काठमाडौं उपत्यकामा रातभर देउसी-भैलो खेल्न पाइने

काठमाडौं उपत्यकामा रातभर देउसी-भैलो खेल्न पाइने


काठमाडौं उपत्यकामा रातभर देउसी-भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ ।

भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

‘उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ’- प्रजिअ बस्नेतले भनेका छन् ।

उनका अनुसार आवश्यक मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुइँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ भने उपत्यकामा पटका र आतसबाजी पड्काउन निषेध गरिएको प्रहरीले जनाएको छ ।