वन-म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् ।
सतासी वर्षीय पर्सी अबेसेकराको छोटो बिरामपछि सोमबार राजधानी कोलम्बो बाहिरको एक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ ।
श्रीलङ्काका पूर्वकप्तान माहेला जयावर्धनेले अबेसेकरा ‘श्रीलङ्काली क्रिकेटरहरूको थुप्रै पुस्ताका लागि वास्तविक १२औँ खेलाडी’ रहेको बताएका छन् ।
‘उहाँ मेरो सम्पूर्ण करियरको समयमा हुनुहुन्थ्यो, हाम्रो हौसला बढाउनुहुन्थ्यो, देशको झन्डा फहराउनुहुन्थ्यो र जिते वा हारे पनि सधैँ हामीलाई हँसाउनुहुन्थ्यो, हामी सधैँ तपाईंलाई सम्झिने छौँ पर्सी अङ्कल’, उनले भनेका छन् ।
अर्का पूर्वकप्तान कुमारा सङ्गाकाराले अबेसेकरा पनि खेलाडीहरूजस्तै श्रीलङ्का क्रिकेट टिमको हिस्सा भएको बताए । “मेरो डेब्युदेखि लिएर अन्तिम खेलसम्म अङ्कल पर्सी निरन्तर हुनुहुन्थ्यो, श्रीलङ्काको खेलमा उहाँको योगदान जर्सी लगाएको कुनै पनि खेलाडी बराबर छ”, उनले भनेका छन् ।
‘क्रिकेटका पागल’
सन् १९९६ को विश्वकप विजेता श्रीलङ्का टिमका सदस्य सनथ जयसुरियाले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘हाम्रा प्रिय अङ्कल पर्सीले आफ्नो भगवान्लाई भेट्नुभएको छ भन्ने सुन्दा धेरै दुःख लागेको छ, तपाईं पहिला सुपरफ्यान हुनुहुन्थ्यो र हामी सबैका लागि तपाईं सधैँ विशेष रहनुहुनेछ ।’
जारी विश्वकपमा सोमबार अफगानिस्तानसँग श्रीलङ्काको हारपछि स्पिन बलर महेश तीक्षणाले भने, ‘म केटाकेटी हुँदा उहाँ खेलमा मुख्य व्यक्ति हुनुहुन्थ्यो, उहाँले झन्डा फहराएको मैले देखेको थिएँ, त्यसैले टिमको एउटा सदस्यका नाताले यस्तो समाचार सुन्दा निराश छु ।’
डेली एफटी अखबारले भनेको छ, ‘पर्सीले आफ्नो जीवन र आत्मा खेललाई सुम्पिनुभयो र उहाँ आफैँमा एउटा किंवदन्ती हुनुहुन्थ्यो ।’
प्रतिक्रिया