नेपालगञ्जका मूर्तिकार भारतीय मूर्ति विस्थापित गर्न तल्लिन

नेपालगञ्जका मूर्तिकार भारतीय मूर्ति विस्थापित गर्न तल्लिन

घ.वि. सम्वाददाता
0
Shares

राँझा (बाँके), विगतका समयमा नेपालगञ्जबासी नवदुर्गाका आकर्षक मूर्ति किन्न भारतीय सीमावर्ती बजारमा निर्भर हुनुपर्दथ्यो तर अहिलेको समयमा परिस्थिति ठिक विपरित बनेको छ ।

नेपालगञ्जमै नवदुर्गाका लागि आवश्यक मूर्ति निर्माण हुन थालेपछि भारतीय बजार जानुपर्ने बाध्यता हटेको हो। दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् ।

नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ ।उहाँले नगरभवन अगाडीको खाली स्थानमा अस्थायी टहरा निर्माण गरेर एक महिनादेखि मूर्तिको काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म माग आएका सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उहाँको भनाई छ।

कलाकार केवटले तीस पैतीसवटा मूर्ति तयार भईसकेको र अरु मूर्ति बनाउने तयारी भईरहेको जानकारी दिनुभयो । साथै उहाँले वर्तमान समयमा मूर्ति किन्न भारत जानुपर्ने बाध्यता हटेको र नेपालगञ्जमै ठाउँठाउँमा मूर्ति बन्न थालेका जानकारी दिनुभयो ।

उहाँका अनुसार, सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाईन्छ ।मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गर्नुपर्दछ। दसैँको समयमा केही मूर्ति बनाउन अर्डर आउने गरेको र केही आफैँ बनाएर बिक्री गर्ने गरिएको कलाकार केवटले बताउनुभयो ।

बाँकेको जानकी गाउँपालिका–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिनरात उहाँ माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरिभराउ छन् । सानै उमेरदेखि मूर्र्ति बनाउने काम गर्दै आउनुभएका उहाँको यो पुर्ख्यौली पेसा हो ।

बाँकेको जानकी गाउँपालिकाबाहेक सदरमुकाम नेपालगञ्जमा पनि तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । दसैँ नजिकिँदै जाँदा मूर्र्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा–दसैँको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानको मूर्तिमा पूजा गर्ने चलन छ ।

“पहिला घरमा सानो–सानो मूर्ति बनाउँथ्यौँ पछि ठूलो बनाउन लागेँ । दुर्गा मातालगायत सबै प्रकारको मूर्र्ति बनाउने गरेको छु”, हरिजनले भन्नुभयो, “नवरात्रको बेला सिजन हो । पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ । मेहनत धेरै छ ।”

उहाँका अनुसार रु २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । हरिजनले आफूजस्तै अन्य छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ रानी तलाउ नजिकै मूर्ति बनाउँदै आएका सन्दीपकुमार वंशकारले डेढ महिनाअघिदेखि माटोबाट तयार पारिएका देवीदेवताको आकृतिमा यतिबेला रङरोगन गर्न भ्याइनभ्याइ भएको बताउनुभयो ।

उहाँका अनुसार, यतिबेला कालीगढ मूर्तिहरुमा देवदेवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रङरोगनमा व्यस्त छन् । दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवीदेवताका मूर्ति तयार भएका छन् ।

दुर्गा भगवती, बाघ, भैँसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका मूर्ति बानउनका लागी एक महिना अगाडि बुक गर्ने गरेको वंशकारले जानकारी दिनुभयो । मूर्र्तिको लागि चाहिने औजार र सजावटका सामग्री भारती बजार रुपैडिहाबाट खरिद गरी ल्याउने गरिएको छ । बाँकेको सदरमुकाम नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ ।

बाँकेमा माटोबाट मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । यसका कारण मूर्तिको दर मूल्यमा पनि एकरुपता छैन । नेपालगञ्ज–७ फुल्टेक्राका मूर्तिकार मुकेश गुप्ताले मूर्ति बिक्री गर्दा मूल्यमा एकरुपता कायम हुन नसकेको र चिनेको आधारमा एकजनालाई छुट दिँदा धेरैजनासँग घाटा समेत खानुपरेको बताउनुभयो ।

हस्तकलाको क्षेत्रमा लागेका व्यक्तिलाई सरकारी निकायले चासो नदिएकोमा मूर्तिकारको गुनासो छ ।उहाँले आफ्नै पौरख र पुर्खाको सीप हेरे अहिलेको स्थानसम्म आईपुगेको र आवश्यक सीपका साथै नयाँ प्रविधिको प्रयोग गर्न पाए अझै राम्रो गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो।