कोशी प्रदेशमा मुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङ्गको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो । यससँगै कोशी प्रदेशको आठौँ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।
सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङ्गले स-शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भइ सनाखत गर्न गए राति सूचना जारी गरेका थिए । तर, आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।
नेकपा (एमाले)का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन् ।
मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ आइतबार लिने छन् ।
प्रतिक्रिया