संक्रमणकालीन न्याय विलम्ब हुनुमा प्रधानमन्त्री जिम्मेवार : भगवती चौधरी

संक्रमणकालीन न्याय विलम्ब हुनुमा प्रधानमन्त्री जिम्मेवार : भगवती चौधरी


नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगवती चौधरीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनी गुटरेसको भ्रमण परिणाममुखी भएको बताएकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेकी हुन् ।

गुटरेसले संसदमा सम्बोधन गरेको विषयवस्तु नेपाल र नेपालीको हितमा रहेको उनले उल्लेख गरिन् । नेपालको शान्तिप्रक्रिया, जलवायु परिवर्तन र यसको असर तथा गरिबी निवारण र आर्थिक, सामाजिक रुपान्तरमा गुटरेसले विश्वको ध्यानाकर्षण गराउनु नै महत्वपुर्ण रहेको चौधरीको जिकिर छ ।

विश्वमा फैलिरहेको युद्धको अन्त्य गर्दै विश्व नै शान्तिको मार्गमा जान गुटरेसले सुझाव दिएको चौधरीले बताइन् । अबको मार्ग भनेको विश्वमा शान्ति निर्माण गरी शान्त र सुरक्षित मुलुक बनाउनु गुटरेसको सन्देश रहेको चौधरीको भनाइ छ । जलवायु परिवर्तनले नेपालमा पारेको असर र नेपाललाई सहयोग गर्न विश्व समुदायलाई गुटरेसले गरेको अपिल सान्दर्भिक भएको उनको तर्क छ ।

कार्यक्रममा सांसद चौधरीले संक्रमकालिन न्यायको विषय प्रधानमन्त्री प्रचण्डकै कारण अलमलमा परेको आरोप लगाइन् । प्रधानमन्त्री प्रचण्ड संक्रमणकालिन न्यायको पक्षमा नरहेको समेत उल्लेख गरिन् । ‘नेपालको शान्ति प्रकृया र संक्रमणकालीन न्यायमा विलम्ब हुनुमा प्रधानमन्त्री प्रचण्ड जिम्मेवार हुनुहुन्छ । सत्ता पक्षकै कारण संक्रमणकालीन न्याय निमार्ण र पीडितले न्याय पाउनुपर्छ भन्ने विषय रोकिएको छ । अदालतको आदेश पालना गरेर चाँडोभन्दा चाँडो शान्ति प्रकृया टुंग्याउनु पर्छ’ चौधरीले भनिन् ।