विश्व-आतंकवादबाट पिल्सिएका हामी नेपाली

विश्व-आतंकवादबाट पिल्सिएका हामी नेपाली


असुरक्षित देश इजरायलमा धेरै वर्षदेखि बसिरहेका नेपालीहरु पनि युद्धभूमिसँग अभ्यस्त भइसकेका छन् । आँखाअगाडि रकेट प्रहारबाट भवन जलिरहँदा पनि ‘हामी सुरक्षित छौँ, चिन्ता लिनु पर्दैन’ भन्दै नेपालमा परिवारलाई फोन गरिरहेका हुन्छन् । हामी देशको अवस्थाबाट यति दिक्क भइसकेका छौँ कि हत्केलामा मृत्यु बोकेर पनि पराइ देशमा रमाउन बाध्य भएका छौँ ।
✍ सुनिल उलक

यहूदी र प्यालेस्टाइनीहरुको समस्या आजको होइन । इशापूर्व २००० मा कानानाइट सभ्यताको शुरुवात भएको थियो । यही सभ्यताको शुरुवात भएको ठाउँ पछि यहूदीहरुको वासस्थान हुनपुग्यो, जहाँ यहूदीहरुले इजरायल राज्यको स्थापना गरेका थिए ।

इश्वी सम्वतको दोश्रो शताव्दीतिर यो राज्यमा रोम साम्राज्यको आक्रमण भयो र रोमन साम्राज्यमा बिलिन भयो । यहूदीहरु धेरै मारिए, कतिपय बाँचेकाहरु पनि दासका रुपमा रोमनहरुले लिएर गए । बिसौँ शताव्दीको शुरुवाततिर यस क्षेत्रमा रहेको ओटोमन साम्राज्यको हार भएपछि बेलायतले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएर राज्य गर्न थाल्यो । पहिलो विश्व युद्धको समाप्तीसँगै यहुदीहरु प्यालेस्टाइनमा आउन थाले । दोश्रो विश्वयुद्धको शुरुवातसँगै यूरोपको अधिकांश देशमा हिटलरको आतंक फैलियो । यही समय हिटलरले यहूदीलाई विश्वबाटै निर्मुल गर्ने प्रयास गरे । होलोकाष्टका नाममा शुरु भएको नरसंहारमा हिटलरले यूरोपमा रहेका ६० लाख यहूदीलाई मारेको अनुमान गरिन्छ । हिटलरले त्यतिबेला भन्ने गर्दथे, यहूदीहरु परिजीवी हुन् जो केवल अर्काको शरिरमा बाँच्न खोज्दछन् ।

दोश्रो विश्वयुद्धको समाप्तिपछि सन् १९४७ मा संयुक्त राष्ट्र संघले प्यालेस्टाइनलाई विभाजन गरेर यहूदीहरुका लागि राज्य स्थापनाका लागि मतदान गराइ बहुमतबाट पारित गरायो । सन् १९४८ मा आपसी द्वन्द्व चर्कियो । त्यहाँ तीन वटा समुह यहूदी, अरबी र बेलायतको शासनविरुद्ध लडाइँ हुन थाल्यो । बेलायत यो द्वन्द्वबाट मुक्त हुन बाहिरियो भने अरब र यहूदीको लडाइँ चर्किंदै गयो । शरणार्थीका रुपमा भरिएको गाजा स्ट्रीपमा इजरायलले स्वतन्त्र राष्ट्रको घोषणा गर्दै राज्य बिस्तार गर्न थाल्यो । शरण दिएको राष्ट्र प्यालेस्टाइनको भूभाग बिस्तारै इजरायलको हुँदै गयो ।

यसरी आफ्नो राष्ट्र नै गुम्न थालेपछि इजरायलविरुद्ध लडिरहेको प्यालेस्टाइनीहरु बिस्तारै गलत बाटोतर्फ लागे । गुरिल्ला युद्धका रुपमा आक्रमण गरिरहेको प्यालेस्टाइनीहरु बिस्तारै आतंकवादी बन्न थाले । विभिन्न संगठनका नाम दिएर इजरायलविरुद्ध युद्ध लड्न थाले । यसैमध्य एक संगठनको नाम हो हमास । हमास अहिले प्यालेस्टाइनको सरकार चलाउने स‌ंगठन नै भएको छ ।

यही वर्ष ७ अक्टोवरपछि इजरायल तथा गाजा युद्धभूमि हुन पुगेको छ । यस पटकको हमासको आक्रमणमा इजारायलले ठूलो क्षति ब्यहोर्नुपऱ्यो । यो इजरायलका लागि सह्य थिएन । यसर्थ गाजाविरुद्ध युद्धको घोषणा नै गऱ्यो इजरायलले ।

हमासको आक्रमणमा इजरायलमा अध्ययन गरिरहेका केही नेपालीले जीवन गुमाउन पुगे । केही घाइते अवस्थामा उपचाररत छन् । लगातार भइरहेको लडाइँका कारण नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन शुरु गरिसकेको छ । मृत्यु भएका नेपालीहरुको शव इजरायल सरकारले हस्तान्तरण नगर्दा फिर्ता ल्याउन समस्या भएको छ ।

असुरक्षित देश इजरायलमा धेरै वर्षदेखि बसिरहेका नेपालीहरु पनि युद्धभूमिसँग अभ्यस्त भइसकेका छन् । आँखाअगाडि रकेट प्रहारबाट भवन जलिरहँदा पनि ‘हामी सुरक्षित छौँ, चिन्ता लिनु पर्दैन’ भन्दै नेपालमा परिवारलाई फोन गरिरहेका हुन्छन् । हामी देशको अवस्थाबाट यति दिक्क भइसकेका छौँ कि हत्केलामा मृत्यु बोकेर पनि पराइ देशमा रमाउन बाध्य भएका छौँ ।

इराकमा नेपालीहरुको हत्या भयो । ती सबै मध्यम परिवारका तर ठूलो सपना बोकेका थिए । आज इजरायलमा नेपालीहरुको मृत्यु भयो । ती सबै साधारण परिवारका अनि जिम्मेवारी र सपना ठूलो बोकेका युवा थिए । तर, तिनका सपना कहिल्यै पूरा नहुने भयो ।

दैनिक हजारौँ युवायुवती विदेशिन बाध्य हुँदै गएको छ । एकथरि रोजगारीको खोजीमा जान्छन् । अर्को थरि उच्च शिक्षाको नाममा विदेशिन्छन् । र, तेश्रो समुह देखेर अझ उच्छवास लाग्छ । ती बाबुआमा जो छोराबुहारी र छोरीज्वाइँ विदेशिएका कारणले आफू पनि विदेशिएको हुन्छ । कोही तेलभिसामा छोटो अवधिका लागि भने कोही केयरटेकर झैँ लामो समयका लागि । महावीर पुन त्यसै बौलाउँदैनथे । नेपालमा उद्योग खोलौँ, रोजगारीका अवसर सिर्जना गरौँ । युवा पलायन हुनबाट जोगाऔँ भन्दै यत्तिकै फलाक्दैनथे । स्वदेशको माया ती विदेशीने युवायुवतीलाई मात्र होइन तिनका बाबुआमालाई पनि छैन । कहिले छोराछोरीले बोलाउला र विदेश जाउँला भनेर ‍‍औंला भाँचेर बसिरहन्छ ।

२०६१ भदौ १५ मा १२ नेपाली इराकमा आतंकवादीहरुबाट मारिएका थिए । २०७३ असार ६ मा १२ नेपाली काबुलमा आतंकवादी कृयाकलापबाट मारिएका थिए । २०८० असोज २० मा १० नेपाली (एकको अवस्था अज्ञात) इजरायलमा मारिए । आखिर जहाँ जे जति कारणले मारिएको देखिए पनि अन्ततः नेपालको निकम्मा राजनैतिक खिचातानीले देश घिस्रिन थालेपछि ठूलो सपना बोकेर ऋण खोजेर विदेशीएका नेपाली नै मारिएका हुन् ।