सरकारले भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्ने

सरकारले भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्ने


केएमसीले पनि निःशुल्क उपचार गर्ने

जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिएका छन् ।

मन्त्री बस्नेतले भनेका छन्, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरुको उपचार त्यही गर्छौं, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौं । उपचारमा कुनै कमी हुने छैन ।’

जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

यसैगरी, जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गर्ने जनाएको छ ।

मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले एक विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतालका सल्लाहकारसमेत रहेका मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरुको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानकारी दिए ।

केएमसीले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार तथा स्वास्थ्य लाभको कामना गरेको छ ।

बागमती प्रदेशको डेढ करोड सहयोग

यस्तै, बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि रू एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोग गर्नसमेत आग्रह गरेका छन् ।