दशैँमा देवीकै आराधना किन ?

दशैँमा देवीकै आराधना किन ?


पुरुषप्रधान समाजमा महिला-शक्तिको आराधना

देवीको पूजा गर्नुको अर्थ स्त्रीशक्तिको सम्मान हो । हाम्रो जस्तो ‘मास्क्युलिन सोसाइटी’मा ‘फेमिनिन पावर’को उपासना आफैमा रोचक पक्ष हो । नवरात्रीको पूजा/अर्चनाले एउटा छुट्टै परिवेशको निर्माण गर्ने गरेको छ, जुन दशैँको सबैभन्दा सुन्दर र सवल पक्ष हो ।
✍ बबिता बस्नेत

सनातन हिन्दु धर्म-संस्कृतिमा राम्रा कुरा धेरै छन्, त्यसमध्येको एक हो देवीको रूपमा महिला शक्तिको उपासना । दुर्गा, लक्ष्मी, सरस्वती आ-आफ्नो क्षेत्रमा सबैभन्दा शक्तिशाली छन् । दुर्गा शक्तिकी प्रतीक, लक्ष्मी धन सम्पत्ति र सरस्वती विद्याकी प्रतीक, विभिन्न देवी र भगवतीको रूपमा महिला शक्तिको आराधना गर्ने गरिएको छ । नवरात्रीलाई शक्ति उपासनाको एउटा महत्वपूर्ण समय मानिन्छ । शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, मातागौरी, सिद्धिदात्री गरी नौ देवी/भगवतीको आराधनाका लागि प्रत्येक दिन छुट्याएर नवरात्री मनाउने गरिएको छ । सबैभन्दा बढी पुजिने देवी दुर्गा हुन्, जसका नाममा वर्षको नौ दिन छुट्याएर नवदुर्गाको पूजा त गरिन्छ नै अन्य समयमा पनि आ-आफ्नै तवरले पूजा/अर्चना गरिन्छ ।

दशैँमा धेरै कुरा गरिन्छ, मिठो खाने, राम्रो लाउने, आफन्तसँगको भेटघाट ठुलाबडाको आशीर्वाद, एउटा छुट्टै माहौल । यति हुँदाहुँदै पनि लैङ्गिक दृष्टिकोणले हेर्दा दशैँको सबैभन्दा सशक्त पक्ष महिला शक्तिको पूजा/अर्चना नै हो । देवीको पूजा गर्नुको अर्थ स्त्रीशक्तिको सम्मान हो । हाम्रो जस्तो ‘मास्क्युलिन सोसाइटी’मा ‘फेमिनिन पावर’को उपासना आफैमा रोचक पक्ष हो । नवरात्रीको पूजा/अर्चनाले एउटा छुट्टै परिवेशको निर्माण गर्ने गरेको छ, जुन दशैँको सबैभन्दा सुन्दर र सवल पक्ष हो ।

नवरात्रीको पूजा नेपाल, भारतलगायत विश्वभरी छरिएर रहेका हिन्दुहरूले गर्छन् । नेपाल र भारत दुवै मुलुकको समाज पुरुषप्रधान छ । पुरुषप्रधान समाजमा महिला शक्तिको उपासना किन गरियो, गरिन्छ होला ? यो प्रश्न सानैदेखि मनमा आउने गरेको भएपनि कुरा बुझ्दै जाँदा जवाफको अन्दाज भने बल्ल पाउन थालिएको छ । पूजा महिलाको नभएर शक्तिको गरिएको हो । महिला, पुरुष या यौनिक तथा लैङ्गिक अल्पसंख्यक जो भएपनि ब्यक्तिभन्दा शक्तिलाई हिजो महत्वपूर्ण ठानिएको, मानिएको थियो र आज पनि ठान्ने र मान्ने गरिएको छ ।

हामीकहाँ महिलाहरू हेपिनुको कारण महिला भएर भन्दा बढी शक्तिशाली नभएका कारणले हो । समस्या महिलासँग नभएर शक्तिसँग सम्बन्धित छ । दशैँमा महिला शक्तिको उपासना शक्तिसँगै जोडिएको छ । देवलोकमा एकसेएक पुरुष भगवान् हुँदाहुँदै दुर्गाकै आरधना किन गरियो ? किनभने, दुर्गा ति पुरुष भगवानहरू भन्दा शक्तिशाली थिइन् ।

नवरात्रीसँग जोडिएको कथाले शक्ति सम्बन्ध र शक्तिको जयजयकारलाई पुष्टि गर्छ । कथा यस्तो छ- ‘महिषासुर नामको एक राक्षस थियो, जसले लामो तपस्या गरेर सृष्टीकर्ता ब्रम्हाजीबाट कहिल्यै नमर्ने बरदान पाएको थियो । जे गरेपनि आफू अमर हुने भएपछि राक्षसको अत्याचार बढ्न थाल्यो । देवताहरूमाथि राक्षसको आक्रमण बढ्दै जाँदा देवलोकमा कोकोहोलो मच्चियो । देवताहरूले भएभरको शक्ति लाउँदा पनि महिषासुरलाई मार्न सकेनन्, अति भएपछि देवताहरूले ब्रम्हाजीसँग बरदान फिर्ता लिन अनुरोध गरे । देवताहरूको आग्रहलाई स्वीकार गर्दै ब्रम्हाजीले दुर्गा नामकी यस्ती देवीको सिर्जना गर्नुभयो जोसँग गधा, त्रिशुल, धनुषवाण सारा सश्त्रअस्त्र थियो । राम्री महिला आफूसामु देखेर महिषासुरले विवाहको प्रस्ताव राख्यो । दुर्गाले आफूसँग लड्ने र युद्ध जित्नुपर्ने प्रस्ताव राखेपछि महिषासुर र दुर्गाको लडाइँ सुरु भयो । युद्ध नौ दिनसम्म चल्यो, नवौँ दिन कालरात्रीमा दुर्गाको हातबाट राक्षसको मृत्यु भयो । त्यस्तो भयानक राक्षसलाई मारेर आफूहरूको ज्यान बचाएकोमा देवताहरूले दुर्गा देवीको जयजयकार गरे । सोही बेलादेखि नवरात्रीको रूपमा दुर्गा भवानीको पूजाआजा गर्ने गरियो र दशमीको दिन एकार्कामा टिका आदानप्रदान गरि खुशीयाली मनाउन थालियो ।’

नवरात्रीको कथाले सश्त्रअस्त्र अर्थात् शक्ति सम्पन्न भए महिलाले विजय हासिल गर्नसक्छन् भन्ने सन्देश दिएको छ । ब्रम्हाले राक्षसी गुणलाई परास्त गर्न सुझबुझपूर्ण शक्तिशाली महिलाको परिकल्पना गर्नुभएको थियो । अहिले हाम्रो परिवेशमा पनि असुरहरूको कमी छैन । राक्षसी गुण भएका मानिसहरूको कारण नै मुलुकमा हुनुपर्ने धेरै कुरा हुन सकेका छैनन् । कालरात्रीको अर्थ मृत्युको रात पनि हो । असुर प्रवृत्तिलाई परास्त गर्दै सुशासन कायम गर्न अहिले पनि दुर्गाको आवश्यकता छ । यस्तो शक्ति जसले भइरहेका बेथितिको अन्त्य गरोस् । समाज पितृसत्तात्मक भएपनि शक्तिशाली भए पूजा महिलाको पनि त्यत्तिकै गरिन्छ । उदाहरणका लागि इन्दिरा गान्धीलाई लिन सकिन्छ । इन्दिरा गान्धी कुनैबेला यति शक्तिशाली थिइन् कि उनलाई अहिलेसम्म पनि भारतमाता भन्ने गरिन्छ । महिला भएको कारणले नभइ शक्तिशाली महिला भएका कारणले उनको गुणगान गाइएको हो ।

हामीकहाँ महिलाहरू हेपिनुको कारण महिला भएर भन्दा बढी शक्तिशाली नभएका कारणले हो । समस्या महिलासँग नभएर शक्तिसँग सम्बन्धित छ । दशैँमा महिला शक्तिको उपासना शक्तिसँगै जोडिएको छ । देवलोकमा एकसेएक पुरुष भगवान् हुँदाहुँदै दुर्गाकै आरधना किन गरियो ? किनभने, दुर्गा ति पुरुष भगवान्हरू भन्दा शक्तिशाली थिइन् । त्यतिबेलाको शक्ति मर्नु/मार्नुमा केन्द्रित थियो, अहिलेको शक्ति आफ्नोपछाडि समर्थकहरूको भीड लाउन सक्नुमा परिणत भएको छ । भीडकै कारण प्रजातन्त्र आयो, भीडकै कारण राजसंस्था गयो, मानिसको जमात बढ्दै जाँदा माओवादी युद्ध अगाडि बढ्यो र त्यही जमात देखेर राज्यमा रहेकाहरूले अनेक सम्झौता गर्दै अहिलेको परिस्थितिमा पुगेको छ । अब सही मानिसलाई मतदान गर्ने भीड यो देशलाई चाहिएको छ जसले सुर र असुरलाई छुट्याएर सही मान्छे चुन्न सकोस् ।

हिन्दु धर्मले दुर्गा मात्र नभइ सबै देवीहरूलाई निडर र शक्तिशाली परिकल्पना गरेको छ, मानेको छ । प्रायः देवीहरू टाढाटाढा भीरपाखा, डाँडाकाँडा, खोचमा एक्लै बस्छन्, पुरुष देवताहरूलाई एक्लै देखिँदैन ।

हिन्दु धर्मले दुर्गा मात्र नभइ सबै देवीहरूलाई निडर र शक्तिशाली परिकल्पना गरेको छ, मानेको छ । प्रायः देवीहरू टाढाटाढा भीरपाखा, डाँडाकाँडा, खोचमा एक्लै बस्छन्, पुरुष देवताहरूलाई एक्लै देखिँदैन । महिला देवताहरू (देवीहरू) एक्लै र पुरुष देवताहरू जोडी देखिनुको कारण जस्ताको तस्तै बुझ्न नसकेपनि महिलाको एकल जीवन भगवानको पालादेखि नै थियो भनी अनुमान भने गर्न सकिन्छ । शिवजीलाई पार्वतीसँग देखिन्छ, बिष्णु, गणेश, राम, कृष्ण, हनुमानजी बाहेक धेरैजसो पुरुष देवताहरू सपत्नी देखिएपनि देवीहरूमा त्यस्तो देखिदैन । बिन्दबासिनी, बाग्लुङ कालिका, दक्षिणकाली, पाथीभारा, नवरात्रीका नवदेवीहरू, देउती बज्यै, बडीमालिका, पलाञ्चोक भगवती, कामाख्या प्रायः सबै नै एक्लै छन् । यसबाट के बुझिन्छ भने महिलाहरू सशक्त थिए, एक्लै पनि बस्न सक्थे । उनीहरूको आफ्नै अस्तित्व थियो, सार्वजनिक जीवन पनि त्यतिबेलादेखि नै थियो । मानिसहरू भेट्न जाने, पूजा गर्ने, भीडले मान्ने सार्वजनिक जीवन नै त हो ।

देवी र देवतामा अर्को भिन्नता के पनि देखिन्छ भने देवीहरूले भोग खान्छन् तर देवताहरूले बली भोग खाँदैनन् । यस्तो किन भयो ? खासै चित्तबुझ्दो जवाफ भेट्न सकिएको छैन । जे होस्, अहिले भइरहेको शक्तिको आराधना ‘पावर गेन’ मात्र नभइ ‘पावर गेम’का लागि पनि हो । सत्ता चलखेलका निम्ति मात्र नभइ आफू सशक्त भइ मुलकलाई सही दिशा दिनका लागि नवदुर्गाको आराधना गरौँ । आधुनिक असुरहरूसँग लड्न/भिड्नका लागि हाम्रा दिदीबैनी र छोरीहरूलाई सशक्त बनाऔँ ।