प्रमुख प्रशासकीय अधिकृत नपठाएकोमा विरोध
- आरके श्रीवास्तव, रौतहट
रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयवासीले प्रधानमन्त्री बालेन्द्र साहको पुतला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन, विकास निर्माणका योजना तथा सेवा प्रवाह प्रभावित भएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।
आन्दोलनका क्रममा प्रदर्शनकारीले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन, नगरपालिकाको बजेट कार्यान्वयनमा देखिएको अवरोध हटाउन तथा सर्वोच्च अदालतको आदेशअनुसार आवश्यक भुक्तानी प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनीहरूले सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
स्थानीयका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर शिक्षकको तलब भुक्तानी, बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राहीलाई रकम वितरण, विद्युत् तथा खानेपानीको भुक्तानीलगायतका काम प्रभावित भएका छन् । सरसफाइ कर्मचारीले समेत तलब नपाउँदा नियमित सेवा प्रभावित भएको उनीहरूको भनाइ छ ।
मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकालाई प्रशासनिक रूपमा ठप्प बनाउने र बजेट कार्यान्वयन रोक्ने प्रयास गरेको आरोप लगाएकी छन् । उनले स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन सरकारसँग माग गरेकी छन् । साथै, आन्दोलनरत स्थानीयले समस्या समाधान नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया