च्याब्रुङ धाननाच : संरक्षण अभियानमा पाँचथरे युवा

च्याब्रुङ धाननाच : संरक्षण अभियानमा पाँचथरे युवा


  • सुरेन्द्र सुवेदी, पाँचथर

पछिल्लो समय मौलिक संस्कृति लोपोन्मुख छ । यही मेसोमा पाँचथरका लिम्बू युवायुवति भने परम्परागत संस्कृति संरक्षणमा अभियान नै सञ्चालनमा जुटेका छन् । केलाङ सांस्कृतिक समाज गठन गरेर यहाँका युवायुवति अभियानतर्फ मोडिएका हुन् ।

समाजका अध्यक्ष मनकुमार केरुङका अनुसार यो संस्कृति संरक्षण कार्यमा झण्डै २ सय युवायुवती आवद्ध भइसकेका छन् । उनीहरुले लिम्बू संस्कारको च्याब्रङ बाजा र धाननाचलाई साथसाथ लिएर संरक्षण कार्य गरिरेको समाजकी सदस्य सेसेहाङ सेवा लिम्बूले बताइन् । उनीका अनुसार चिङकुमार राई, ताङछोना नेम्बाङ, सुनम नेम्बाङजस्ता माध्यमिक र उच्च माध्यमिक तहमा पढ्दै गरेका बालबालिकादेखि युवासम्म च्याब्रुङ बजाउँदै धान नाच्न सिपालु भइसकेका छन् ।

यहाँको समाजका सदस्यहरु जिल्लाकै फालेलुङ, याङनाम, थर्पु, सुनसरीको धरान, ताप्लेजुङ, झापा, इलामसम्म पुगेर नाच र बाजा प्रस्तृत गरिसकेका छन् । ‘मौलिक संस्कृतिको संरक्षण गर्दै सबै जातजातिको संस्कार सम्मान गर्ने’ उदेश्य लिएको समाजले पाँचथरमा मात्र १ सय ४६ थरका लिम्बू रहेको र तिनीहरुको संस्कार जोगाउनकै लागि समाज गठन गरेको अध्यक्ष केरुङको भनाइ छ ।

यो समाजलाई स्थानीय तहहरुले केही आर्थिक सहयोग पनि गर्न थालेका छन् । समाज दर्ता गर्दा लाग्ने खर्चदेखि धार्मिक तथा परम्परागत अवसरमा बाजा र नाच प्रस्तुत गर्न जँदा केही सहयोग पाउने गरेको समाज जनाउँछ । फिदिम–४ ले समाजलाई १ लाख आर्थिक सहयोग गरिसकेको छ भने त्यो रकमले समाजले आवश्यक सांस्कृतिक बाजाहरु खरिद गरेको छ ।

पूर्वमा सकृय रहेको यो समाजलाई महोत्सव, धार्मिक मेलाहरुमा निम्तो दिएर उनीहरुको कला प्रस्तृत गर्न थालिको छ । समाजमा लिम्बूबाहेक राई, नेवार, खवास जातका युवायुवति पनि सदस्य बन्न थालेका छन् ।