बिरामीको अस्वीकारोक्ति मानसिक रोग उपचारमा मुख्य बाधक’

बिरामीको अस्वीकारोक्ति मानसिक रोग उपचारमा मुख्य बाधक’

घ.वि. सम्वाददाता
0
Shares

बिरामीद्धारा आफूलाई लागेको रोग स्वीकार गर्न नसक्नु नै मानसिक रोगको उपचारमा सबैभन्दा ठूलो बाधक भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले विरामीलाई मनाएर उपचार सुरु गर्नु सबैभन्दा चुनौतीपूर्ण हुने गरेको अनुभव समेत गरेका छन् ।

बिरामीले कडा खालको मनोरोग भइसक्दा पनि ९० प्रतिशतभन्दा बढीले आफूलाई मानसिक रोग छ भन्ने स्वीकार नगर्ने र परिवारले आफुलाई जबरजस्ती गरेर अस्पतालमा पुऱ्याए भन्ठानेर औषधि खानै नमान्दिने गरेको समेत डाक्टरहरुले बताएका छन् ।

बिरामीले रोग अस्वीकार गरेपनि विस्तारै आफू बिरामी भएको स्वीकार गर्न डेढ महिना जति समय लाग्ने चिकित्सकहरुको अनुभव छ । त्यसलाई मेडिकल भाषामा ‘इनसाइड’ भनिन्छ । यसपछि मात्रै बिरामीको उपचार सुरु गरिने डाक्टरहरु बताउँछन् ।

नेपालको कुल जनसंख्याको ३३ प्रतिशतमा भिन्न भिन्न समयमा भिन्न किसिमको मानसिक समस्या हुने मनोचिकित्सा क्षेत्रमा संलग्नहरुको दावी छ । १५ प्रतिशत अर्थात् ४५ लाख नेपाली कुनै न कुनै किसिमबाट मानसिक समस्याबाट पीडित रहेको र तीमध्ये २ प्रतिशत हाराहारी अर्थात् ६ लाख नेपाली क्रोनिक (गम्भीर) मानसिक रोगी बिरामी रहेको बताइन्छ ।

नेपालमा मानसिक बिरामीको तुलनामा मानसिक रोगको उपचार गर्ने चिकित्सकको संख्या भने निकै न्यून संख्यामा रहेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका १ गैडाहामा ‘ब्युटिफुल माइण्ड इन्सटिच्युट अफ साइक्याट्री’ का संचालक मानसिक रोग विशेषज्ञ डाक्टर गिरिराज भन्तनाका अनुसार नेपालमा २५० जना मानसिक रोग विशेषज्ञ चिकित्सक र मनोपरामर्शदाता ३० जना मात्रै छन् । उहाँले म बिरामी हुँ भन्ने बोध गराएर म सक्षम छु भन्नेसम्म बनाउन राज्यकोसमेत भूमिका हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समयमा देखासिकी, वैदेशिक रोजगारीमा गएका युवाहरु, देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था, पारिवारिक कलह, व्यापार व्यवसायमा संकट तथा वंशाणुगत कारणले पनि मानसिक समस्या भएका बिरामीहरुको संख्या बढेको उनले जानकारी दिए ।

आवासीय उपचारसँगै सिपमुलक तालिम

अस्पतालको नियमित फलोअपका साथै मानसिक समस्या देखिएका र गम्भीर खालका बिरामीहरुलाई पारिवारिक वातावरणमा भर्ना गरेर मनोसामाजिक परामर्श पनि दिनुपर्ने हुन्छ । सकारात्मक सोचको विकास गराउनुका साथै आत्मनिर्भर बनाउने उद्देश्यले भन्तनाले स्थापना गर्नुभएको पूर्वी चितवनकोृ ‘ब्युटिफुल माइण्ड इन्सटिच्युट अफ साइक्याट्री’ले भर्ना भएका विरामीहरुलाई औषधि, परामर्श र सिपमुलक तालिम पनि दिने गरेको छ ।

‘सीपमुलक तालिम र रोजगारी नभएमा मानसिक समस्या झन् बढ्नसक्ने भएकाले उपचारपछि पनि पुनर्स्थापना गर्न सहज होस भनेर बिरामीलाई सिन्ट्रोमेटिक उपचारबाट सुरु गरेर जीवन जिउने बलियो आधारसम्म तयार गर्ने गरेको भन्तनाको भनाई छ ।भन्तनाले भरतपुर अस्पतालमा समेत मानसिक बिरामीको उपचारमा लामो अनुभव संगालिसकेका छन् ।

केन्द्रबाट उपचार सेवा लिएकामध्ये हालसम्म ४५ जनाले विभिन्न सिपमूलक तालिम लिएको, ४० जनाभन्दा बढी आ आफ्नो पेशा व्यवसायमा फर्किएको र अहिले उपचारको क्रममा नै रहेका १० जनालाई रोजगारीसमेत दिइएको उनले बताए ।

डा. भन्तनाले विरामीमा जीवनमा मैले केही गर्न सकिनँ, अब कसरी समाजमा पुनर्स्थापना हुने भन्ने मानसिक रुपमा ग्लानि हुने भएकाले आफुहरुले उनीहरुलाई आँट आत्मविश्वास प्रदान गर्न उपचारसँगै सिपमूलक तालिम पनि दिएर पठाउने गरेका छन् ।

आवासीय रुपमा बसेका बिरामीहरुलाई मनोसामाजिक परामर्शमार्फत उनीहरुको रोगको चरण पत्ता लगाएर उपचार गर्ने गरिन्छ । खानपान, शारीरिक अभ्यास, योग ध्यान, प्राणायाम, मनोरञ्जन, औषधि आदिका माध्यमबाट उपचार गर्ने गरिन्छ । मानसिक रोगका लागि थेरापीसमेत महत्वपूर्ण भूमिका हुने भन्दै डा. भन्तनाले आरटिएमएस, टीडीसीएस, बायोफिड ब्याक, सेक्स थेरापी, इलेक्ट्रो सिलिप, पोली सोमनोग्राफी र इसीटीका माध्यमबाट उपचार गरिने बताए ।

पर्सा बजारमा अलग्गै ओपीडी सञ्चालन गरेर बिरामीको अवस्था हेरेर आवासीय रूपमा राख्नुपर्ने र नपर्ने छुट्टाउने गरिन्छ । केन्द्रमा आउने बिरामीलाई रोगको प्रकृति र अवस्था हेरेर डेढ महिना, ३ महिना र ६ महिनाको प्याकेज बनाएर राख्ने गरिएको प्रा.डा. शैलेन्द्रराज अधिकारी बताउँछन् ।

केन्द्रमा आवासीय बिरामीलाई महिनाको ५६ हजार सेवा शुल्क र १२ हजार रुपैयाँ खाना खाजाको लागि भनेर रकम लिने गरिन्छ । बिरामीको आर्थिक अवस्था हेरेर कसैलाई निःशुल्क उपचारसमेत गर्ने गरिएको डा. भन्तनाले बताए ।

मानसिक रोगको उपचार सम्भव छ भन्ने कुरा जनमानसमा लैजान सक्नुपर्नेमा मानसिक स्वास्थ्य जागरण अभियानका अभियन्ता शेषनाथ अधिकारीले जोड दिए । आफू पनि अनिद्राको समस्याबाट प्रभावित भएर उपचारपछि अहिले निको भएको अनुभव सुनाउँदै उनले समयमा नै मानसिक रोगको उपचार गरेमा आत्महत्यालाई न्यूनीकरण गर्न सकिने जानकारी दिए ।