काठमाडौंमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौंमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै


नेपालमा पहिलोपटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ ।

न्यूयोर्क राइटर वर्कसपले लोटस बुक पसलसँगको सहकार्यमा यही जेठ ९ देखि १५ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको जानकारी दिइयो । जेठ ९ देखि १३ गतेसम्म कार्याशाला र १४ देखि १५ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल हुने र त्यसक्रममा समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसनलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत, चीन, हङ्कङ, अमेरिका, रसिया, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा बढी मुलुकबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरू सहभागी हुने फेस्टिभलका संरक्षक एवम् हिमालयन कवी युयुत्सु आरडी शर्माले बताए । साहित्य तथा पर्यटन प्रवर्द्धन गर्न महोेत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले कार्यशालामा लेखकहरूले आफ्ना साहित्यिक रचना प्रदर्शन गर्ने जानकारी दिए ।

‘यस वर्ष हिमालयन लिटरेचर फेस्टिभल सुरू गर्न पाउँदा हामी हर्षित छौँ’, कवि शर्माले भने- ‘हाम्रो लक्ष्य एउटा ‘प्लेटफर्म’ सिर्जना गर्ने हो, जसले साहित्यलाई मात्र होइन, समुदायको भावनालाई समेत बढावा दिन्छ र रचनात्मकतालाई प्रेरित गर्छ ।’

मुख्य कार्यक्रमहरूको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रित्मक सत्रहरू समावेश हुने जनाइएको छ ।