रोजगारीका लागि भारत गएका एकै परिवारका पाँच नेपालीको ट्रकको ठक्करबाट मृत्यु

रोजगारीका लागि भारत गएका एकै परिवारका पाँच नेपालीको ट्रकको ठक्करबाट मृत्यु


ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका-७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चौकुने-७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, पाँच वर्षीय छोरा मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने-७ का वडाध्यक्ष धनिराम धमलाले जानकारी दिएका छन् ।

मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराइरहेका र बिरामी दाइलाई भेट्न उनीहरु फर्किने बेलामा ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाको भनाइ छ ।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारत गएका थिए । चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ । बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको बताइएको छ ।