जिरो भोटको पिरोले रन्थनिएको एनआरएनए र अबको विकल्प !

जिरो भोटको पिरोले रन्थनिएको एनआरएनए र अबको विकल्प !


स्थाई न्युक्लियस (पी)को ग्राण्ड डिजाइनमा घोषणा गरिएको चुनावी परिणामले मच्चाएको उत्पात !

✍ डिल्ली अम्माई

एनआरएनएका निवर्तमान महासचिव एवम् उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको सून्य मत आएपछि यो संगठनमा भेरो नामक अनलाइन भोटिङ सिस्टमले सार्वजनिक गरेको चुनावी मत परिणामलाई लिएर विश्वभर असन्तुष्टिको तुफान आएको छ ।

अक्टोबर १९ तारिख राति सार्वजनिक गरिएको अनलाइन मत परिणाममा पूर्व संस्थापक तथा शक्तिसाली स्थाई न्युक्लियसभित्रको रसियन ग्रुपबाट एनआरएनए निर्वाचनमा कार्यकारी अध्यक्ष बद्री केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा पारेको आरोप अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले मात्र लगाएका छैनन्, झण्डै दुई तिहाइ प्रतिनिधिहरूले लगाइरहेका छन् । संजालमा प्रतिक्रियाहरूको तुफान चलेको छ ।

अचम्मको कुरा रसियन स्थाई न्युक्लियसका विद्वान, पत्रकार र बुद्धिजीवीहरू समेत उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको सुन्य मत परिणामबारे प्रतिक्रिया दिन सकिरहेका छैनन् । निर्वाचन समितिसमेत चुप छ । अष्ट्रेलियानिर्मित भेरो अनलाइन भोटिङ सिस्टमका अपरेटर वा निर्माताहरू चुइँक्क बोलेका छैनन् । एनआरएनएनएलाई आफ्नो स्थाई घेराभित्र कैद गर्दै आएको भनिएको उपेन्द्र, जीवा र पन्त क्याम्पबाट चुनावको यो अद्भुत परिणामबारे प्रतिक्रिया दिनु त परै जाओस् केही संकेत गरिएको छैन । यही मौनताले नै बताउँछ यो चुनावी बबण्डर कसले किन र कसरी सृजना गरेका थिए । यस परिणामका आयोजक, प्रायोजक र नियोजक को-को थिए ? अब कसैसँग त्यसको उत्तर खोज्नु जरुरी देखिन्न ।

चुनावमा खसेको मत परिणाम अध्यक्षहरूलाई परेको मत परिणामको अन्तरले पनि यो चुनाव प्रायोजित थियो भन्ने आशंका गर्न सकिन्छ । झन् डाक्टर केशव पौडेलको आफूले हालेकै मत हराउँदा उनको अवस्था कस्तो भयो होला सहजै अनुमान गर्न सकिन्छ । सद्दे मानिसलाई पागल गराउने त्यो मतपरिणामले डाक्टर साबको अवस्था सहज छ कि छैन समस्त एनआरएनहरूले जान्न चाहिरहेका छन् ।

भन्नैपर्ने अर्को कुरा के हो भने यस्तो अबस्थामा एनआरएनमा विजित घोषणा गरिएका बौद्धिकहरू मदिरापानको तामसी नसाले लठ्ठिनु ज्यादै दुःखदायी कुरा हो । यसले नेपाली डायस्पोराको बुद्धिजीवी निष्ठावान रहेनछ, घेराको स्वार्थमा लम्पट रहेछ र कुनै पनि षड्यन्त्र, मानव तस्करी वा चोरीमा लिकेरा सामेल हुनेरहेछ भन्ने नै प्रमाणित गर्दछ । समष्टिमा भन्दा बौद्धिक जमात पनि सत्य बोल्न डराउँछ भन्ने देखाउँछ । अब उहाँहरूबाट यो संस्थाभित्र अनुशासनको कुरा कल्पना गर्न सकिएला ? उहाँहरूबाट सांगठानिक, सामुदायिक र मानविय न्यायको अपेक्षा गर्न सकिएला ? अहँ… त्यो पटक्कै गर्न सकिन्न । संगठनभित्रको वर्तमान चरम परिस्थितिले त्यो अवस्थाको सृजना गरिदिएको छ ।

हुन त यो संस्थामा यस्तोखाले सडयन्त्रको शृंखला स्थापना कालदेखिकै हो । हामीले बुझेकै कुरा हो कि एनआरएनए संस्थापकमध्येका एक रामप्रताप थापालाई अध्यक्ष हुन नदिने यही ‘पी’ ग्रुप थियो, अर्थात उपेन्द्र लगायतको रसियन स्थाई न्युक्लियस । यसको डिजाइन भन्दा बाहिर एनआरएनएको नेतृत्व अहिलेसम्म गएको पनि छैन र जान दिने कुनै संकेत पनि देखिन्न । अहिले पी न्युक्लियसका सबै खेलाडी (दृश्य, अदृश्य) हरूको मौनताले संकेत दिएको मुख्य कुरा यही हो । यो ग्रुपको ग्राण्ड डिजाइन केवल शेष घलेले राम्रोसँग बुझेकोले यसबाट हुन्न भनेर उनि बाहिरिए । पछाडिका अरुले पनि नबुझेका हैनन् तर ‘चिची पनि पापा’ पनि सँगसँगै प्राप्त गरिन्छ कि भन्ने लालचले उनीहरू ‘रसियन पी न्युक्लियस’को चक्करमा परिरहे । अर्थात् उनिहरूसँग रहेको केही बिचौलिया र तस्करहरूसँगको हिमचिमले उनीहरू यो ग्रुपबाट निस्कन सकेनन् वा चाहेनन् ।

अब रसियन ग्रुपबाट अध्यक्षमा जित दाबी गरिएका बद्री केसीलगायतले सपथ लिइसकेका छन् । उनीहरू सानो समूह लिएरै अगाडि बढ्ने योजनामा छन् । भनिन्छ, उनीहरूले शेष घले वा भनौँ कुँवर समूहसँग एकता गर्दा आफ्नो चुनावी हिसाब बिग्रने डरले त्यो हुन दिएनन् । अब आरके वा महेश समुहलाई पनि थकाएर वा गलाएर एक हुन नदिने रणनीतिमा उनीहरू लाग्ने निश्चितप्रायः छ । उनीहरूले केशव पौडेल वा अन्य उम्मेदवार ब्यक्तिहरूलाई पनि सकभर ‘प्राविधिक गल्तिले अल्फावेट बिग्रेछ तपाईंले जित्नुभएको रहेछ’ भनेर सकभर फकाउने रणनीतिमा लाग्ने देखिन्छ । यदि त्यो नभए मुद्धा-मामिलामा अल्झिएरै भए पनि दुई वर्षको समय गुजार्ने छन् । अबको एनआरएनए अभियान कता जान्छ भन्ने कुराको निक्र्योल महेश र आरकेको एकता, उनीहरूको निर्णायक कदम र परराष्ट्रको कदमले गर्ने देखिन्छ ।

यतिविधि खुराफात भइसकेपछि अबको न्यायिक विकल्प के भन्ने कुरा पनि आउँछ । सर्वसाधारण एनआरएनएको विचार विमर्शलाई ध्यान दिँदा यो सबै नियोजित चुनावी धाँधली लगायतको भण्डाफोर गर्दै अर्को चुनावको तयारीमा जान विश्वभरका दुई तिहाई प्रवाशी नेपाली तयार हुनुपर्छ भन्ने धेरैको प्रतिक्रिया रहेको देखिन्छ । त्यसमा कुँवर समुहसँगको सहयात्राले निश्चित रुपमा रणनैतिक अर्थ राख्नेमा कसैको दुई मत हुन सक्दैन ।

पङ्क्तिकारको विचारमा यो चुनावी परिणामलाई सामान्य करेक्सन गरेर इतिहासलाई अर्को घेराबन्दीमा धकेल्नुभन्दा नयाँ विकल्पमा पुगेर एकता अधिवेशनको तयारी गर्दा एनआरएनएको छवि अलिक उज्यालिने देखिन्छ । अन्तिम र निर्णायक विकल्प भनेको शेष घलेको ‘समग्र हैन, सफा प्रवाशी नेपालीहरूको एकता’ अभियानमा सहभागी हुँदै झण्डै असी-पचासी प्रतिशत एनआरएनहरूको आस्था समेटेर एकीकृत संगठन निर्माणमा लाग्नुपर्छ । त्यसले नै इतिहासमा यो अभियानले कमाएको बदनामी र धोकाधडीको न्यूनीकरण गर्ने छ । त्यो कदमले मात्र ‘रसियन स्थाई न्युक्लियस’लाई एउटा ग्याङ्गको रुपमा परिणत गर्दै लैजाने छ र केही कालपछि त्यसको पनि अन्त्य हुनेछ । एनआरएनएभित्रका सम्पूर्ण समस्याहरूको एकमात्र स्थाई समाधान यही हो । बेलैमा विकल्प सुझोस्, सबै एनआरएनहरूको जय होस् ! दशैँको शुभकामना !!

यो पनि हेर्नुहोस्-

www.ghatanarabichar.com/288102