सिङ्गापुर र मलेसिया घुमेपछि…

सिङ्गापुर र मलेसिया घुमेपछि…


चारैतिर पानीले घेरिएको एसिया महादेशको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक टापु सिङ्गापुर वास्तवमै अति सुन्दर विकसित राष्ट्र रहेछ । शहरको बीच भागमा मन्दिर, मस्जिद, गुम्बा, चर्चहरू देखिनुका साथै शान्तिसुरक्षाको व्यवस्था पनि अत्यन्त उत्तम रहेको पाइयो । हामीले सुनेअनुसार त्यहाँ सडकमा पैसा, गहना खसेको देखे पनि कसैले पनि लुसुक्क टिपेर गोजीमा राख्दा रहेनछन् र धूम्रपान र मद्यपान पनि जथाभाबी गर्न निषेध गरिएको रहेछ ।
✍ बंशीकुमार शर्मा

साहित्यकार एवं राजनीतिज्ञ स्वर्गीय राजेश्वर देवकोटाले सिङ्गापुरको विकास र समृद्धिका बारेमा वर्णन गरेको सुनेपछि सिङ्गापुर देख्न जागेको इच्छालाई किवानिस (Kiwanis) क्लबले २०७९ सालमा जुराइदियो । हुन त यो विदेशयात्रा मेरो दोस्रो थियो । सन् २००१ मा अफ्रिकाको अल्जेरियामा भएको विश्व-युवा तथा विद्यार्थी-सम्मेलनमा म सहभागी भएको थिएँ । त्यहाँ जाने क्रममा धेरै देशमा ट्रान्जिट परेको थियो ।

विदेश भन्नेबित्तिकै कता-कता खुल्लापना र विराटपनाको अनुभूति हुँदोरहेछ । किवानिस क्लबको एसिया-प्रशान्तीय (Asia–Pacific) कार्यक्रम चैत्र २, ३, ४ (२०२३ मार्च १६, १७, १८) मा मलेसियाको प्रसिद्ध चारतारे रिसोर्ट लेक्सिस पोर्ट डिक्सन (lexis Port Dickson) हुने भएपछि त्यही कार्यक्रममा सहभागी हुनका लागि सिङ्गापुरको समेत भ्रमण गर्ने प्याकेज मिलाइएको किवानिस क्लब नेपालका डिष्ट्रिक्ट गर्भनर श्री लक्ष्मण लम्सालले जानकारी गराउनुभयो । त्यसपछि म वंशीकुमार शर्मा र छोरी कृतिका गौतम दाङबाट फाल्गुन १९ गते काठमाडौंका लागि रात्रिबस चढ्यौं । नेपालको बसको यात्रालाई पनि सिङ्गापुरकै बसको यात्रासित तुलना गर्दै रोमाञ्चित हुँदै फागुन २० गते बिहान काठमाडौं पुगेपछि प्रातःकालिक नित्यकर्म र भोजन गरेर ठमेलमा रहेको किवानिस क्लबको अफिस र मकालु ट्राभल्स गएर विदेशका लागि आवश्यक कागजातका बारेमा परामर्श गरियो । त्यसैको सिलसिलामा पत्रकार दामोदर बस्नेत (राकेश) पनि फागुन २५ गते काठमाडौं आइपुग्नुभयो भने अन्य साथीहरू पनि काठमाडांै आउने क्रम जारी रह्यो ।

विदेश जानलाई आवश्यक पर्ने भिसा लगायत विभिन्न कागजात मिलाउनुपर्ने र विश्व-महामारी कोरोनाको भ्याक्सिन लगाएको क्यूआर कोर्ड पनि बनाउनुपर्ने रहेछ । प्राविधिक काममा राकेश बस्नेतले र अन्य आवश्यक भूलचूक भएका कागजपत्र दाङबाट विमल केसीले बनाएर मेसेन्जरमा पठाएर धेरै सहयोग गर्नुभयो । फागुन २९ गते बिहानको उडान भएकोले यात्रा सुरु हुने दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै पुग्नुपर्ने भएकोले म सबै तयारीसहित बिहानको खाना खाएर २८ गते नै ठमेलमा राकेश बस्नेत बसेको कोठामा बस्न गएको थिएँ । त्यस दिन मुक्तिनाथ बैंकमा विदेशमा चाहिने आवश्यक डलर बनाउने काम पनि गरियो । दाङबाट रणेन्द्रविक्रम केसी पनि आइपुग्नुभएपछि उहाँसहित हामी त्यस दिन ठमेलमा बसेर भोलिपल्ट बिहानै ६.३० बजे त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गऱ्यौँ । वि.सं. २०७९ फागुन २९ गते ९० जनाको हाम्रो टोलीले काठमाडौंदेखि यात्रा आरम्भ गऱ्यो । टिकटअनुसार उडानको समय बिहान ८ बजे थियो । हाम्रो यात्रा काठमाडौंदेखि सिङ्गापुरसम्मको भए पनि ट्रान्जिट भारतको नयाँ दिल्ली थियो ।

हाम्रो यात्रामा सहभागी सबैको भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भयो, अनि टिकट चेकजाँचका लागि अघि बढियो । हाम्रो यात्रा सिङ्गापुर र मलेसियाको थियो । किवानिस अन्तर्राष्ट्रियको एउटा सम्मेलनमा भाग लिनुका साथै त्यस क्षेत्रका पर्यटकीय स्थलको अवलोकन गर्ने पनि हाम्रो कार्यक्रम रहेको थियो । किवानिस क्लबका मोहन लम्साल, किवानिस क्लब नेपालका डिष्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल, किवानिस क्लब अफ राप्तीबाट म वंशीकुमार शर्मा, दामोदर बस्नेत (राकेश), रणेन्द्रविक्रम केसी, राजकुमार हमाल र किवानिस क्लब दाङ तुलसीपुरका विमल पौड्याल, सुरज भण्डारी लगायतका साथीहरू एवं किवानिस क्लब अफ मेट्रो क्लबका मनु शर्मा, काठमाडौं चन्द्रागिरि क्लबका विकास लम्साल, यादव शाह, बालुवाटार क्लबका पुष्कर रिजाल, पदम ज्ञवाली, शरद शर्मा लगायत नेपालभरि छरिएर रहेका क्लबका प्रतिनिधिहरू एयर इण्डियाको विमानमार्फत १०ः५५ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उड्यौं ।

करिब दुई घण्टा जति भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा रोकिँदा त्यस विशाल विमानस्थलको विहङ्गम अवलोकन गर्ने मौका समेत हामीलाई मिल्यो । त्यस विमानस्थलबाट विश्वभरि उडान हुनुका साथै त्यहाँ यात्रुका लागि पेय जल, लघुआहार, शौचालय इत्यादिको राम्रो व्यवस्था रहेछ । हामीहरूले पनि त्यहाँ कफी, बिस्कुट इत्यादिको आनन्द लियौं । त्यहाँबाट एयर इण्डियाको विमानमार्फत सिङ्गापुरको समयानुसार साँझ ६ बजेतिर सिङ्गापुरे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भएर अध्यागमन-जाँच सम्पन्न गरिसकेर हेर्दा हामीलाई लिन मकालु ट्राभल्स एजेन्सीले व्यवस्था गरिदिएको बसले हामीलाई पर्खिरहेको थियो । गाडीबाट होटलमा जाने क्रममा हाम्रो गाइडले सिङ्गापुरको इतिहास र वर्तमानको वर्णन एवं नूतन स्थलका बारेमा परिचय दिँदै र हामी उनका कुरा सुन्दै रोमाञ्चित हुँदै शहर हेर्दै गयौँ । आहा कस्ता राम्रा र सुव्यवस्थित ठूला बाटाहरू ! बाटाका दुवैतर्फ हरियाली र ठाउँ-ठाउँमा नरिवलका बोटहरू एवं कुनै-कुनै ठाउँबाट महासागरको नीलो र गहिरो पानीका सुमधुर दृश्यहरू !

जब हामी सिङ्गापुर शहरमा प्रविष्ट भयौं ठूला-ठूला गगनचुम्बी घरहरू र शहरका अत्याधुनिक चहलपहलहरू देखिन थाले । कार, बसहरू आ-आफ्ना बाटा छिचोल्दै थिए, तँछाड्-मछाड्को द्रुत वैज्ञानिक जीवन हेर्नलायकको थियो । रिक्सा भने कतै पनि देखिएनन् । करिब एक घण्टाको यात्रा आँखा झिमिक्क नगर्दै सकिएपछि त्यहाँको समयानुसार ८ बजेतिर एउटा होटलमा हाम्रो गाडी रोकियो । दुई रातका लागि शहरको मध्यभागमा अवस्थित ऐतिहासिक थम्स होटलमा हामी बस्ने व्यवस्था गरिएको रहेछ, जसका झ्यालबाट स्पष्टतया गगनचुम्बी घरहरू देख्न सकिन्थे ।

त्यस होटलको तेस्रो तलाको ६ नं. कोठामा म र राकेश सँगै बस्यौं र अन्य सबै साथीहरू पनि त्यसैगरी दुई/दुई जना मिलेर बस्नुभयो । कोठाको झयालबाट समुद्री हावा र महासागरमा लुक्नै लागेको सूर्यास्तको आनन्द लिन पनि सकिन्थ्यो । एकछिन पैदल भूमिको सुस्पर्श गर्दै सिङ्गापुर हेर्ने कौतूहलको पूर्ति र उदरपूर्तिका लागि पनि हामी होटलबाट बाहिर निस्केर एउटा रेष्टुराँमा गयौँ, जहाँ मासु वा मासुमिश्रित बाहेक अरू केही परिकार नपाइएकाले साथीहरूले तीमध्येबाटै स्वेच्छाअनुसार खानुभयो भने म चाहिं शाकाहारी भएकोले मैले फल किनेर खाएँ । त्यसको भोलिपल्ट दैनिक नित्यकर्म गरेर बिहान ८ बजे हामी बसेकै होटलमा उपलब्ध फलफूल, दूधका परिकार, ड्राइफुड, माछामासु इत्यादिमध्येबाट स्वेच्छाले चयन गरेर ब्रेकफास्ट गरिसकेपछि हामी सबै पुनः सिङ्गापुर शहरको भ्रमणका लागि होटलबाट निस्कियौँ । त्यहाँ पनि हिन्दू मन्दिर, बौद्ध गुम्बा, चैत्य इत्यादि विभिन्न सभ्यतावलम्बीहरूका आस्थाका पवित्र धरोहरहरू रहेछन् ।

असंख्य पानीजहाज रोकिएको बिजुलीको उज्यालोमय समुद्रमाथि दौडिरहेको केबुलकार, समुद्रतटमै अवस्थित ज्ञानवर्द्धक संग्रहालय र मनमोहक स्काई टावर, वाटर पार्क लगायत धेरै ठाउँ हेर्ने मौका हामीलाई मिल्यो जहाँ समुद्रमा डुबुल्की मारिरहेका ह्वेल माछाहरू सोझै आफैंसित आएजस्तै भान भैरहेको थियो । कालोपाटीमा खरीले लेखेर मेटाएजस्तै समुद्री छालले बेला-बेलामा त्यो उज्यालोलाई मेटाउन खोज्थ्यो, तर कहाँ सक्नु ? सफा पार्कमा मानिसहरू समुद्रको हावा र छालको आनन्द लिइरहेका थिए । चारैतिर पानीले घेरिएको एसिया महादेशको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक टापु सिङ्गापुर वास्तवमै अति सुन्दर विकसित राष्ट्र रहेछ । पूर्व-पश्चिम ४० र उत्तर-दक्षिण २२ कि.मि. लम्बाइ रहेको जम्मा कुल क्षेत्रफल ६९४ वर्गकिलोमिटरमा फैलिएको सानो सुन्दर देश सिङ्गापुर धेरै आरोह-अवरोह पार गरेर यो अवस्थामा आइपुगेको रहेछ । पटकपटक धेरै देशहरूद्वारा बलजफ्ती उपनिवेश बनाइएको यो सुन्दर देश श्रीविजयाको सुमात्रा राज्यको नियन्त्रणमा रहँदासम्म तुमासिक नामबाट चिनिन्थ्यो र चौधौं शताब्दीमा माजापहितले कब्जा गरेपश्चात् पुनः अयुथ्या साम्राज्यद्वारा कब्जा गरियो र पन्ध्रौं शताब्दीमा मलाक्का साम्राज्यकोे एक भाग बन्यो । समयक्रममा सिङ्गापुरमाथि पोर्च डचहरूले शासन गरे र सन् १९१९मा फेरि इष्ट इण्डिया कम्पनीले अधिकार स्थापित गऱ्यो । दोस्रो विश्वयुद्धको समयमा सन् १९४२मा जापानको नियन्त्रणमा रहेको सिङ्गापुर सन् १९४६ देखि ब्रिटेनको संरक्षणमा स्वायत्त राज्य बनेपछि सन् १९५७ मा राष्ट्रमण्डलमा सामेल भयो भने सन् १९६३मा मलेसिया महासंघमा पनि आबद्ध भयो ।

समयक्रममा चाइनिज मूलका मानिस र मलाया समुदायबीच शक्तिसंघर्षले गर्दा ९ अगस्त १९६५ मा एक स्वतन्त्र राष्ट्र बन्न सफल सिङ्गापुर सोही वर्ष राष्ट्रमण्डल र दक्षिणपूर्वी राष्ट्रहरूको संगठन आसियानको सदस्य बन्यो । विश्वकै सबैभन्दा लामो समयसम्म शासन गर्न सफल पिपुल्स एक्सन पार्टीका नेता ली कुआन यूद्वारा सन १९६५ देखि १९९० सम्म एकछत्र शासन गरिएको सिङ्गापुर उक्त अवधिभित्र विश्वकै एक उत्कृष्ट व्यापारिक केन्द्र बन्न सफल भयो ।

त्यहाँका जनताले अत्यन्त आदर गर्ने नेता ली कुआनकै दूरदृष्टिका कारण सिङ्गापुर आज विश्वकै विकसित राष्ट्रको सूचीमा पर्न सफल भएको रहेछ । विश्वको सबैभन्दा ठुलो बन्दरगाह, अन्तर्राष्ट्रिय बैङ्किङ, कमर्सको केन्द्र बन्न सफल यो देश इलेक्ट्रोनिक उपकरण, तेल-प्रशोधन, पेट्रोलियम पदार्थ, लत्ताकपडाका लागि विश्वप्रसिद्ध छ । ७७ प्रतिशत चाइनिज, १४ प्रतिशत मलाया, ९ प्रतिशत अन्य समुदायका मानिसहरूको बसोबास रहेको र अधिकांश बौद्धावलम्बी एवं चाइनिज, मलाया, तामिल, अंग्रेजी भाषी रहेको सिङ्गापुरमा सबै सभ्यता, संस्कृति-अवलम्बीहरूबीच अत्यन्त पारस्परिक सद्भाव र सहिष्णुता रहेको पाइयो । शहरको बीच भागमा मन्दिर, मस्जिद, गुम्बा, चर्चहरू देखिनुका साथै शान्तिसुरक्षाको व्यवस्था पनि अत्यन्त उत्तम रहेको पाइयो । हामीले सुनेअनुसार त्यहाँ सडकमा पैसा, गहना खसेको देखे पनि कसैले पनि लुसुक्क टिपेर गोजीमा राख्दा रहेनछन् र धूम्रपान र मद्यपान पनि जथाभाबी गर्न निषेध गरिएको रहेछ । छोटो समयमै भूमिगत रेल, बस, बजार इत्यादि अत्याधुनिक विकासका संजाल बिच्छ्याउन सफल सुन्दर देश सिङ्गापुरमा अझै केही दिन बस्ने इच्छा हुँदाहुँदै पनि भ्रमणतालिकाअनुसार २०७९ चैत्र १ गते हामी त्यहाँबाट मलेसियाको राजधानी क्वालालाम्पुरतर्फ लाग्यौं ।

त्यहाँको समयानुसार बिहानको ९ बजेतिर सिङ्गापुरदेखि हाम्रो बसयात्रा प्रारम्भ भयो । चिल्लो फराकिलो बाटो, चारैतिर घना जङ्गल, सडकका दुवै किनारमा फलफूलका बिरुवाहरू र ठाउँ-ठाउँमा साना सुव्यवस्थित रेष्टुराँहरू । २ बजेतिर दिउँसोको खाना खानलाई गाडी रोकिएपछि हामीले नेपाली खाना दाल, भात, तरकारीको माग गरे पनि त्यहाँ पनि माछामासु बाहेक केही नपाइएपछि साथीहरूले तीमध्येबाटै स्वेच्छानुसार खानुभयो र म चाहिं कफी-पाउरोटी खाएर तृप्त भएँ । बेलुका ५ बजेतिर क्वालालाम्पुर गइपुगेपछि हामी मकालु ट्राभल्सद्वारा व्यवस्थित विश्वकै प्रसिद्ध ट्वीन टावरको नजिकै रहेको ग्राण्डी होटलमा प्रवेश गऱ्यौँ । उक्त होटलको २३औं तलामा म र राकेश बस्यौं र अन्य साथीहरू पनि त्यसैगरी पूर्ववत् एउटा कोठामा दुई/दुई जना गरेर मिलेर बस्नुभयो । कोठाको झ्यालबाट देखिने ट्वीन टावर र गगनचुम्बी भवनका दृश्यहरू अवस्मिरणीय थिए ।

त्यस दिन म, राकेश, मनु शर्मा र रणेन्द्रविक्रम ट्वीन टावर हेर्न गयौं र त्यसको नजिकै अवस्थित भारतीय रेष्टुराँमा दाल, रोटी, दही खायौं । त्यस दिन नेपालबाट कार्यक्रममा सहभागी हुनका लागि सीधै मलेसिया आइपुग्नुभएका किवानिस क्लब अफ राप्तीका अध्यक्ष भूपाल रावत, शरद शर्मा, सुरेश हमाल लगायतका साथीहरू हामीहरू बसेकै होटलमा आइपुग्नुभएपछि त झन् रमाइलोपनको सीमै रहेन । त्यस दिन राति हामी सबै क्वालालाम्पुर शहर डुल्यौँ र भोलिपल्ट बिहान हामी बसेकै होटलमा नित्यकर्म र ब्रेकफास्ट गरिसकेपछि साथीहरूले बनाउनुभएको योजनानुसार पुनः क्वालालाम्पुर घुम्न निस्कियौँ । त्यहाँको ठुलो चकलेट उद्योग, व्यापारिक कम्प्लेक्स, मलेसियाको राजदरबार आदिको भ्रमण गरेपछि त्यस दिन साँझ कार्यक्रम हुने भनिएको समुद्रमाथिको डिक्सन होटलको नजिक एउटा रमणीय नमुना बस्ती भएको सानो शहरको द गेष्ट होटल एण्ड स्पामा हामी बास बस्यौं ।

अर्को दिन बिहान होटलमा एक कप तात्तातो कफी पिएर केही बेर आराम गरेपछि हामी पुनः शहर हेर्न बाहिर निस्किइहाल्यौं । हिन्दू मन्दिर र प्रायशः हिन्दू सभ्यतावलम्बीहरू बस्ने एउटा बस्तीमा दुर्गा, सूर्यको मन्दिर देखेपछि मैले र राकेशले मन्दिरभित्र गएर श्रद्धापुर्वक दर्शन गऱ्यौँ र त्यहाँका पण्डितजीले आत्मीयतापूर्वक हामीलाई टीका/प्रसाद दिनुभयो । स्थानीय हिन्दू सभ्यतावलम्बीहरूको बाक्लो उपस्थिति रहेको उक्त मन्दिरमा आरतीको समयमा मैले पनि श्रद्धापूर्वक मन्त्रोच्चारण गरेको सुनेपछि त्यहाँ आएका श्रद्धालु जनहरूले खुब रुचिका साथ हामीलाई नियालेर हेरे । तथापि भाषिक अज्ञानका कारण हामी नबोलीकनै चाक्षुष वार्तालाप मात्रैले सन्तुष्ट हुन बाध्य भयौँ ।

त्यहाँबाट शहर हेर्दै आउने क्रममा यत्रतत्र घुमिरहेका भूपाल रावत र छवि बस्नेतसँग अचानक हाम्रो जम्काभेट भयो र त्यस उपलक्ष्यमा हामी चारैजनाले एउटा पसलमा गएर चिया पियौं । त्यहीँ नजिकै रहेको कपडाको एउटा ठूलो पसलमा मैले एउटा भेष्ट र हाफ जकेट किनें भने राकेशले रातो सट र भूपालले आफना छोराका लागि जुत्ता किन्नुभयो । हाम्रो होटलको नजिकै रहेको भारतीय रेष्टुरेन्टका मेनेजर र कर्मचारीहरू समेत अधिकांश नेपाली रहेकाले त्यहाँ हामीलाई स्वेच्छानुसार खाना खान धेरै सजिलो पनि भयो । भोलिपल्ट बिहान ब्रेकफाष्ट गरेर कार्यक्रमस्थल lexis port dickson का लागि हामी गाडीमा सवार भयौं । बाटोको एकातर्फ हरियाली, ठाउँ-ठाउँमा नरिवल, आँप, खजुरका बोटहरू र अर्काेतर्फ सामुद्रिक दृश्यहरू अत्यन्त मनमोहक थिए ।

समुद्रको किनारै-किनार करिब एक घण्टापछि समुद्रमाथि बनेको विशाल होटलमा कार्यक्रमको आयोजना गरिएको रहेछ । समुद्रै नदेखेका हामीहरू समुद्रमाथिकै होटलमा कार्यक्रममा भाग लिन पाउँदा अत्यन्त प्रफुल्लित भयौं । हामीलाई स्वागत गर्न त्यहाँको क्लबका पदाधिकारीहरू आएका थिए । उनीहरूको न्यानो स्वागत एवं आतिथ्य-ग्रहणपूर्वक परिचयात्मक कार्यक्रमपश्चात् बिहानको खाजानास्ता गरेर हामी कार्यक्रमहलमा प्रविष्ट भयौँ । एसियामा भएका किवानिस क्लबहरूका प्रतिनिधिहरू प्रविष्ट भइसकेको उक्र कार्यक्रमहल अत्यन्त विशाल र सुव्यवस्थित रहेछ । कार्यक्रमको प्रमुख आतिथ्य मलेसियाकी महारानीले गरेकी थिइन् भने विशिष्ट आतिथ्य किवानिस अन्तर्राष्ट्रियका अध्यक्ष बियर वेस्टले गरेका थए । घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेकी त्यहाँकी महारानीले पुनः सहभागीका माझ हाँस्दै हात हल्लाउँदै मीठो मुस्कान दिएर नमस्ते नमस्ते गर्दै कार्यक्रमको गरिमालाई बढाइदिनुका साथै कार्यक्रम-अवधिभर नै धैर्यपूर्वक बसेर कार्यक्रमको शोभा बढाइदिएको दृश्य समयमा नपुग्ने र कार्यक्रम-अवधिभर पूरा नबसेर खादामाला लगाएर आफूले भाषण गरेर फुत्त निस्किइहाल्ने अधीर नेपाली नेताहरूले हेर्न लायकको थियो । कार्यक्रममा नेपाल, मलेसिया र सहभागी प्रतिनिधिसम्बद्ध देशहरूका राष्ट्रिय गीतहरू पालैपालो बजाइएका थिए ।

पूरै कार्यक्रममा बितेको त्यो दिन हामीहरू पनि हाम्रो राष्ट्रिय पोसाक लगाएर स्वपहिचानपूर्वक सजिएका थियौं र नेपालको राष्ट्रिय झण्डा पनि सानपूर्वक फहराइएको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका एघार सय जति नेपालीहरूले काम गर्ने त्यस होटलमा दाङ कुरर्रेका दुईजना चौधरीहरूसँग हाम्रो भेट भयो । आम्दानी राम्रै भएको त्यस होटलमा काम गर्न पाएकोमा सन्तुष्ट रहेका उनीहरूले हामीहरूलाई विभिन्न ठाउँको अवलोकन पनि गराइदिए । हामीहरूसँग भेट भएपछि घरै गएको जस्तो लाग्यो भनेर खुसी व्यक्त गरिरहेका उनीहरूका भनाइलाई पत्रकार राकेश बस्नेतले भिडियो बनाएपछि उनीहरू झनै प्रसन्न भए । त्यस दिन साँझ आयोजक क्लबद्वारा सहभागीहरूको स्वागतका लागि राखिएको डिनर पार्टी र सांस्कृतिक कार्यक्रममा हामीहरूले खुब रमाइलो ग¥यौं र नेपाली गीतमा अन्य देशका सहभागीहरूलाई समेत खुब नचायौं । समुद्रतटमा आयोजित सांस्कृतिक कार्यक्रमको एक झलकमा मुखमा आगो राख्ने र आगोमा हिँड्ने जस्ता रोमाञ्चक दुस्साहसिक दृश्यहरू पनि देखाइएका थिए ।

त्यस साँझ हामी होटल स्पामा नै फर्कियौँ । भोलिपल्ट नेपालको तर्फबाट मोहन लम्सालले निर्वाचनमा भाग लिनुभएको थियो, तर उहाँका ताइवानी प्रतिद्वन्द्वीद्वारा दुई मत मात्रले पराजित हुनुभएपछि नरमाइलो लाग्यो, तर पनि प्रतिस्पर्धामा स्वाभाविक जीत-हारलाई सहजतापूर्वक लिनु उच्च प्रजातान्त्रिक संस्कार भएकोले हामी त्यो नरमाइलोपनलाई बिर्सिएर त्यसदिन आयोजकले राखेको डिनर पार्टीमा सहभागी भएर महासागर हेर्दै कोठामा फर्कियौँ ।

भोलिपल्ट बिहान मकालु ट्राभल्सद्वारा व्यवस्थित क्वालालाम्पुरको पहिला बसैकै होटल ग्राण्डीमा झोलीझिम्टी राखेर हामी क्वालालाम्पुर शहरदेखि केही टाढा पहाडमा अवस्थित भव्य पाञ्चायन मन्दिरहरूको दर्शनार्थ निस्कियौं । सिंढी चढेर माथि ठूलो गुफा र त्यसभित्र गणेश, देवी, सूर्य, विष्णु, शिवका भव्य मन्दिरहरू रहेछन् । त्यस्तो मनोरम ठाउँमा अवस्थित भव्य पाञ्चायन मन्दिरका पुजारी पनि मलाया नै रहेछन् । विशेषतः भारतीय तीर्थालुहरूको बाक्लो उपस्थिति रहेको उक्त मन्दिरका पुजारीले यज्ञोपवीत (जनै) धारण गरेको देखेर उनलाई मैलै पनि जनै धारण गरेको छु भनेर देखाएपछि उनी धेरै खुसी भए । पूजार्चना गरेर नजिकै शुद्ध सात्त्विक खाना खाएर त्यहाँबाट करिब दुई घण्टा बसको र पहाडमा केवुलकारको यात्रा गरेर मलेसियाको ठुलो व्यापारिक केन्द्र जेन्टिङ्ग हाइलेण्ड्सतर्फ हामी लाग्यौँ।

एकैचोटि हजारौं जनाले खेल्न सकिने क्यासिनो लगायत अत्यन्तै कल्पनातीत विचित्र र विराट् वैभवशाली दृश्यहरू देखिने उक्त व्यापारिक कम्प्लेक्समा एकचौटि लाखौँ उपभोक्ता एवं पर्यटकहरूले भ्रमण-अवलोकन गर्दा रहेछन् । आगन्तुकहरूको मनोरञ्जनका लागि अविच्छिन्न सांगितीक कार्यक्रम भैरहने तलैतला भएको त्यहाँ चिया, कफी, जुस, पानीहरूको निःशुल्क व्यवस्था गरिएको रहेछ । निरन्तर मान्छेको जलसा भैरहने त्यस अद्भुत व्यापारिक केन्द्रमा सँगसँगै हिड्दा पनि रणेन्द्रविक्रम केसी हामीसितबाट छुट्टिएर कसैगरी उहाँसित भेट हुनै नसकेपछि उहाँलाई खोज्दै हिंड्ने क्रममा त्यहाँ पनि प्रशस्त नेपाली कामदारहरू भेटिए, जसमध्ये दाङ राजपुरका एकजना कामदारले म्यानपावरले आफूलाई असन्तोषजनक ठाउँमा काम लगाइदिएर धोका दिएको गुनासो गर्नुका साथै अन्य केही नेपाली कामदारहरूका अनुहारहरू हेर्दा पनि उनीहरू दुःखित भएको स्पष्ट अनुमान भयो । उनीहरूको दारुण स्थिति देखेर हामीले केही सहयोग गर्न सक्छौं कि भनेर सोद्धा साहसपूर्वक अब आफैंले सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै हामीलाई गेटसम्म पठाउन आएका ती नेपाली कामदारहरूले रणेन्द्रविक्रम केसी सम्पर्कमा आएमा होटलसम्म पठाइदिने व्यवस्था गर्ने आश्वासन दिए । भोलिपल्ट नेपाल आउने टिकट भएकोले साथी छुट्टिएपछि तनाब हुनु स्वभाविक थियो ।

जति खोज्दा पनि केही उपाय नलागेपछि राजदूतावासमा सम्पर्क गर्ने योजना बनाउँदै होटल ग्राण्डीमा फर्किएको केही छिनपछि टयाक्सीको सहायताले उहाँ टुप्लुक होटलमा आइपुग्नुभएपछि हामी सबै साथीहरू अत्यन्त खुसी भयौँ र तत्पश्चात् पुनः किनमेल गर्न बजारतिर निस्कियौँ । छोटो समयमा धेरै विकास गरेको र चारैतिर समुद्रले वेष्टित एसिया महादेशको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित मलेसिया संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक शासनव्यवस्था भएको मुलुक रहेछ । ६० प्रतिशत मुस्लिम, १९ प्रतिशत बौद्ध, हिन्दू, क्रिष्चियन सभ्यतावलम्बी र मलाया, चाइनिज, भारतीय मूलका मानिसहरूको बसोवास रहेको मलेसिया सन् १८६७ देखि बेलायतको उपनिवेश रहेर १६ सेप्टेम्बर १९६३मा स्वतन्त्र भएको रहेछ । स्थापनाकालमा मलेसिया महासंघमा समाविष्ट सिङ्गापुर सन् १९६५मा मलेसियाबाट अलग भएको रहेछ । बेलायतबाट स्वतन्त्र बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका अब्दुल रहमान टुङ्ग प्रथम प्रधानमन्त्री बनेको मलेसिया एउटै प्रकृति र जलवायु भएको सदावहार हराभरा मुलुक रहेछ । बारैमास फलफूल लटरम्म हुने, विश्वकै सबैभन्दा बढी रबर र नरिवलको तेल उत्पादन गर्ने र विशेष गरी अटोमोबाइल, सिमेन्ट, टायर, इलेक्ट्रोनिक्स, लत्ताकपडाको निर्यात गर्ने मलेसियाका बासिन्दाहरू मलाया, चाइनिज, अग्रेजी भाषा बोल्दा रहेछन् ।

नेपालको जस्तै हावापानी भएको देश मलेसियामा रोजगारीको सिलसिलामा गएका नेपालीहरू प्रायशः होटल, कम्पनी, रेष्टुरेन्ट, कम्प्लेक्सहरूमा एउटा न एउटा भेटिइहाल्थे जसबाट हामीलाई गाउँकै साथी भेटे जस्तो अनुभूति हुन्थ्यो । चैत्र ४ गते साँझ क्वालालाम्पुरको होटलमा बसेर भोलिपल्ट नेपाल आउने कार्यक्रम रहेकोले उक्त दिन ब्यागमा सामान प्याक गरेर केही बेर गफ गरेर हामी निद्रादेवीको शरणमा पुग्यौं । भोलिपल्ट बिहानै ५ बजेको उडान रहेको र त्यहाँबाट एयरपोर्ट पुग्न लगभग दुई घण्टा लाग्ने भएकोले मध्यरातको एक बजे नै हामी सबै चेक्ड आउट भएर एयरपोर्टका लागि निस्कियौं । एयरपोर्टमा करछूटका केही सामान किनेर नेपाल वायुसेवा निगमको विमानमार्फत हामी नेपाल फर्कियौं । नेपालको समय बिहान ८ः३० वजे हामी मलेसियादेखि सोझै काडमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियौँ । पशुपतिनाथले हामी सबैलाई रक्षा गरुन् ।