केवल पर्यटकीय स्थल होइन मुस्ताङ !

केवल पर्यटकीय स्थल होइन मुस्ताङ !


मुस्ताङ जिल्ला पर्यटकीय हिसाबले जति महत्वपूर्ण छ, त्यति नै सांस्कृतिक, भौगिलोक, जैविक हिसाबले पनि आकर्षणको केन्द्र रहेको छ ।
✍ भोजराज पाण्डे

मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्व-दक्षिणमा आँखा पर्नासाथ शीरमा लगाएको भादगाउँले टोपी जस्तो चिटिक्क मिलेर सेतै हिउँले ढाकिएर भर्खर विवाह गरेर दुलही घरमा भित्र्याउँदा मुस्कुराइरहेको बेहुलो जस्तो ६९४० मिटर उचाईको निलगिरी हिमाल देख्न सकिन्छ । निलगिरी हिमालको ठ्याक्कै माथिजस्तो देखिने सफा निलो आकाश र यस हिमालको दृश्यले प्रभावित नहुने को होला ? सदरमुकाममा जो-कोहीले पनि पाइला टेक्नेबित्तिकै घाँटीमा भिरेको क्यामेरा होस् वा खल्तीमा रहेको मोबाइल…, पहिलो क्लिक जोमसोमको पूर्वमा सेतै मिलेका दाँत देखाएर मुसुमुसु हाँसेकी सुन्दरी जस्तै अटल अवस्थामा रहेको निलगिरीकै हुने गर्दछ । त्यसमा पनि सदरमुकाम जोमसोमबाट करिब ५ किमि सडकमार्ग र दुई घण्टा पैदल मार्गबाट पुग्न सकिने याराजुङ डाँडामा पुगेर हेर्दा निलगिरी हिमालको सौन्दर्य सायदै मनबाट हराउला !

निलगिरी हिमालको नजिकको गाउँ घरापजोङ गाउँपालिकाको ठिनी र धुम्बा गाउँ हो । धुम्बा र ठिनी गाउँको बीच हुँदै निलगिरी हिमाल नै मुख्य श्रोत भएर ठाडो ठिनी खोला बग्दछ, जुन जोमसोम छेउमा काली गण्डकी नदीमा आएर मिसिन्छ । पहिला तल ठिनीसम्मै हिउँले ढाकिएको हुन्थ्यो । अहिले हिमालकै फेदीसम्म हरियालीले ढाकेको छ । यसको पश्चिमतर्फ थासाङ गाउँपालिका वार्ड नं ४ ताक्लाङ झिप्रा देउराली पर्दछ भने त्यही गाउँ छेउमा घाना खोला बग्दै-बग्दै कालीगण्डकीमा नै गएर मिसिन्छ ।

यस हिमालको दक्षिण पश्चिमतर्फ भने म्याग्दी जिल्ला पर्दछ । हिमालको चुचुरोले जिल्लाको सीमाना छुट्याएको छ । बिहान झुल्किने घामको पहिलो किरण म्याग्दीको चुचुरोतर्फ पर्दछ, हिमालतलको गाउँ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नाख्याङको बास्कोट गाउँ पर्दछ, जुन गाउँ भएर निलगिरी हिमालकै नामबाट बनेको निलगिरी खोला बग्दछ । हिमालको खोँच भएर बग्ने खोलाहरूको पानी अत्यन्त कञ्चन र सफा देखिन्छ तर कालीगण्डकीमा मिसिने बित्तिकै त्यसको रंग परिवर्तन हुन्छ ।

निलगिरी हिमालको भौगोलिक बनावट अत्यन्त कठिन छ । अत्यन्त ठाडो र उच्च शिखर भएको कारणले नै यस हिमालमा पनि माछापुच्छ्रे जस्तै आरोहण अनुमति नेपाल सरकारले कसैलाई पनि दिएको छैन । यसै कारणले गर्दा पनि होला यस हिमालको तल फेदीसम्म पनि अरु हिमालको हिउँ पग्लिसक्दासम्म पनि सेतै हिउँले ढाकिएर रहेको हुन्छ । पहिले-पहिले जोमसोम नजिक रहेको ठिनी गाउँ र धुम्बा गाउँसम्म पनि सेतै हिउँले ढाकिन्थ्यो भने जलवायु परिवर्तनको असरले यो हिमाल पनि अछुतो रहन सकेको छैन । जोमसोमको शिरमा निलगिरी हिमाल रहेको भए तापनि गर्मी याममा जोमसोममा सवारी साधनमा यात्रा गर्दा एसी चलाउनु पर्ने अवस्था छ ।

सदमुकाम जोमसोम देखि ३ किमि टाढा निलगिरी हिमालको तल फेदीमा प्रसिद्ध धुम्बा ताल छ । तालमा रहेको पानी यति निलो देखिन्छ कि मानौँ हिमालको मात्र नभइ तालको नाम पनि निलगिरीकै नामबाट निलगिरी ताल पो हुनुपर्थ्यो कि !? तालछेउमा पुग्दा बेलुकीपख निलगिरीको छाया देख्न सकिन्छ । तालको कञ्चन र सफा पानी, त्यसमा पनि विभिन्न प्रजातिका माछाहरू देख्दा जो–कोहीको मन पनि रमाउने गर्दछ । जोमसोम आउने स्वदेशी तथा विदेशी पर्यटक एकपटक पुग्नै पर्ने ठाउँ हो धुम्बा ताल । माथि शिरमा निलगिरी हिमाल तल फेदीमा चर्को स्वरमा सुसाएर बग्ने कालीगण्डकी, मानौँ जोमसोमको सौन्दर्यको मध्यस्थकर्ताको जिम्मा धुम्बा तालले लिएको छ ।

यसअलावा मुस्ताङ जिल्ला पर्यटकीय हिसाबले जति महत्वपूर्ण छ, त्यति नै सांस्कृतिक, भौगिलोक, जैविक हिसाबले पनि आकर्षणको केन्द्र रहेको छ । यस जिल्लामा रहेका लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटीवाला, मुक्तिनाथ मन्दिर क्षेत्र, टुकुचे, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल, टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथांग खर्क आदि प्रसिद्ध पर्यटकीय स्थलहरू हुन् ।

विविध जैविक विविधता तथा जडिबुटीको आधारक्षेत्र रहेको कारणले गर्दा पनि यस जिल्लाको महत्व अन्य जिल्लाहरूको तुलनामा बढी नै छ । पितृहरूको सम्झना र दिवंगत आत्माको पुन्य तिथि तथा सोह्रश्राद्धमा कागबेनीमा श्राद्धकर्म गर्न र तर्पन दिन हिन्दू धर्मावलम्बीहरूको असीमित घुइँचो नै लाग्ने गर्दछ । त्यसकारण पनि मुख्य सिजनमा मुस्ताङ जिल्लामा भ्रमणको लागि नेपालका विभिन्न स्थानदेखि र विदेशी पर्यटकको घुइँचोले गर्दा यदाकदा ट्राफिक ब्यवस्थापन र शान्तिसुरक्षा कार्यसमेत चुनौतीपूर्ण बन्ने गर्दछ ।

(लेखक जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख हुन् ।)