सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार गरिने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको तर्क छ ।
झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गरे । सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले कोशी प्रदेश सरकार अब नढल्ने दाबीसमेत गरे ।
गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन ।
यसैक्रममा मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्र्याउन आह्वान गरेका छन् ।
विदेशमा रहेका नेपालीको सीप, प्रविधि र लगानी भित्र्याउन प्रदेश सरकार आतुर रहेको धारणा व्यक्त गर्दै उनले लगानीमैत्री कानुन बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
file photo: rss
प्रतिक्रिया