दशैँ वेदना !

दशैँ वेदना !


✍ आचार्य प्रभा

सधैं आएकै हो दशैँ
परापूर्वकालदेखि नै
फरक यति हो, विगतमा दशैँ
पारिवारिक मिलनको मिठो बाहाना
बनेर आउँथ्यो
वृद्धवृद्धाको आशीर्वाद बनेरआउँथ्यो
मसिना शिशुहरूको
नयाँ नानाको रहर बनेर आउँथ्यो
परदेशीको घर फर्किने साइत बनेर आउँथ्यो
तर अचेल दशैँ न खुशीको मुस्कान बनेर आउँछ
न भेट्घाटको अवसर बनेर आउँछ
बस् दशैँ आउँछ,
केवल मनमा बिझाउने काँडा बनेर आउँछ।

समय बद्लियो,
मौसम पनि फेरिए झैं लाग्छ
विगतमा घरका वरिपरि सयपत्री, गोदावरी
ढकमक्क फुलेर दशैँको स्वागतमा
मुस्काइरहेका हुन्थे
घर घरमा लिपपोत र सरसफाइको
होडबाजी चल्दथ्यो !

तर यो समय ?
ती ढकमक्क फूल फुलाउने हातहरु
कसैको गुलामी गर्न पाखा लागेका छन्
घर लिपपोत गर्ने हातहरु पनि
प्रवासकै भित्ता टाल्न परदेशिएका छन्
आँगन रित्तो छ,
चारैतिर भत्किएको भित्तामा केवल
माकुराका जालोहरु छन्
घर घरमा अशक्त बा-आमाहरु
मनभरी सन्तानलाई दिने आशीर्वाद च्यापेर
बुढो खोकी खोक्दै
झोक्राइरहेछन् !

बस… समयको घनचक्करमा पिसिएर
दशैँ पनि आफैमा लज्जित छ
किनकि नियतिले सबैलाई ठगेको छ
आफ्नो चाडबाड भनेर घरमै सीमित रहने
अनि दशैँको खुशियाली बाँड्ने
खुशीका पलहरुलाई
सबैबाट पन्साएको छ
सायद परिस्थिति, समयको खेलले होला
दशैँ अचेल मात्र मिठो सम्झनाको
असह्य वेदना बनेर आइरहेको छ।