दशैँको टीका : अग्रज, श्रीमती अनि ढोग !

दशैँको टीका : अग्रज, श्रीमती अनि ढोग !


धन र बुद्धिको रूप नै श्रीमती हो । हामी भाग्यमानी यस अर्थमा पनि ठान्नुपर्छ, यो कलियुगमा पनि हाम्रा घर–घरमा धन र बुद्धि दुवैको देवी साक्षात् श्रीमतीको रूपमा पाएका छौँ । जबकि सत्ययुगमा पनि लक्ष्मी एकातिर र सरस्वती एकातिर बस्थिन् । त्यसैले दशैँमा टीका लगाउँदा पहिलो सम्मान श्रीमतीलाई गर्नु पर्दछ ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

जब जब दशैँ आउँछ, मेरो मनमा एउटा कुरा जहिले पनि सोच्न बाध्य बनाउँछ । त्यो भनेको केही वर्गले सामाजिक सञ्जालमा लेखेको देख्छु, किन श्रीमतीलाई श्रीमानको खुट्टामा ढोगाइन्छ ? किन श्रीमानले चैँ श्रीमतीको खुट्टा ढोग्दैनन् । कतिले किन त्यो फोहरी खुुट्टामा ढोग्नु आदि ? वास्तवमा, पूर्वीय सभ्यता र दर्शनमा सबै जातजातिको आआफ्नो संस्कृति, रितिरिवाज, नियम र परम्परागत रुपमा चलिआएको, मान्दैआएको अग्रजहरूलाई ढोग्ने एक किसिमको प्रथा छ । सोहीअनुसार मान्यजनमा आदर दर्शाउने आआफ्नै ढोग्ने तरिका छन् । कसैले खुट्टामा, कसैले निधारमा हात दिएर, अनि कसैले अलिकति शरीर झुकाएर हातले दर्शन भन्ने, अनि कसैले बज्रआसनमा बसेर देवीदेवतालाई गरे जस्तै गरेर, कसैले सास्टाङ्ग दण्डबत्, अनि कसैले नमस्कार (नमस्करोमि संस्कृतमा) वा नमस्ते (नमस्तुभ्य संस्कृतमा) भनेर हात जोडेर अभिवादन गर्ने, कसैले दुवै हात मुठ्ठी पारेर पृथ्बीमा राख्ने अनि दुवै हातका बुढी औंलामा निहुरिएर निधार राख्ने ।

अचेल साथीभाइमा ‘हाइ…हेलो’ भन्दै दाहिने हात उठाउने चलन पनि छ । यो ढोग्ने चलन हाम्रा बा-आमा, अनि पुर्खाहरूले हामीलाई सिकाएको हो । उहाँहरू भन्नुहन्थ्यो आफूभन्दा अग्रज, वा परमपुज्यलाई जहिले पनि आदर गर्दै ढोग गर्नुपर्दछ । मलाई सम्झना छ, केटाकेटीमा नै हामी साँझको बत्ती बालेपछि बा-आमाको खुट्टामा ढोग्दथ्यौँ, अनि कतै केही समयको लागि बाहिर जाने बेलामा र बाहिरबाट आउँदा पनि पहिलो काम नै बाबुआमालाई ढोग्ने गर्दथ्यौँ । त्यसैले आफुभन्दा अग्रज मान्यजनहरूलाई आदरका साथ आ-आफ्नो चलनअनुसार ढोग्ने वा अभिवादन गर्ने चलन परापूर्वकालदेखि चलिआएको हो । अहिले यो ढोग्ने चलन धेरै कम भएको छ, यसलाई निरन्तरता दिएर परिबारका अग्रजलाई सधै ढोग्ने बानी बसालौँ । यसो गर्नाले दुवैतर्फ घनिष्टता र बात्सल्यता बढाउँछ ।

त्यसैले हामीले अरुको व्यक्तिगत धारणा, निर्णय र छनौटलाई सम्मान गर्न सिक्नुपर्छ । हामीले जहिले पनि समाजलाई पुलजस्तै जोड्ने काम गर्नुपर्छ, न कि समाजलाई भड्खालोमा पार्ने काम । सबै मान्छे स्वतन्त्र छ, उसलाई के मनपर्छ, उसको चाहनाअनुसार गर्न पाउने उसको पारिवारिक अधिकार हो । कसैलाई मन पर्दैन, नगर्नुस्, किन रोइलो ? किन यसो गऱ्यो र उसो गऱ्यो भनेर सामाजिक संजालमा फोटो हालेर झन् यातना दिने ? हामी अनन्तधर्मालम्बीहरूको आफ्नै किसिमका चाडपर्बहरू छन् ।

जस्तै, दशैँको टीका परिवारमा जो जेष्ठ सदस्य छ उसैले लगाइदिने चलन छ । सोही क्रममा जो उमेरले बढी छ उसले लगाइदिने हो । श्रीमान् उमेरले जेष्ठ भए श्रीमानले लगाइदिने, श्रीमती जेष्ठ भए श्रीमतीले लगाइदिने, एकैदिन जन्मेको भए, समयअनुसार को अघि जन्मेको छ, उसैले लगाइदिने । वा श्रीमान्-श्रीमतीको निर्णयअनुसार पनि गर्न सकिन्छ । दशैँमा घरको पहिलो टीका श्रीमतीलाई लगाइदिनु भनेको सम्मान गर्नु हो । श्रीमतीले आदर साथ ढोग्छिन् भने ढोग्न दिनुस्, यसले पति-पत्नीमा अगाध प्रेम बढाउँछ । श्रीमती भनेको केवल पत्नी मात्र होइन, कतिले आफ्नी श्रीमती चिनाउँदा मेरी अर्धाङ्गिनी, मेरी पत्नी, मेरी गृहलक्ष्मी, मेरी उनी, अङ्ग्रेजीमा वाइफ, बेटरहाफ, मिसेज वा वहाँ चैँ म्याडम पनि भनेर चिनाउँदछन् । कतिले अनौपचारिक ढङ्गले मेरी बुढी भन्छन् । वास्तवमा सही तरीकाले भन्नु पर्ने चैँ ‘श्रीमती’ नै हो ।

धेरैलाई थाहा नहुन सक्छ, श्रीमतीको अर्थ ! ‘श्री’ भनेको ‘लक्ष्मी’ र ‘मती’ भनेको ‘बुद्धि’ वा सरस्वती (कस्तो मती नभएको भन्छन् नि, त्यो भनेको बुध्दि नभएको) । धन र बुद्धिको रूप नै श्रीमती हो । हामी भाग्यमानी यस अर्थमा पनि ठान्नुपर्छ, यो कलियुगमा पनि हाम्रा घरघरमा धन र बुध्दि दुवैको देवी साक्षात् श्रीमतीको रूपमा पाएका छौँ । जबकि सत्ययुगमा पनि लक्ष्मी एकातिर र सरस्वती एकातिर बस्थिन् । त्यसैले पहिलो सम्मान दशैँमा टीका लगाउँदा श्रीमतीलाई गर्नु पर्दछ । यो ढोग्ने चलन सत्ययुगदेखि नै प्रत्येक युगमा अग्रज, बा-आमा, गुरु, ऋषि, तपस्वीहरूलाई गरिँदै आएको हो । श्रीमानले पनि श्रीमतीको चरण स्पर्श गरेर पनि सम्मान व्यक्त गर्न सक्छन्, यसले आत्ममोह, अन्तरप्रेम बढाउँदछ । जसरी महादेवले सतीको र कृष्णले राधाको चरण स्पर्श गरेर सत्य र द्वापर युगमा सम्मान गर्दथे । यसो गर्दा श्रीमतीमा भएको सकारात्मक उर्जा आफूमा ग्रहण हुन्छ । कसैको पनि पतिले आफ्नो पत्नीलाई जबरजस्ती ढोग कहिले भन्दैनन्, यो त स्वस्फूर्त रुपमा भित्री आत्माबाट प्रकट हुने कुरा हो । यसरी ढोग्दा सकारात्मक उर्जा सिधै मष्तिकमा पुग्दछ ।

टिप्पणी गर्नेले गरिरहन्छन्, यसरी भनौँ कि, मैनाको बोली कागलाई मन नपर्न सक्छ, त्यो भन्दैमा के मैना पनि काग बन्दिनु ? त्यसैले अरुको अधिकारमा हस्तक्षेप नगरौँ, आआफ्नो रीतिरिवाजअनुसार प्रत्येक व्यक्तिलाई आफ्नो स्वतन्त्रताको हकअनुसार गर्न दिऔँ । बरु यसका वैज्ञानिक कारण, सामाजिक, सांस्कृतिक र पारिबारिक कारणहरूको अन्भेषण गरौ । तसर्थ जसरी राइट टु फ्रीडम हुन्छ भने, राइट टु च्वाइस पनि हुन्छ । नेपालमा २०७८ को जनगणना अनुसार २०६८ भन्दा १७ बढी जातजाति थपिएर १४२ जातजाति र १३१ बिभिन्न बोलिने मुख्य र विभिन्न स्थानीय भाषाहरू छन्, अनि आ-आफ्ना रीतिरिवाज, संस्कृति पनि । त्यही संस्कृतिलाई जीवन्त राख्नु हाम्रो धर्म पनि हो ।

योग शास्त्रअनुसार बुढी औंलामा आत्मिक शक्ति संरक्षित हुन्छ, अनि यो औंंला कुन्डलिनीमा जोडिएको हुन्छ । आत्मिक शक्ति नै शरीरको मुख्य केन्द्रीय स्टेसन हो । त्यसैले चरण श्पर्श गर्दा त्यो शक्ति आफुमा आउँछ । यसरी जसको खुट्टा स्पर्श गरिन्छ उसले चिरन्जीवी, आयुस्मान, आयुस्मती, विजय भव, ओजस्वी, तेज्वसी भवः भनेर आशीर्वाद दिनुपर्छ । चरण स्पर्श गर्नेले दुवै हात क्रस गरेर गर्नुपर्छ । देब्रे हात नकारात्मक र दाहिने हात सकारात्मक हुन्छ र क्रस गर्दा पूरै शरीरमा तटस्तता राख्दछ र सकारात्मक शक्तिले जित्दछ । अझ शास्त्रले घुडा नखुम्च्याइ चरण स्पर्श गर्नुपर्छ भन्छ, यसो गर्दा रगत सञ्चारमा सहयोग अनि शरीर तन्दुरुस्त बनाउँछ ।

मान्छेको शरीरमा २०६ वटा हड्डीहरू हुन्छन, ति मध्ये ५२ वटा हड्डीहरू दुई वटा खुट्टामा, अनि ५४ वटा हड्डीहरू दुई वटा हातमा मात्र हुन्छन् । यसरी २०६ मध्ये १०६ हड्डी त हात र खुट्टामा मात्रै हुन्छन् । त्यसैले यो मजबुत खुट्टा र हातको एकअर्कामा शक्तिको अन्तरसम्बन्ध छ । चरण श्पर्श गर्दा त्यो शक्ति आफूमा आउँछ । यसरी ढोग्दा ज्ञान, बौद्धिकता, शक्ति, प्रशिद्धि, दीर्घजीवन, भाग्य स्थानान्तरण हुन्छ भन्नेकुरा शास्त्रहरूमा पाइन्छ । जब हामी कसैको चरण स्पर्श गर्छौं भने त्यसबेला दुबैको नकारात्मक भाव र अहंकारलाई बाहिर राखिन्छ ।

अन्ततः यस्ता अहंकार र रिस, राग द्वेषहरू सदाका लागि बाहिरिँदै जानेछ । साथै खुट्टालाई ज्ञानको प्रतीक पनि मानिन्छ । अझ भनौँ साष्टाङ्ग दण्डवत् गर्दा त पूरै शरीर जमीनमा सुतेर दुवै हात अगाडि जोडेर तनक्क तन्काएर गरिन्छ, त्यसले शरीरको एक किसिमको व्यायाम नै हुन्छ, शरीरको दुखाई कम हुन्छ । यसरी चरण स्पर्श गर्दा यी विद्युतीय उर्जाको चक्र बन्छ र सकारात्मक उर्जा शरीर भित्र पस्छ । सकारात्मक उर्जा उत्तरी ध्रुवबाट मान्छेको मष्तिस्कबाट प्रेस गर्छ अनि दक्षिणी ध्रुबको खुट्टातिर जान्छ । त्यसैले चरण स्पर्श गर्दा वा निधारले ढोग्दा त्यो सकारात्मक उर्जा आफूमा आउँछ । यसरी ढोग्दा आफूभित्र नम्रता, आदर, र विनयको भाव जागृत गराउँदछ साथै यसो गर्दा आयु, विद्या, यश र बल प्राप्त हुन्छ भनिन्छ ।

त्यसैले कसैले कसैलाई खुट्टामा ढोग्दा आनन्द आउँछ, मन प्रफुल्लित हुन्छ भने त्यो आनन्द लिन दिनुस्, किन बेकाममा खिसीट्युरी गर्ने ? दुवैतर्फ आदर, समझदारी, सदभाव र सहिष्णुता छ भने आफ्नो संस्कृतिअनुसार गर्न दिनुहोस् । त्यसैले यस्ता कुरामा अल्झिनु भन्दा राष्ट्रको मूल विषयमा ध्यान दिनु नै उचित हुन्छ ।