व्यापारीले लुकाएपछि चिनीको हाहाकार

व्यापारीले लुकाएपछि चिनीको हाहाकार


  • सुरेन्द्र सुवेदी, काठमाडौं

अहिले देशका प्रायः सबै स्थानमा चिनीअभाव चरम रूपमा देखिएको छ । र, सरकारी स्वामित्वका आपूर्ति गर्ने संस्थामा पनि चिनी नभएपछि यो दशैँ खल्लो हुने पक्का छ ।

राजधानीको पुरानो बानेश्वरमा हलेसी ज्वेलर्स सञ्चालन गर्दै आएका कुमार विश्वकर्मा चिनीअभावले चियासमेत खान पाउन छोडेको बताउँछन् । उनले भने, ‘नियमित किराना सामान खरिद गर्ने पसलमा चिनी नभएपछि अन्य पसलमा भए पनि नदिने गरेका छन् ।’

विश्वकर्मा एक्ला प्रतिनिधिपात्र होइनन्, काठमाडौं-१० को रुद्रमतिमा बेकरी सञ्चालन गर्दै आएका शान्तकुमार बरुवाल चिनीअभावले केकहरु बनाउन र चिया बिक्री गर्न नपाएको गुनासो सुनाउँछन् ।

चिनीअभावमा मुख्य कारक कालोबजारी गर्ने ब्यापारी पहिलो नम्बरमा आउँछन् । केही दिनअघिसम्म एक किलो चिनीको मूल्य १ सय रुपैयाँ थियो, अहिले ब्यापारीले बढाएर किलोको १ सय ५० रुपैयाँ पुऱ्याएका छन् । र, यो मूल्यमा पनि चिनी पाउन सकिन्न ।

ब्यापारीले लुकाएर बजारमा चरमअभाव भएको हो भने उपभोक्ताले पनि आवश्यकताभन्दा बढी भण्डारण गरेका छन् । अभाव हुने चर्चासँगै प्रायः उपभोक्ताले ५–७ किलोग्राम स्टक राखेपछि थप समस्या देखिएको बाग्लुङका धनबहादुर मगरले घटना र विचारलाई बताए । मगरका अनुसार चिनी भएका पसलले पनि छैन भनेर बेच्न मान्दैनन्, अधिकांश पसलमा त चिनी नै छैन । नियमित सामान खरिद गर्ने उपभोक्तालाई भने १–२ पाउका दरले बिक्री गर्ने गरिएको पाइन्छ ।

नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ लिमिटेडमा चिनी छैन । संस्थानकी प्रवक्ता शर्मिला सुवेदीले चिनीअभाव भएको भन्दै अभावबीच महँगोमा पनि किन्न पाउन छोडेको बताइन् । संस्थानमा एक किलो पनि चिनी नभएको उनको भनाइ छ । साल्ट ट्रेडिङमा पनि चिनी छैन । केही दिनदेखि ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारी पत्रकारको सम्पर्कमा आउन चाहेका छैनन् । जति कोशिस गर्दा पनि उनले फोन उठाउँदैनन् ।

अहिले नेपाली बजारमा तीन लाख मेट्रिकटन चिनीको माग छ । माग उच्च भएपनि आपूर्ति शुन्य रहेकोले यो दशैं, तिहार र छठमा चिनी पाउने सम्भावना अति न्युन रहेको खाद्य संस्थान र साल्ट ट्रेडिङका कर्मचारीहरू बताउँछन् ।