अत्यन्तै नकारात्मक रूपमा बुझ्नुभएको थियो, सोही प्रकरणले आफूलाई जिम्मेवारीमूक्त गरिदिएपछि मात्र प्रचण्ड होसमा आउनुभएको थियो ।

कतिपय मानिस सत्तामा रहेका मानिसलाई भेट्ने वित्तिकै सुझाव दिने र, सुझाव दिने सामर्थ्य देखिएपछि तिनका दृष्टिमा प्रिय या निकट भइन्छ भन्ने सोच राख्छन् । वास्तवमा सत्तामा रहेका मानिस सुझाव दिने क्षमताका भन्दा सेवक अर्थात सहयोगी बन्ने क्षमताका मानिसलाई योग्य ठान्दछन् । उनीहरू सधैं सुझावकर्ताको नभएर सेवकको प्यासी हुन्छन् ।

२०५८ श्रावणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि उहाँले माओवादीसँग युद्धबिराम र सम्वाद गर्ने तयारी गरिरहनुभएको थियो । त्यसो गर्नु प्रजातन्त्र र राष्ट्रियताका दृष्टिले घातक हुन्छ, युद्धबिराम र सम्वाद पनि माओवादीका निम्ति शक्ति बिस्तार र सञ्चयको एउटा रणनीतिक कार्यनीति मात्र हो, युद्धबिरामको समय पारेर यिनले नयाँ नयाँ सेल्टरहरू बनाउने, चन्दा सङ्कलन गर्ने, सूचनाका श्रोतहरूको विकाश गर्ने, हातहतियार सङ्ग्रह गर्ने, पार्टीमा नयाँ सदस्यहरू थप्ने, छापामारलाई तालिम दिने लगायतका काम गर्छन् भन्ने दर्शाउँदा ‘मैले सबै बुझेको छु, सबै मिलाइसकेको छु, तपाईंलाई केही थाहा छैन’ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । युद्धबिराम गर्नुअगाडि प्रहरीले धोएर सुकाएको खाकीको पोसाक देख्दा पनि तर्सने माओवादीले चार महिनापछि युद्धबिराम भङ्ग गरेर जादा सेनाको ब्यारेकमै हमला गरेर जित्ने हैसियत बनाएका थिए । माओवादीसँग गिरिजाप्रसादले (असार २ गते २०६३) बाह्रबुँदे भन्दा खतरनाक आठबुँदे सम्झौता गरेपछि हामीले उहाँलाई ‘अब देशको राजनीति माओवादीको हातमा जाने निश्चित भयो, तपाईंलाई राष्ट्रपति पनि दिने छैनन् र उपयुक्त समयमा प्रधानमन्त्री पदबाट पनि मूक्त गरिदिनेछन्’ भन्दा गिरिजाप्रसादले पत्याउनुपर्ने ठानेनन् । परिणामले सही प्रमाणित गर्दा उहाँले आफूलाई सच्च्याउने मौका पनि पाउनुभएन । यस्ता अनेकौँ दृष्टान्त छन् जसले सत्ताको केन्द्रमा रहनेहरू आफूलाई जे लाग्छ त्यो नै उचित या उपयुक्त ठान्ने भ्रममा बाँचिरहेका हुन्छन् भन्ने दर्शाउँछ ।

राष्ट्रिय राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिमा पनि यस्तै हुन्छ । सामान्यतया मानिसभन्दा माथि कानून/संविधान रहन्छ, तर कानून र संविधान भन्दामाथि शक्ति हुन्छ र, कानून र संविधानलाई शक्तिले निर्देशन दिने गर्दछ । इराकमा सद्दाम हुसेनले रासायनिक हतियार बनाउने गरेको आरोप अमेरिकाले लगायो र, त्यही निहुँमा हमला गरेर सद्दाम हुसेनको प्राण पनि लिइदियो । तर पछि अमेरिका आफैले इराकमा रासायनिक हतियार नरहेको स्पष्ट गऱ्यो । त्यस्तो अक्षम्य गल्तीका निम्ति न अमेरिकाले क्षतिपूर्ति सहित माफी माग्यो, न संयुक्त राष्ट्र सङ्घ र संसारले उसलाई सचेत गराउने सामथ्र्य नै देखायो । आन्तरिक या बाह्य युद्धका क्रममा गैर सैनिक मारिँदा त्यसविरूद्ध कारबाहीका निम्ति सबैभन्दा चर्को आवाज उठाउने मुलुकले नागासाकी र हिरोशिमामा गरेको नरसंहारका निम्ति क्षमायाचनासम्म गर्न पनि कन्जुस्याइँ गरेको महसूस हामीले गरेका छौँ । यस्ता घटनाले कानून-नियमभन्दा माथि शक्ति भएको सन्देश दिइरहेको छ । साउदी अरेबियामा केही वर्षअघि एक युवतीलाई सार्वजनिक स्थलमा कोर्रा वर्षाउने सजाय दिइयो, उनको अपराध थियो- ‘महिला भएर पनि आफैले गाडी चलाउनु ।’ अमेरिकी सैन्यआधार भएको साउदी अरेबियामा भएको उक्त घटनाको भत्सर्ना गर्नुपर्ने आवश्यकता अमेरिका जस्तो विश्वकै उदाहरणीय प्रजातान्त्रिक एवम् मानवाधिकारवादी मुलुकले महसूस गरेन, यसलाई पनि शक्तिकै खेल भनेर बुझ्नुपर्ने हुन्छ । राष्ट्रिय होस या अन्तर्राष्ट्रिय, शक्तिकेन्द्रले योग्य भन्दा अनुचर (यसम्यान)लाई नै महत्व दिने गर्दछ । अर्थात् शक्तिकेन्द्रले ‘यसम्यानशिप’लाई नै योग्यताको पहिलो आधार मान्ने गर्दछ । शक्तिको यही नियम बुझ्न नसक्नेहरू अलमलमा पर्ने गर्दछन्, जय मातृभूमि !