यस्तो छ कलाकारहरूको दशैँ तयारी

यस्तो छ कलाकारहरूको दशैँ तयारी


घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दशैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दशैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दशैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन् ।

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दशैँलाई भेटघाटका रूपमा सदुपयोग गर्छन् । उनी यसपटक चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को प्रदर्शनका कारण काठमाडौंमै दशैँ मनाउँदै छन् । तर अघिल्ला वर्षहरूमा उनी स्याङ्जा पुग्ने गर्थे । ‘मेरो लागि दशैँ साथीभाइसँगै आफन्तसँग भेट्ने चाड हो । बाल्यकालमा दक्षिणा र खानपानको लोभ हुन्थ्यो । अहिले भेट्ने र कुराकानी गर्ने लोभ हुन्छ’, अभिनेता लामिछानेले भने ।

अभिनेत्री केकी अधिकारी यसपटक चलचित्र ‘परदेशी २’ को प्रचारप्रसारमै छिन् । उनी मोफसल भ्रमणमा रहेता पनि दशैँ काठमाडौंमा मनाउने तयारीमा छिन् । यद्यपि टीकाबाहेकका समयमा मिलेसम्म दर्शकसँग चलचित्र भवनमा भेटघाट गर्ने केकीको योजना छ ।

‘मैले कलेज जीवनदेखि नै काम गरेकाले दशैँ भेटघाट र परिवारसँग बस्ने चाड भएका कारण मेरा लागि खास छ । केही वर्ष कोरोना र विविध कारणले परिवारलाई धेरै समय दिएकी थिएँ । यसपटक चलचित्रका परिवार र दर्शकसँग दशैँमा बढी हुनेछु । साथै ठूलासँग टीका लगाउने त छ नै’, अभिनेत्री अधिकारीले भनिन् ।

अभिनेता विपीन कार्की यसपटक सुनसरीमा घर गएर दशैँ मनाउने तयारीमा छन् । उनको पात्र ‘भष्मे डन’लाई लिएर तयार गरिएको ‘पशुपति प्रसाद २ : भष्मे डन’कै प्रचार–प्रसारमा व्यस्त भएपनि उनले घर पुग्ने बताए । खगेन्द्रले भने- ‘अहिले मिडियाकर्मीसँग भेटघाट भइरहेको छ । म टीका अगाडि नै घर पुगेर एकसाता बिताउने योजना छ । किनकि पूर्णिमालगत्तै नयाँ चलचित्र महाजात्राको छायाँङ्कनमा व्यस्त हुनेछु ।’

दशैँसँग उनको धेरै सम्झना जोडिएको छ । दशैँमा टीका लगाउने र दक्षिणालाई चलचित्र हेर्नमा प्रयोग गर्ने बाल्यकालको स्मरण उनको छ । ‘सानो छँदा दशैँकै आसपासमा खुट्टामा घुँडा तल अलिकति काटिएको थियो । दशैँमा मामाघर जाने र दक्षिण पाउने जोशमा साइकल चढेर पुगेँ । घर आएपछि खुट्टा सुनिएर हस्पिटल नै पुग्नुपरेको थियो । दशैँ मेरो लागि बाल्यकालदेखि नै खास छ’- अभिनेता कार्कीले भने ।

हास्यकलाकार शिवशङ्कर रिजाल कार्यक्रमको दौडधुपलाई विश्राम दिएर दशैँ मनाउने तयारीमा छन् । नेपाल सांस्कृतिक महासङ्घको महामन्त्री भएकाले पनि जिल्ला अधिवेशनको दौडधुपबाट दशैँमा विश्राम मिल्ने उनले बताए । ‘मेरो दशैँ आमा र मामाको हातबाट टीका लगाएर हुने गरेको छ । म सम्भव भएसम्म आफूले मान्नुपर्ने अग्रजकहाँ पुगेर आशीर्वाद लिने गरेको छु । दशैँकै बेलामा पुख्र्यौली घर सर्लाही पनि पुग्नेछु’, हाँस्यकलाकार रिजालले भने ।

कलाकार पनि अन्यझैँ दशैँलाई आफन्त र साथीभाइसँग भेटघाट गरेर मनाउने तयारीमा छन् । दशैँ नहुने केही कलाकर्मीले घुमघामको योजना बनाएका छन् ।