शेखरलाई तह लगाउन देउवाले शशाङ्कलाई बोक्ने !

शेखरलाई तह लगाउन देउवाले शशाङ्कलाई बोक्ने !


डा. शेखर कोइरालाले गगन थापाहरूसँग मिलेर आफ्ना विरूद्ध गतिविधि गर्न थालेपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले नयाँ रणनीति बनाउनुभएको जानकारी प्राप्त भएको छ । देउवा यसअघि उपयुक्त समयमा शेखरलाई कार्यबाहक सभापति दिएर एकताको वातावरण बनाउने मानसिकतामा रहनुभएको उहाँका निकटवर्तीहरूको भनाइ थियो । तर अब देउवा शेखरलाई महत्व दिने स्थितिमा नरहेको बताइन्छ । देउवाले डा. शशांक कोइरालालाई आफ्नो उत्तराधिकारी बनाउनसक्ने सम्भावना बढेको छ ।

सम्बद्ध श्रोतका अनुसार डा. शशांकलाई काङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनबाट सभापति बनाउने पक्षमा देउवा हुनुहुन्छ । कुनै कारणवश आवश्यकता परेमा महाधिवेशनअगाडि नै शशांकलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने मानसिकता पनि देउवाले बनाउनुभएको बताइन्छ ।

शशांक कोइरालालाई पार्टी नेतृत्व हस्तान्तरण गरिँदा आफ्नो पक्षका साथीहरू सूरक्षित रहने, आरजु राणा र जयवीर सिंह देउवाको भविष्य सुनिश्चित गर्न सकिने, गगनहरूको टोली तह लाग्ने, शेखरलाई अप्ठ्यारोमा पार्न सकिने र मित्रराष्ट्र भारतको सद्भाव कायम राख्न पनि सजिलो हुने भएकोले देउवा शशांकलाई बोक्न तयार हुनुभएको बुझिएको छ ।