✍ दुर्गाकिरण तिवारी
मात्र उनीहरू गफ लगाइरहन्छन्
गफैले खान्छन्, गफैले सुत्छन्, गफैमा उठ्छन्
अहो ! उनीहरू विचित्र समाजसेवी
देशभक्ति, विचित्रको शक्ति
विचित्रमा छन् सदा, विचित्रमै रहन्छन्
उनीहरूको पहिचान विचित्रको छ ।
हली, गोरु र हलोको जमाना सकिएछ क्यारे
उनीहरू गफैले खेत जोतिरहन्छन्,
माटो पल्टाइरहन्छन् , कान्ला बनाइरहन्छन्
बारी सम्याइरहन्छन्, गफैका बिउ छर्छन्
गफैका बिरुवा उमार्छन् , गफैका मल हाल्छन्
गफैको खेती सपार्छन्,
गफैको बाली भित्र्याउँछन्
साँच्चिकै उनीहरू हमेसा गफैका
गीत गाइरहन्छन् ।
उनीहरू गफैले भरिपुर्ण छन् र त
हर-हमेसा गफै लगाइरहन्छन् ।
हो, उनीहरू गफ लगाइरहन्छन्,
गफैका प्रकार देखाइरहन्छन्,
अनेकौं स्वादहरू पस्किरहन्छन्,
मिठास भरिरहन्छन्,
विचरा दर्शक निम्छराहरू
मुख मिठ्याइरहन्छन् , उनीहरू उग्राइरहन्छन्
गफैका लड्डुमा अरूलाई लठ्याएर
आफू हाँडी घोप्ट्याएर खानलाई
बुझेका छन्- गणतन्त्र आएको छ ।
जीवन नसकिउन्जेल
गफैका जाँच दिइरहन्छन्,
गफैका अक्षर भरिरहन्छन्
जब प्रयोगात्मक जाँच आउँछ
पाना कोरा हुन्छन्, निभ सुक्खा रहन्छ
बारी बाझैँ थियो तिनको, मस्तिष्क मरुभूमिजस्तै
तर, क्याक्टस उम्रेझैँ गफ
विनावर्षा उम्रिँदो रहेछ
खेताला मूकदर्शक झैँ तमासा हेरिरहन्छन्
बालीको आशामा
आँखा मरुभूमिमा बिच्छ्याइरहन्छन् ।
उनीहरू गफैले फसल भित्र्याउँछन्
गज्जबको उपलब्धि छ
गफ सुन्ने निमुखाहरूको
भुस भित्र्याउँछन् सदा मौन बनेर
बोलेर बेक्कार छ
गणतन्त्र बदलिएर फटाहातन्त्र भएको छ
उनीहरू राजा महाराजाझैँ छन्
जुवाको खालमा मस्तिछन्
जुवाडेले झैँ देश चौका र छक्काको
दाउ लगाइरहेका छन्
वस्त्रहरण गरिरहेका छन्
गफिँदै गफिँदै आफ्नै आमाको
हो उनीहरू विचित्रका छन् विचित्रका
गफै लगाइहन्छन्
विचित्र गरिरहन्छन् !
- पोखरा-३२ (कास्की), हाल : काठमाडौ
प्रतिक्रिया