राष्ट्रपति रामचन्द्रज्यूलाई खुल्लापत्र !

राष्ट्रपति रामचन्द्रज्यूलाई खुल्लापत्र !


यस्तो चैतन्य चोलामा समेत आफैं अपराध गर्ने र अपराधीलाई जोगाउनेबाहेक अरु कुनै कर्म गर्न नसक्नु भएकोमा तपाईंको सिङ्गो जिन्दगी र तपाईंले प्राप्त गर्नुभएको पदमाथि धिक्कार छ नभनीरहन सकिएन ! इतिहासकै कलंकित राष्ट्रपति हुनुहुनेछ भन्ने भविष्यवाणी गलत सावित होस् भन्ने पंक्तिकारको अभिलाषा पूरा भएन ।
✍ राजेन्द्रप्रसाद पाठक

महामहिम राष्ट्रपतिजी तपाईंलाई तीन करोड जनताको तर्फबाट कुनैपनि अभिवादन छैन । तपाईं जनताको राष्ट्रपति समेत बन्न सक्नुभएन । तपाईंको आगत अझै सुन्यउन्मुख प्रतीत हुँदैछ, तर तपाईंको विगत भने निकै आशावादी थियो । किनकि, तपाईं तनहुँको विकट गाउँमा अत्यन्तै दयनिय परिवारमा जन्मेर यत्तिको पद प्रतिष्ठा हासिल गर्न समर्थ हुनुभयो । गाउँभरिको निबुवा कागति ज्यामिरको अमिलो संकलन गरेर असनसम्म ल्याएर केही मुनाफा कमाउनुहुन्थ्यो । त्यसैले त असनका ब्यापारी र उपभोक्ताले तपाईंलाई अमिलोबाजे भनेर चिन्थे ।

त्यसै सिलसिलामा तपाईंको बुद्धि फिरेर संस्कृत पाठशाला भर्ती हुनुभो र त्यहीँ दाल-चामल नुन बेसार मिसाएको सिदा खाएर पढ्न थाल्नुभो । तीन सय चौसठ्ठी दिन नै खिचडी खाँदा-खाँदा अमिलियको ज्यान जिभ्रो फेर्न साथीभाइ पछ्याउँदै जाँदा दालभात तरकारी अचार अलग-अलग बनाएर खाएको नौलो स्वाद लिँदा दशैँ नभएर पनि दशैँ आएजस्तो कल्पना साथीभाइसमक्ष साट्ने तपाईं बेला-बेला विश्वासिलो उटपट्याङ काम गर्न समेत उत्तिकै माहिर हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । एउटा सिलवाल थरको साथी र अर्काे महत थरको साथीबीच मितेरी लगाइदिएर महतको नुवाकोटे गोठबाट आएको भैंसीको खुवा (कुरौनी) खाने चाँजोपाँजो मिलाएको दिनको पनि सम्झना होला । अझै त्यो दिन त तपाईंका लागि दशैँतिहार माघेसंक्रान्ति साउने संक्रान्ति एकैपटक जोडिएजस्तो हुन्थ्योहोला, होइन ?

दशैँको बजार गर्न तनहुँदेखि हिँडेर नारायणगढसम्म बुढाबुढी नै गएको । गाउँको घ्यू, अमिलो, भक्यामिलो बेचेर नुनतेल कपडा मसला किनेर देउघाट तरि घर फर्कंदाको दिन सम्झदा अहिलेसम्म नै मन आतङ्कित हुन्छ होला ! अहो.. यस्तोसम्मको कठिन काम कसरी सम्पन्न गरियो होला भनेर । उता जीवन उन्नत तुल्याउन गोर्खाली साहुको मिलमा मुन्सी बनेको दिनले तपाईंलाई अझै सताइरहेकै होला । कस्ता कठिन घडी पार गरेर पनि हरेस नखानुभएको तपाईंको जिन्दगीलाई सलाम ! तर आफूले एक आङ लाउन एकछाक खान पनि यति धेरै संघर्ष गर्नुभएको इतिहास बोकेर आउनुभएको तपाईंहरूको भाग्यले नै भन्नुपर्ला… ०४६ सालमा बहुदल आयो र तपाईंहरू जस्तालाई चिट्ठा पऱ्यो । जनताको त त्यो परिवर्तनले भाग्य निमोठेको रहेछ भन्ने कुरा त आज आएर प्रमाणित हुँदैछ । नाम तेरो गाउँ मेरो भनेजस्तो परिणतिले प्रधानमन्त्री बाहेक अरु सबै पद प्रतिष्ठा तपाईंलाई दिलायो तर तपाईंको तर्फबाट जनता देश धर्म-संस्कृति परम्परालाई धोखाधडी सिवाय केही पनि प्राप्त हुन सकेन । तपाईंले हजार याचना गर्दासमेत पञ्चायतले पिएनसम्म पनि पत्याएनछ । किनकि पञ्चायत तपाईंको बारेमा भलिभाँति जान्ने ब्यवस्था रहेछ । जब केही नजान्ने बकम्फुसे ब्यवस्था उभियो अनि तपाईंहरूले सबैथोक पाउनुभयो तर, देश र जनताले सबैचिज गुमाए ।

एकसरो लुगा लाउन सक्ने, टायलका छानामुनि बस्ने र एक हल गोरु पाल्न सक्ने र दुहुना गाईभैंसी भएकाहरूलाई सामन्त देख्न थाल्नुभो । तर आज तिनै असनको अमिलो बाजेको सम्पत्ति छानविन गरियो भने श्रोत पहिचान गर्न सकिएला त महामहिम ? तिनै कन्नोमा भारी हालेर दशैँ गाउँ भित्र्याउने घ्यूबाजेको बाहेक अरुको चकचकी कतै देख्नु-सुन्नुभएको छ ?

पूर्वजन्मको अपराधले होला लाउँलाऊँ खाउँखाऊँको जीवन दुःखैदुःखमा बिताउनुपऱ्यो, जीवनको उत्तरार्धमा प्राप्त भएको पद प्रतिष्ठाको दुरुपयोग गरेर अकुत कमाएको धन विदेशमा थुपार्नुभएको चर्चा छ । ज्ञात होस्, तपाईंकै पुर्वजन्मका साहुहरू यस जन्ममा सन्तान परिवार बनेर आएका पनि हुन सक्छन् । तिनको ऋण चुकाउन हो वा किन हो तपाईं ठुला पदधारीहरू देश जनता लुटेर कमाउन निर्लिप्त हुनुभएको देख्दा तपाईंहरूको आगतसमेत सोही जन्मजन्मान्तर गरेको ऋण तिर्दै समाप्त हुँदैछ । तपाईंहरू कुनै जन्मका राक्षसहरूको पुनर्जन्म भएर आउनुभएको होकि भन्ने भान जनतालाई पर्न थालेको छ ।

तपाईंको कर्म हेरेर मुल्यांकन गर्दा त नाम नै रामचन्द्रको ठ्याक्कै विपरीत अर्थ लाग्ने खालको हुनुपर्ने देखिन्छ । यस्तो चैतन्य चोलामा समेत आफैं अपराध गर्ने र अपराधीलाई जोगाउनेबाहेक अरु कुनै कर्म गर्न नसक्नु भएकोमा तपाईंको सिङ्गो जिन्दगी र तपाईंले प्राप्त गर्नुभएको पदमाथि धिक्कार छ ! तपाईं इतिहासकै कलंकित राष्ट्रपति हुनुहुनेछ भन्ने मेरो भविष्यवाणी गलत सावित होस् भन्ने मेरो कामनासमेत पूरा गर्न सक्षम हुनुभएन । फेरि पुरानै उही रामचन्द्र दाइ भन्दै सम्बोधन गर्दा रिसानी माफ होस् !

तपाईंले यस्तो गौरवान्वित पद पाएर पनि सदुपयोग गर्न सक्नुभएन । तपाईंलगायत तपाईंका सहकर्मी नेतागणहरुले गरेको समग्र कृयाकलाप त किटपतङ्ग, पशुप्राणीहरू सबैले गरेकै छन् त । उनिहरूले पनि आहार, निन्द्रा, भय, मैथुनजन्य काम त गरेकै छन् । पशुप्राणीले पनि खाएकै छन् तपाईंहरूले पनि सोही खाने बाहेक अरु के नै गर्नुभएको छ र ? बरु पशुहरूले सात पुस्ताका लागि भनेर अनधिकृत रुपमा थुपार्दैनन् । तपाईंहरूले त्यसमा समेत सर्वसाधारण जनताको मुख मोसेर थप अपराध गर्नुभएको छ । पशुप्राणी भन्दा ठुलो घोर निन्द्रामा निदाउनुभएको छ । देश डुबिसक्यो अझै गहिरो निन्द्रामा हुनुहुन्छ ।

भय पशुप्राणीलाई भन्दा तपाईंहरूलाई नै बढि होला । मैथुनकृयामा पनि तपाईंहरूले नै जित्नुभएको होला । सन्तान जन्माएर पुस्तैनीसम्मका लागि देश लुटेर थुपार्नुभएको छ, तर मानव भएवापत प्राप्त हुने थप गुण भनेको विवेक हो- त्यो तपाईंहरूमा दुर्लभ भयो । तपाईंहरू दुईखुट्टे प्राणाीबाहेक थप केही सावित हुन सक्नुभएन । तपाईंले प्राप्त गर्नुभएको पद प्रतिष्ठा त त्यसैपनि धिक्कारयोग्य नै छन् । हामी समग्र जनताले दिएको विश्वास समेत धिक्कार्न योग्य भएकोमा तीन करोड जनता आशातीत हुन सकेनौँ । महामहिम रिसानी माफ होला ! उही तपाईंको पुरानो भाइ राजेन्द्रप्रसाद पाठक ।

(प्रस्तुत सामग्री लेखकको व्यक्तिगत बुझाइ एवम् धारणा हो । सं.)