सार्क हस्तकला विकास केन्द्र अलपत्र !

सार्क हस्तकला विकास केन्द्र अलपत्र !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल हस्तकला महासंघले अघिबढाएको सार्क हस्तकला विकास केन्द्र अलपत्र परेको छ । जग्गाको व्यवस्थापछि करिव १५ करोड रुपैयाँमा भवन बनेपछि सरकारले त्यो भवन कब्जा नै गरेको छ ।

सरकारले जग्गा उपलब्ध गराएर १५ करोड रुपैयाँमा भवन बनाएपछि केन्द्र सञ्चालन गर्न दिनुको बदला कम्पनी रजिष्टारको कार्यालय राखेको हो । यसमा पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडु र उद्योग मन्त्रालयका उच्च कर्मचारीको मिलेमतो भएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

भवन आधुनिक छ । अण्डरग्राउण्ड पार्किंङ, पहिलो तलामा इम्पोरियम, दोश्रोमा ल्याब र उपकरण, तेश्रोमा डिजाइन र भाथिल्लो तलामा तालिम हल सञ्चालन गर्ने उदेश्यले महासंघले भवनको रुपरेखा तयार पारेको थियो । तर, सरकारको कुदृष्टिले भवन नै कब्जा भएको छ ।

सार्क देशका सबै प्रकारका हस्तकलाको उत्पादनदेखि प्रदर्शन र बिक्री गर्दै आत्मनिर्भर र बैदेशिक मुद्रा आर्जन गर्ने उदेश्यले केन्द्र स्थापना भएको हो । हाल नेपालमा उत्पादन हुने हस्तकला सामानका लागि प्राकृतिक रेसाको परीक्षण गर्न भारतसम्म पुर्याउनु पर्छ । जसमा ५० देखि ६० लाख खर्च हुन्छ । यो केन्द्र सञ्चालनमा आएको खण्डमा त्यस्ता परीक्षण नेपालमै हुने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले घटना र विचारलाई बताए ।

पछिल्लो समय सार्क निस्कृय छ । भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सार्कले गति लिन सकेको छैन । सार्क डेभलप्मेण्ट फण्ड निस्कृय छ । महासंघले केन्द्रका लागि सबै जिम्मा लिएर काम गर्ने भन्दा पनि सरकारले नमानेको अध्यक्ष शाक्यले गुनासो सुनाए । नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँबराबरको हस्तकला सामान बिदेश निर्यात हुन्छ । त्यति नै मात्रामा नेपालमा किनबेच हुने गरेको छ । बैदेशिक मुद्रा आर्जन गर्ने राम्रो श्रोत हस्तकलालाई सरकारले संरक्षण गर्नुको बदलामा बेवास्ता गर्दै आएको महासंघका सदस्यहरु गुनासो गर्छन् । गत वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराएको सरकारले चालु वर्ष ७ लाख रुपैयाँमात्र दिने भएको छ ।

देशमा १० लाख जना हस्तकलाकर्मी छन् । ती सबै कालिगढ र व्यवसायीलाई तालिम दिएर दक्ष बनाउने हो भने हाल भित्रिरहेको बैदेशिक मुद्राभन्दा तीन गुणासम्म वृद्धि हुने देखिन्छ । तर, सरकारको कुदृष्टिमा परेको महासंघलाई साथ र सहयोग हुने छनक छैन, एक हस्तकला व्यवसायीले घटना र विचारसँग गुनासो सुनाए ।