दशैँको शुरुवात

दशैँको शुरुवात


केही अपवादलाई छोडेर पनि सबैले दशैँलाई मान्न थालेका छन् । मान्ने तरिकामा केही विविधता त छ नै तर पनि दशैँ मानिएको छ । अहिले आएर दशैँ जस्तो धार्मिक सहिष्णुता तथा भाइचाराको पर्व पनि आफ्नो हैकम, अस्तित्व तथा सामाजिक बडप्पन देखाउने पर्वमा परिवर्तित हुँदै गइरहेको छ । संस्कार र संस्कारी बन्नु भन्दा वडप्पनको प्रस्तुतिको रुपमा दशैँ खर्चालु बन्दै गएको छ ।
✍ सुनिल उलक

आज घटस्थापना घट स्थापना गर्ने दिन । घट अर्थात् शुद्ध पानीले भरिएको कलश स्थापना गर्नु नै दशैँको शुरुवात हो । यो नै परापूर्व कालदेखि शुरु भएको प्रचलन हो ।

शुरुमा हामी आकृतिलाई भगवान मानेर पूज्दैनथ्यौँ । भगवान निरञ्जन निराकार रहेको मान्दथ्यौँ, तसर्थ कलश थापेर पूजा गर्दथ्यौँ । यस दिन कलशको साथ साथै नदीबाट ल्याइएको शुद्ध बालुवामा नदीबाट ल्याइएको शुद्ध जलमा भिजाएर पूजा गरेर जौलाई रोपिन्छ । यसपछि नित्यदिन शुद्ध जल छर्कंदै बालुवामा जौलाई उमारिन्छ । यो विरुवा जसलाई जमरा भनिन्छ । जमराको शाव्दिक अर्थ ‘जौ उमारा’बाट नै जमरा भएको हो । भवँरा वा कुनै पनि किटपतंगले पनि यस जमरामा नछोओस् तथा सूर्यको किरण पनि यसमा परेर जूठो नहोस भनेर छोपेर राखिन्छ । यसरी छोपेर नित्य बिहान पूजा गरि सिंचेको बिज सातौ दिनमा लहलहाउँदै पहेँलिएको हुन्छ । यदि जमरा हरियो छ भने त्यो शुद्ध जमरा मानिदैन । यसरी शुद्ध रुपले तैयार बनाइएको जमरालाई दशौँ दिनमा देवीमा अर्पण गरेर देवीकै प्रसादका रुपमा रातो टीका निधारमा लगाएर शुद्ध जमरा शिरमा सिउरिन्छौँ । यसरी शुद्ध मनले शुद्ध जमरा चढाएर देवी पूजा गर्ने प्रचलनलाई हामी नै दशैँ भनेर मान्दछौँ ।

के हामीले देखे जस्तो हामीले पढे जस्तो वा हामीले सुन्दै आए जस्तो नै थियो त दशैँ ? पृथ्वीनारायण शाहको एकिकरण अभियानभन्दा अगाडि दशैँ यस्तो थिएन । उपत्यकाका नेवाःहरु पायाः अर्थात खड्ग जात्रा मनाउँथे । अष्टमीको दिनमा तन्त्र साधनाबाट तैयार गरिएको मोहनी सिन्ह टीकाको दिन लगाएर मोहनी नखः मनाउँथे । तामाङहरु आफ्नै चाड म्हेनिङ मनाउँथे । मगरहरु डस्यक्के मनाउँथे । त्यस्तै थारुहरु सखिया मनाउँदथे । यी चाडहरु यी समुदायले अझै पनि मनाउँदछन् ।

पृथ्वीनारायण शाह आफू देवीका परमभक्त भएको हुँदा कुनै पनि राज्यमा आक्रमण गर्नुअगाडि देवीको पूजा गर्दथे । त्यो राज्यमा विजय गरेपछि त्यो राज्यमा देवीको स्थापना पनि गर्दथे । अहिले देशको विभिन्न स्थानमा विभिन्न नामाकरण गरेर स्थापना गरेका देवीहरुमा कतिपय गोर्खा राज्यमा समाहित भएपछि नै स्थापित भएका हुन् ।

दशैँमा पूज्यवरहरुकहाँ गएर टीका ग्रहण गर्नु स्वभाविकै थियो । ‘आयूर्द्रोणसुते, श्रीयम दशरथे, शत्रुक्षयम राघवेू श्लोक भट्याउँदै आशिष दिनु स्वभाविकै थियो । तर अचेल यति बिघ्न आशिषको आवश्यकता नै छैन, केवल स्वस्थ्य रहनु, सुखी हुनु भने पुग्छ’ भन्ने धारणा विकसित हुँदै गएको पाइन्छ ।

पृथ्वीनारायण शाहको एकिकरण अभियानपछि दशैँको रूपमा ब्यापक भयो । आफ्नो राज्य बिस्तार गर्ने सपना पूरा गर्न देवीको बरदान पाएको तथा देवीले सपनामा आएर दुबै हातमा दुई तरवार थमाएको प्रचार गर्दै पृथ्वीनारायण शाहले एकिकरण अभियानको थालनी गरेका थिए । युद्ध विजय भएको प्रत्येक राज्यमा शक्तिस्वरूप देवीको स्थापना गराउने पूजा गर्ने, फूलपाती भित्राउने तथा बली दिन लगाइयो । साथै हतियार तथा कोटको पूजा गर्न लगाइयो । पश्चिम नेपालमा सहज स्विकार्य भएको देवीपूजाको अभियानलाई पूर्वका लिम्बु राज्यले स्विकार्न कठिन थियो । हिन्दु धर्मका अनुयायी नभएका लिम्बुहरूलाई १८३१ को गोरखा राज्यसंगको बाध्यकारी सम्झौतामा हिन्दु बन्न बाध्य बनाइयो । साथै यसको बदलामा लिम्बुहरूले स्वायत्तता पाए । गोरखालीको ऐन कानुनभित्र रहनु परेन तर सुवांगी (मुखिया) प्रथाको शुरूवातले दशमीको दिन कोसेली बोकेर सुवांगीसंग आशिर्वाद लिन जानै पर्ने रित चलाए ।

शुरुवात जे जसरी भए पनि देशमा दशैलाई राष्ट्रिय पर्वको रुपमा सरकारी मान्यता पाएको दिएको छ । केही अपवादलाई छोडेर पनि सबैले दशैँलाई मान्न थालेका छन् । मान्ने तरिकामा केही विविधता त छ नै तर पनि दशैँ मानिएको छ । अहिले आएर दशैँ जस्तो धार्मिक सहिष्णुता तथा भाइचाराको पर्व पनि आफ्नो हैकम, अस्तित्व तथा सामाजिक बडप्पन देखाउने पर्वमा परिवर्तित हुँदै गइरहेको छ । संस्कार र संस्कारी बन्नु भन्दा वडप्पनको प्रस्तुतिको रुपमा दशैँ खर्चालु बन्दै गएको छ । सम्पन्नको रवाफले गरिवलाई ऋण लिएर पर्व मनाउन बाध्य बनाइएको छ ।

आखिर जे जस्तो भए पनि दशैँ आफ्नो हैसियतले नै मनाऔँ । घमण्ड र द्वेष बोकेर दशै नमनाऔँ । दशैँको खुशियालीमा सबैको कल्याण होस् । स्वस्थ र निरोगी रहोस् । सबैमा दशैँको मंगलमय शुभकामना ।