कांग्रेस संसदीय दल कोशी प्रदेशको नेताबाट उद्धव थापाले राजीनामा दिएका छन् । कोशी प्रदेशमा पार्टी निर्णयविपरीत केदार कार्की मुख्यमन्त्री बनेपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन् । यसअघि २ पटक मुख्यमन्त्री बनेका थापा सर्वाेच्च अदालतले बदर गरेपछि बर्खास्त भएका थिए ।
थापाले पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । थापाले कोशी प्रदेशमा विकसित घटनाक्रम र नयाँ सरकार निर्माणका कारण राजीनामा दिएका हुन् ।

‘कोशी प्रदेशमा भएका विकसित घटनाले नैतिक रुपमा संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएकाले आजको मितिदेखि लागू हुने गरी नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँछु’, उनले राजीनामा पत्रमा लेखेका छन् ।
अदालतले दुई पटक पदमुक्त गरेपछि त्यतिबेलै राजीनामा गर्नुपर्ने भए पनि केही कारणबीच ढिलो भएको उनले पत्रकारहरुलाई बताए ।
उनको राजीनामामा कांग्रेस सभापति देउवा, प्रदेश सभा सचिवालय, र कांग्रेस प्रदेश कार्य समितिलाई बोधार्थ दिइएको छ ।
प्रतिक्रिया