भरतपुरमा चुलियो माओवादी र कांग्रेसबीच विवाद, गठबन्धन संकटमा पर्ने खतरा

भरतपुरमा चुलियो माओवादी र कांग्रेसबीच विवाद, गठबन्धन संकटमा पर्ने खतरा

घ.वि. सम्वाददाता
0
Shares

चितवन, चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादीको विवाद चुलिँदा कांग्रेसबाट निर्वाचित उपमेयर चित्रसेन अधिकारीसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । उनीहरुले महानगरपालिकामा मेयर रेनु दाहालले एकलौटी गरेको गुनासो गर्दै आएका छन् ।

आज बिहान ८ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले दिनुभयो । महानगरपालिकाले मनाउन लागेको भ्रमण बर्ष २०२४ का लागि एकलौटी मेयर दाहालको मात्र प्रचार गरेको र सबै जनप्रतिनिधिसंग समन्वय नगरेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ ।

मेयर दाहालले वडामा वितरण हुने बजेटमा पनि मनोमानी गरेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आरोप लगाएका छन् ।

वडाध्यक्ष खनालले महानगरपालिकाका बिषयगत समितिहरुले गरेका निर्णयबिरुद्ध मेयर दाहालले एकलौटी निर्णय गर्ने गरेको बताउनुभयो। महानगरपालिकामा केहीदिन अघि २१ जना कर्मचारी मनोमानी ढंगले भर्ती गरेको भन्दै त्यसमा आफुहरुको बिमती रहेको उहाँले बताउनुभयो। यसअघिका कार्यपालिका बैठकका निर्णय समेत कार्यान्वयन नभएको भन्दै वडाध्यक्षहरुले मेयरका गतिविधिप्रति कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

केहीदिन अघि भरतपुरमा कांग्रेसका वडाध्यक्षसहित पार्टीका नेता कार्यकर्ता माओवादी प्रवेश गराएपछि कांग्रेसका जिल्ला नेताहरु माओवादी र मेयर रेनु दाहालप्रति रुष्ट भएका थिए । उनिहरुले चितवनमा गठबन्धन तोडिने अवस्थामा पुगेको बताएका छन् । कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले महानगरपालिकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधि अब शशक्त रुपमा प्रस्तुत हुने बताउनुभयो । भरतपुर महानगरपालिकामा उपमेयर सहित कांग्रेसबाट निर्वाचित १७ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्य रहेका छन् ।