विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै भूकम्प प्रभावितको उद्दार, खानपिन, बसोबास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट सदरमुकाम खलंगा पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावित जनतालाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताउनुभएको छ । सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुवैतिर उत्तिकै परिचालित हुन समेत उहाँले निर्देशन दिनुभयो।
उद्धारको काम लगभग सकिएकोले अब राहत, बसोबास, खानपिन र उपचारमा केन्द्रित हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । पीडित र प्रभावित परिवारहरूले सरकारले तत्काल उद्दार पहल गरेर राज्य हुनुको अनुभूति दिलाएको बताएका थिए । प्रधानमन्त्री प्रचण्ड स्वयं नै हिजो जाजरकोट र पश्चिमरुकुम पुगी सुरक्षाकर्मीसहित उद्धारमा खटिएकोप्रति स्थानीयले सराहना गरेका थिए।
पीडित र प्रभावितको समग्र जानकारी लिएपछि उपस्थितहरूलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नगद एवम् जिन्सी राहत वितरण, खानपिन, बसोबास र उपचारमा कुनै कमी हुन नदिइने तथा पुनर्निर्माणको योजना तत्काल बनाइने समेत बताउनुभयो।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली यसपछि पश्चिम रुकुम पुग्ने बताइएको छ । टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत संलग्न छन् ।
प्रतिक्रिया