अधिकारीलाई भावी प्रधानसेनापति बनाउने प्रचार गलत हो : उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का

अधिकारीलाई भावी प्रधानसेनापति बनाउने प्रचार गलत हो : उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का

घ.वि. सम्वाददाता
0
Shares

काठमाण्डौ – नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने भन्दै गलत प्रचार भइरहेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ।

काठमाडौंमा आज भएको पत्रकार महासंघको कार्यक्रममा बोल्दै उहाँले उमेर हद र समयावधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्ट पार्नुभयो।

उहाँले अधिकारीलाई प्रधान सेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गर्नुभएको थियो। नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधान सेनापति बनाउने कुरा झुटो रहेको र नेपाली सेनाको प्रधान सेनापति हुनका लागि निश्चित मापदण्ड रहेको उहाँको भनाइ छ।सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्नेमा समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने सन्दर्भलाई जोडेर केही सञ्चारमाध्यमबाट भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै उहाँले गलत सूचनालाई सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्योल पैदा हुने भएकाले यस्तो कार्य नगर्न संचारकर्मीलाई आग्रह समेत गर्नुभयो ।

सहायक रथी अधिकारी तत्कालीन माओवादीका लडाकूबाट नेपाली सेनामा समायोजित भएका व्यक्ति हुन् ।