राजधानीका ११ स्थानमा पशु-स्वास्थ्य परीक्षण

राजधानीका ११ स्थानमा पशु-स्वास्थ्य परीक्षण


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पशु स्वास्थ्य विभागले दशैंमा काटिने पशुहरुको स्वास्थ्य परीक्षण गर्न थालेको छ । राजधानी भित्रने नाकाहरुमा परीक्षण सुरु गरिएको विभागले जनाएको छ ।

दशैंको ९ दिनसम्म उपत्यकाका कलंकी खसीबजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका र चाल्नाखेल राँगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु वाइपास नाकामा यस्तो परीक्षण भइरहेको छ ।

यस्तै लगनखेल, धापाखेल आकाशे धारा/सुकेधारा र चन्द्रागिरी (थानकोट) दाउरा डिपो, दहचोक मूलपानीचौर खसीबजारमा होल्डिङ्ग तथा सङ्कलन भएका पशुपन्छीको स्वास्थ्य परीक्षण भइरहेको हो ।

पशुको खरिदबिक्री हुने स्थानमा पशु स्वास्थ्यकर्मी परिचालन गरी क्लिनिकल परीक्षण गर्ने, स्वस्थ पशुलाई हरियो रंग र रोगी पशुलाई रातो रङ्गले सङ्केत गर्ने व्यवस्था मिलाउने, रोगी पशुको उपचारको व्यवस्था गर्ने, आवश्यकताअनुसार रोग निदानका लागि नमूना सङ्कलन र परीक्षण गर्ने काम भइरहेको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताए ।
गत वर्ष घटस्थापनादेखि महानवमीसम्म करिव ५४ हजार जिउँदा पशु काठमाडौं भित्रिएका थिए । खसीबोका, च्याङ्ग्रा र राँगाको संख्या क्रमशः ५१ हजार, २ हजार ५ सय र ५ सय आपूर्ति भएको भएको थियो ।

गत वर्षजस्तै यो वर्ष पनि पशुपन्छी बजारमा स्वास्थ्य परीक्षणसमेत गर्न ११ स्थान र आसपासका बजारमासमेत पशु चिकित्सकसहितको टोली परिचालन गरिएको हो । यो वर्ष करिव ६० हजार पशु काटिने अनुमान छ ।

दशैं, तिहार र छठमा पशुजन्य पदार्थको माग अत्यधिक हुने भएकोले उपभोक्तालाई स्वच्छ, स्वस्थ एवं गुणस्तरीय पशुजन्य पदार्थको उपलब्धता सुनिश्चित गर्न उपभोक्ता पनि सचेत हुनुपर्ने विभागका अधिकारीहरु बताउँछन् ।

देशका अन्य स्थानमा पनि पशुपन्छीको स्वास्थ्य परीक्षण, पशुजन्य पदार्थको आवश्यकताअनुसार नमूना सङ्कलन, रोग निदान र उपचारमा सहयोग गर्ने काम भइरहेको पशु चिकित्सक डा चन्द्र ढकाल बताउँछन् ।

विभागले स्वस्थ्य, फूर्तिला पशुपन्छी बधका लागि छनौट गर्न, सफा स्थानमा पशुपन्छीको वध गर्न, मासु काट्ने व्यक्तिले मासु काट्नुअघि र मासु काटिसकेपछि सावुन पानीले राम्ररी हातखुट्टा धुन, मासु तयार गर्दा सफा पानीको प्रयोग गर्न र मासु र आन्द्राभुँडी नमिसाई अलग्गै राखेर प्रयोग गर्न अपील गरेको छ ।

यस्तै मासु डिप फ्रिजमा भण्डारण गर्न, पशु किनबेच हुने स्थान सफा राख्न, मासु काट्ने अचानो, तौलने तराजु सफा प्रयोग गर्न र मासु पूरै पाकेपछिमात्र खान उपभोक्तालाई विभागले आग्रह गरेको छ ।