- विशेष प्रतिनिधि, कपिलबस्तु
कपिलबस्तुको विभिन्न स्थानमा झाँकीसहित निकालिएका दुर्गा भवानीको मुर्ति विसर्जन गरिएको छ । बाजागाजासहित स्थानीय नदीनालामा दुर्गा भवानीको मुर्ति बिसर्जन गरिएको हो ।
जिल्लाका दश पालिकाअन्तर्गत विभिन्न चोक बजार गाउँमा दशैँको अवसरमा मुर्ति प्रर्दशन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मुर्तिहरुको विशेष हवन गरिएको थियो ।
जिल्लाको विभिन्न स्थानमा सयौंको संख्यामा दुर्गा भवानीको मुर्ति बनाइ राखिएको थियो । १५ हजार देखि ५० हजार बढी मुल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थापनाका दिन र अधिकांशले सप्तमीका दिन पुजापाठ गरी निकालेका थिए । दुर्गा मुर्तिलाई भक्तजनहरुले बाणगंगा नदीको रामघाट लक्ष्मणघाट, सुरई, कोठी, बेल नदी तथा विभिन्न नालामा भब्य रुपमा विसर्जन गरेका थिए ।

नवरात्रमा दुर्गा भगवतीको ब्रत बसी पुजापाठ गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । प्रजिअ शंकरहरि आचार्यका अनुसार कृष्णनगर क्षेत्रका मुर्तिहरु मंगलबारा र तौलिहवा, गोरुसिंगे, लबनी, पकडी लगायतका स्थानमा बनाइएका मुर्ति बिहीबार सेलाइएको जानकारी दिए । मुर्ति सेलाउने विभिन्न स्थलहरुमा मेलसमेत लागेको थियो ।
सम्भावित घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो ।
प्रतिक्रिया