दलहरु गलत दिशातर्फ उन्मुख : पूर्व प्रधानमन्त्री भट्टराई

दलहरु गलत दिशातर्फ उन्मुख : पूर्व प्रधानमन्त्री भट्टराई

घ.वि. सम्वाददाता
0
Shares

दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गलत दिशातर्फ उन्मुख भएकोमा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दु:ख व्यक्त गरेका छन् ।

पारिवारिक भेटघाटका क्रममा चितवन पुगेका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए ।

देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको भन्दै अध्यक्ष भट्टराईले दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको र लोकतन्त्रकै बदनाम भएको तर्क गरे ।

वर्तमान अवस्थामा दलहरुले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत नदिने भन्दै भट्टराईले दलहरुले पहिले नै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्ने कि त निर्वाचन प्रणाली बदल्नुपर्नेमा जोड दिए ।

अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको र देशलाई तीव्र औद्योगीक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएकोले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्ने सुझाव दिए ।