केन्द्रमा भाँडभैलो मच्चाएको आरोप लाएर निषेधको राजनीति गर्ने ‘खोरेत मस्तिष्क’ले यो बुझ्नु जरुरी छ कि कुमार बुढाथोकी नामक सुनारले कांग्रेस आभुषण निर्माण खातिर हथौडा हानेका हुन् । त्यो हथौडालाई दुश्मन देख्ने सुन कहिल्यै आभुषण बन्न सक्दैन ।
✍ ज्ञानमणि भुर्तेल
सुनारलाई दुस्मन देख्ने सुन कहिल्यै आभुषण बन्दैन ।
त्यस्तै, आलोचकलाई शत्रु देख्ने मानिस पनि असल नेता बन्दैन ।
तर, कांग्रेस नामक क्लबमा यस्तै हुन्छ । सुनार पनि दुस्मन, आलोचक पनि शत्रु !
गत २० गतेको झापा जिल्ला सम्मेलन नामक कर्मकाण्डमा यस्तै देखियो । ३४ हजार ७ सय हाराहारीमा क्रियाशील र लगभग दुई सय जिल्लासदस्य रहेको जिल्ला भेलामा ११३ जिल्ला सदस्यको उपस्थितिलाई झापा कांग्रेसको अनुहार हेर्दा विशाल भेला भन्न लाज मान्नुहुन्न । ३६१२ क्षेत्रिय प्रतिनिधि मध्ये १८६३ को उपस्थितिलाई गणतान्त्रिक युगको कांग्रेस संगठनको अर्काे कोसेढुंगा भन्दा फरक नपर्ला ।
३९ अत्यावश्यक वरिष्ठ कांग्रेसलाई मञ्चमा आसन ग्रहण अनि लगभग ५०० लाई यथास्थानमा आसन ग्रहण गराएपछि उद्घोषकको मोबाइल अफ गर्ने उर्दीसहित ‘मोबाइल बजे ठिक हुने छैन’ भन्ने उद्घोषबाट वरिष्ठलाई खादा अर्पणपछि बीपीको तस्विरमा माल्यार्पण, मौन धारण, राष्ट्रगान आदि कर्मकाण्ड पूरा गर्दै स्वागत भाषणसहित प्रतिवेदन पढ्न उपस्थित उपसभापतिको प्रतिवेदन सुन्दा लाग्दथ्यो कि, झापा कांग्रेसले रामराज्यलाई समेत पछि पारेको छ ।
प्रतिवेदनमा प्रजातान्त्रिक आन्दोलनका ब्रह्मलीन योद्धाको नामप्रति श्रद्धासुमन व्यक्त गर्नु सकारात्मक पक्ष थियो । व्यवहारमा उल्टो भएपनि कागजी श्रद्धासुमनबाट ती योद्धाका सन्ततिले क्षणिक राहत महसूस गरे नै होलान् । तर जीवित कांग्रेसको नाम लिने क्रममा २०४६ मा आन्दोलनरत कांग्रेसउपर पुलिस लगाएर डण्डा वर्षाउने पात्र देखिँदा कांग्रेसी अगुवाइमा मेचीपुल आन्दोलनका नामले चर्चित पञ्चायतविरोधी संघर्षमा ४÷४ वर्ष जेल जीवन बिताउने वर्तमान महामन्त्रीका साख्खै काका धुलाबारी निवासी याम भण्डारी र भद्रपुरनिवासी दिव्य भुर्तेल स्यालको सिङझैँ गायब भए । २०२७ सालमै पञ्यातविरोधी पर्चा छर्दा बैंकको जागिर खुस्काएर कांग्रेस जप्दै बसेका रामप्रसाद तिम्सिना र गोपाल भुर्तेल त अहिलेका खोरेत कांग्रेसले चिन्ने कुरै भएन । राजगढका हेमकुमार थापादेखि सकुनी पीडित ज्ञात-अज्ञात योद्धा स्मरणको अभाव प्रष्ट झल्किने त्यस प्रतिवेदनका लेखक कुनै खोरेत कांग्रेस थिए या प्रतिवेदनका निर्देशक झापाली ‘सिमभञ्याङ’ थिए, यसमा दुइमत छैन ।
खैर, सम्मेलन नामको कर्मकाण्ड पूरा गर्नु थियो– गरियो, सकियो । तर यस सम्मेलन नामक कर्मकाण्डमा दुई कुराको खासखुस चर्चा चल्यो ।
वर्तमान निर्वाचित महामन्त्री, विशिष्ट अतिथि अनि पूर्व मनोनित महामन्त्री, प्रमुख अतिथि नौलो नौटंकी थियो । यो नौटंकी कुन विधान अन्तर्गत थियो ? अन्योल देखियो । जवाफ कसैसँग थिएन । सबै खासखुसमै सीमित थिए । कौतुहल जाग्यो । जिज्ञासा मेटाउन आधिकारिक कांग्रेस, जिल्ला सचिवसमक्ष पुगेँ । ‘हुन त वर्तमान महामन्त्री नै हुनुपर्ने हो तर सिनियारिटीको आधारमा निवर्तमानलाई नै बनाएको रे’ उनको जवाफमा मैले थपेँ– ‘सिनियर नै खोज्ने हो भने त, विर्तामोडको सिटीचालक, बुढो कांग्रेस पनि भेटिन्थ्यो होला नि भाइ ? कांग्रेस चैँ खैनीकै पुरिया बनायौ । विधानमा यही छ ?’
‘तपाईंकै महामन्त्रीले दाइलाई बनाउनु भनेपछि हामीले के गर्नु ?’
उनको भोल्युम अलि बढ्यो । मैले पुनः चिमोटेँ– ‘भाइको उदारता हो कि दाइको याचना हो, भाइ ?’
‘त्यो चैँ मलाई थाहा भएन’, उनी पन्छिए ।
अर्काे चर्चाको विषय थियो ः कुमार बुढाथोकीको अनुपस्थिति ।
सचिवलाई नै सोधेँ– कुमार दाइलाई निम्तो थिएन भाइ ?
केन्द्रिय सदस्यलाई बोलाउने जिम्मा सभापति आफैले लिनुभएको छ । वहाँलाई नै थाहा होला । केन्द्रिय सदस्य नबोलाउने त कुरै भएन नि । बोलाएको होला । सरिता र उमाकान्त चाहिँ नभ्याउने रे ।
सभापतिसमक्ष यही जिज्ञासा राखियो ।
मैले नै फोन गरेर बोलाएको हो नि । केन्द्रिय सदस्यलाई नबोलाउने कुरै भएन नि ।
‘तपाईंले आफैँ फोन गरेको हो ?’ मेरो प्रश्नमा उहाँको ‘हो’पछि म बोलेँ– हिजो बेलुकासम्म म कुमार दाइकै घरमा थिएँ । उहालाई बोलाइएको छैन, मलाई गफ दिने ?
सभापतिले रहस्यको पोको खोल्नुभयो– अस्ति केन्द्रिय समितिको मिटिङमा आन्द्राभुडी खोतलेर भाँडभैलो गर्नुभयो । यहाँपनि त्यहि दोहो¥याउन किन बोलाउनु ? यसबारेमा पछि छलफल गरौँला । उहाँ पनि हराउनुभयो ।
सभापतिको जवाफले चकित बनायो । केन्द्रिय समितिमा कुमार बुढाथोकीले कस्को आन्द्राभुँडी खोतले र कसरी भाँडभैलो मच्चाए ? गल्ति-कमजोरी औँल्याउनु कसरी भाँडभैलो हुन्छ ? कुनै समय ‘लिम्बुको छोरो सभापति बनाएर इतिहास रच्ने’ उद्घोषका साथ बुढाथोकी मैदानमा नउत्रेका भए हालका सभापति राजनीतिबाट पलायन भएर पुरानै व्यवसायमा फर्किने सम्भावना प्रवल थियो । आफूलाई जन्म दिने बाबुलाई कुनै छोराले वृद्धाश्रम पठाउँदैन तर स्वास्नीको दबाब थेग्न नसक्दा निरीह भएर पठाएको हाम्रै समाजमा देख्न सकिन्छ । सभापतिका लागि पनि यस्तै दवाब आएको हुनसक्छ । नत्र बुढाथोकीको ऋण तिर्न यति हतार गर्नु जरुरी थिएन । यसअघिका सभापतिलाई पनि यहाँसम्म ल्याउन बुढाथोकीको ठुलो हात रहेको कुरा शनिश्चरे चोकमा खैनी मोल्दै बसेका धेरै हरामी कांग्रेसहरू बताउँछन्, जो जगजाहेर छ । आज तिनै पात्रहरु आफ्नै अन्नदाता (गडफादर) वृद्धाश्रम पठाउन सक्रिय छन् । यो सक्रियता आफ्नै मस्तिस्कको उपज हो या कसैबाट निर्देशित हो ? बिस्तारै खुल्दै जाला ।
तर एउटा कौतुहलता भने जीवितै छ- वर्षाैंदेखि आफ्नो खेदो खन्ने वर्तमान निर्वाचित महामन्त्रीले विधानत मर्यादा क्रमअनुसार आफू प्रमुख हुनुपर्ने समारोह किन मनोनित पूर्व महामन्त्रीलाई सुम्पे ? वर्तमान महामन्त्रीले पदिय हैसियत नबुझेका हुन् या थेग्न नसकेका हुन् ? या पूर्व महामन्त्रीको आफू प्रमुख अतिथि बन्ने याचनाका अघि दानवीर कर्ण बनेका हुन् ? बुझीनसक्नु छ । यसलाई कसैले मेलमिलापको नीतिसँग जोडेर जित्न पनि खोज्लान् । हुन त ब्लेडले दुईतिरबाट काट्छ । पूर्व महामन्त्री चार तिरबाट काट्नुहुन्छ भने वर्तमान महामन्त्री आठ तिरबाट काट्न खप्पिस हुनुहुन्छ । चार तिरबाट काट्ने र आठ तिरबाट काट्नेको समिकरण भेलामा कुमार बुढाथोकी कसको इशारामा काटिए ? रहस्य खुल्दै जाला ।
तर केन्द्रमा भाँडभैलो मच्चाएको आरोप लाएर निषेधको राजनीति गर्ने खोरेत मस्तिष्कले यो बुझ्नु जरुरी छ कि कुमार बुढाथोकी नामक सुनारले कांग्रेस आभुषण निर्माण खातिर हथौडा हानेका हुन् । त्यो हथौडालाई दुश्मन देख्ने सुन कहिल्यै आभुषण बन्न सक्दैन । वर्षाैंदेखि निषेधको राजनीतिमा लिप्त खोरेत मस्तिस्कले बुझ्नुपर्ने अर्काे कुरा- कुमार बुढाथोकीलाई यस्ता झिनामसिना निषेधले कुनै असर गर्दैन । बाघ बुढो भएपनि पञ्जा हान्न सिपालु हुन्छ र उसको पञ्जा खतरनाक हुन्छ, जुन यहाँका खोरेत कांग्रेसका लागि गलपासो बन्न सक्छ ।
कोशीबाट सुरु भएको विद्रोहकोे झिल्को झापामा ज्वाला बनेर निस्किन बेर छैन । यसलाई कुमार बुढाथोकीप्रतिको चाकडी नबुझी सतर्कता संकेत बुझे उत्तम !
हुन त झापाका खोरेत कांग्रेसलाई जति पढाए पनि बुझ्ने–सोह्र दुना आठ त हो नि । हैन र ?
प्रतिक्रिया