विराटनगरमा रातभर काङ्ग्रेस सांसद किनबेचको सम्भावना !

विराटनगरमा रातभर काङ्ग्रेस सांसद किनबेचको सम्भावना !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पदाधिकारी बैठकमा कुनै निष्कर्ष निस्कन नसकेपछि कोशी प्रदेशलाई लिएर नेपाली काङ्ग्रेसमा भाँडभैलो मच्चिएको छ । एमालेसँग मिलेर सस्थापनविरुद्ध उभिएका काङ्ग्रेसइतर समूहका नेता डाक्टर शेखर कोइरालालाई फकाउने प्रयास बिहीबारदेखि असफल भइरहेको छ ।

एमालेका ३९ र नेका कोइराला समूहका ८ समेत ४७ जना प्रदेशसभा सदस्यले कोइरालापक्षीय सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि प्रकारान्तरले वितण्डना नै मच्चिएको अवस्था छ ।

गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपनि कोइराला समूह यसमा सहमत थिएन । कोइराला समूहका सांसद शुक्रबार राति मदिरा, सुरासुन्दरी र पैसामा नबिकेको खण्डमा शनिबार सांसदको सनाखतसँगै कार्की मुख्यमन्त्री बन्ने सम्भावना प्रवल छ । तर, गठबन्धन जोगाउनुपर्ने वाध्यताले ठूलो आर्थिक चलखेल हुनसक्ने काङग्रेसकै नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका संस्थापनपक्षीय नेताहरू कोइरालालाई फकाउन यद्यपि सक्रिय छन् । तर, कोइरालाले प्रचण्ड र देउवाले दिएका तीनैवटा विकल्प अस्विकार गरेपछि तनाव झन् गाँजिएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेसका नेताबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदाम्बे र प्रमुख सचेतक रमेश लेखक थिए । त्यसपछि प्रचण्ड बाहिरिए । अनि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र कोइरालालाई आमन्त्रण गरियो । संस्थापनले कोइरालासामु तीन विकल्प राख्यो, जसमा केदार कार्कीको दाबी फिर्ता गराउने र माओवादी संसदीय दलका नेता आङ्बोलाई समर्थन गर्ने पहिलो प्रस्ताव थियो । अर्काेमा काङ्ग्रेसबाट उद्धव थापा र कार्कीबाहेक सर्वसम्मत नाममा सहमति गरौँ भन्ने थियो । अन्तिममा कार्कीलाई नै मुख्यमन्त्री बनाउने तर एमालेको सहयोगमा नभइ गठबन्धनबाट भन्ने प्रस्ताव आयो । यी तीनवटै प्रस्ताव कोइरालाले समय घर्किएको भन्दै अस्विकार गरे ।

यसरी हर प्रयत्नका बाबजुद कोइराला सहमत नभएपछि किचलो थप पेचिलो बन्दै गएको बुझिएको छ । संस्थापन पक्ष आफ्ना ८ प्रदेश सांसदमध्ये सकेसम्म सबै नत्र कार्कीको पक्षमा बहुमत नपुग्ने गरी फकाउने वा खरिद गर्ने निचोडमा पुगेको श्रोतको दाबी छ । अब कोशीमा देखिएको किचलो देशभर फैलने भेउ पाएका संस्थापन पक्षीय नेताहरु थप तनावमा छन् । यो कोशीको तनावले गठबन्धन नै टुट्ने शंकामा कोइरालालाई जसरी पनि फकाउने योजना तुहिएपछि के र कसो गरौँको दोसाँधमा देउवा र प्रचण्ड छटपटीमा परेका छन् ।

काङ्ग्रेस पार्टीको निर्णय कार्यान्वयन गर्ने र गठबन्धन जोगाएर आफू प्रधानमन्त्री रहिरहने ध्याउन्नमा प्रचण्ड छन् । शुक्रबार अपरान्ह पुनः बोलाइएको कार्यसम्पादन समितिको बैठकमा कोइराला गएनन्, जसकारण कुनै निर्णय हुन सकेन ।

काङ्ग्रेस सस्थापन श्रोतका अनुसार अन्तिम विकल्प कार्कीको पक्षमा हस्ताक्षर गरेका ८ सांसदमध्ये सकभर सबै नत्र केहीलाई खरिद गरेर बहुमत पुर्याउन नदिने र, आङ्बोलाई मुख्यमन्त्री बनाउन शुक्रबार अपरान्हदेखि शनिबारसम्म प्रदेश सांसदहरू किनबेच गरिने निचोडमा गठबन्धनका हर्ताकर्ताहरू पुगेको बुझिएको छ ।