पत्रकार झाको नवीन कृति ‘बाटो पत्रकारिताको’ बजारमा

पत्रकार झाको नवीन कृति ‘बाटो पत्रकारिताको’ बजारमा


तस्बिर : रासस

वरिष्ठ पत्रकार धमेन्द्र झाको नवीन कृति ‘बाटो पत्रकारिताको’ बजारमा आएको छ । आम सञ्चार तथा पत्रकारितालाई केन्द्रीय महत्व दिएर सृजना गरिएको उक्त कृतिको शुक्रबार जनकपुरमा आयोजित एक समारोहमा मधेस प्रदेश मन्त्रिपरिषद्का सबै सदस्यले सामुहिक रुपमा विमोचन गरेसँगै बजारमा आएको हो ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशले प्रकाशन गरेको प्रस्तुत पुस्तकमा छापा तथा प्रसारण पत्रकारिताका आधारभूत सिद्धान्त, श्रव्य संयोजन तथा दृश्य छायाङ्कन एवं सम्पादन, फोटो पत्रकारिताका महत्वपूर्ण पक्षलाई एकीकृत रुपमा प्रस्तुत गरिएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झाको उक्त पुस्तक पत्रकारितालाई पेसा बनाएकाहरुका निम्ति उपयोगी हुनका साथै सञ्चारकर्मी तथा पत्रकारितामा आउन चाहनेलाई सैद्धान्तिक सीप सिकाउन उपयोगी औजार हुने विश्वास मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताउनुभयो । उहाँले दलीय आबद्धता त्यागेर सञ्चारकर्मीले राष्ट्र र जनताका निम्ति कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री यादवले सत्यतथ्यमा आधारित भएर व्यावसायिक पत्रकारिता गर्न प्रस्तुत पुस्तकले मार्गदर्शन गर्ने बताउँदै पत्रकारको दक्षता अभिवृद्धि गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

आमसञ्चार प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणले बितेका एक वर्षमा सम्पादन गरेका कामबारे जानकारी दिँदै सञ्चारगृहलाई सहयोग गर्ने उद्देश्यले व्यवस्था गरिएको लोक कल्याणकारी विज्ञापनका लागि बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो ।

वरिष्ठ पत्रकार झा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हुनुहुन्छ । साहित्यिक फाँटमा उहाँ धर्मेन्द्र विह्वल उपनामले परिचित हुनुहुन्छ । मैथिली साहित्यमा पनि उहाँका विविध रचना प्रकाशन भएका छन् ।