कोशी प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ बन्ने छनक देखिएको छ । सत्तारुढ गठबन्धन आङ्बोलाई मुख्यमन्त्री दिन सहमतिनजिक पुगेको बुझिएको छ ।
नेपाली कांग्रेस, एकीकृत समाजवादीसमेतका दलले आङ्बोलाई समर्थन गर्ने भएका हुन् । तर, कांग्रेसका डा. शेखर कोइराला समूह भने नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्नेमा अडिग छ ।
कोशी प्रदेशमा भोलि बिहीबार साँझ ५ बजेसम्ममा नयाँ सरकार बनाउने समय तोकिएको छ । प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।
कांग्रेसमा उद्धव थापा, केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी छन् । शेखर समूहले कार्कीलाई मुख्यमन्त्री बनाउन लबिङ गरिरहेको छ । राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने तर माओवादीलाई गर्ने राय राखेपछि मौसमलाई सहज भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत भएको कांग्रेस श्रोत बताउँछ ।
पाँचथरको निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित मौसम माओवादी संसदीय दलका नेता हुन् । उनी जिल्लामा विकासप्रेमी युवा नेताका रुपमा चर्चित छन् । कोशीमा बहुमत पुऱ्याउन ४७ सांसद आवश्यक पर्छ । कांग्रेस सभापति देउवाले शेखर समूहलाई मनाउने जिम्मा लिएको र शेखर समूह सहमतिमा आउने कांग्रेसका संस्थापन पक्षका एक नेताले बताए ।
प्रतिक्रिया