त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी

त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी


त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गऱ्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४० बल खेल्दै पाँच चौकाको मद्दतमा अविजित ५१ रन जोडेका हुन् । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए ।

बलिङतर्फ युएईका निलन्स केशवानी र अलि नसिरले समान एक एक विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो ।

युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा ३ चौका र १ छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । कप्तान मोहम्मद वासिमले १७ रन जोड्दा आसिफ खानले १५ रन बनाए ।

युएईलाई एक सय ४० रनमा समेट्नेक्रममा नेपालका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै गुल्सन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल बिहीबार हङ्कङसँग खेल्दैछ ।