अनेसास बेल्जियमको अधिवेशन सम्पन्न

अनेसास बेल्जियमको अधिवेशन सम्पन्न


अध्यक्षको जिम्मेवारी सौरभ कारंजितको काँधमा

  • विशेष प्रतिनिधि, युरोप

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आफ्नो नवौँ अधिवेशनका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्ती एवम् पुस्तक विमोचन कार्यक्रम लक्ष्मीपूजाको दिन बेल्जियमको आन्ट्रोपेन शहरमा सम्पन्न गरेको छ । बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सौरभ करन्जितले उपस्थित पाहुनाहरुलाई मिठा शब्दले स्वागत गर्नुभयो भने देवकोटा जन्मजयन्तीको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली अम्माईले गर्नुभएको थियो।

महासचिव लोकनाथ शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा कवि विमल गिरीद्वारा लिखित ‘अजम्बरी’ मुक्तक संग्रहको विमोचन गर्दै राजदूत राजभण्डारीले विदेशमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै नयाँ नयाँ कृति प्रकाशन गर्नुहुने कविवर विमल गिरिलाई हार्दिक बधाई दिनुभयो । राजदूत राजभण्डारीले अनेसास, बेल्जियमले विदेशमा पनि नेपालीबीच नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा लागिरहेकोले नै ब्यस्तताका बाबजुद आफू कार्यक्रममा उपस्थित रहेको जानकारीका साथ संस्थालाई अझै सकृय बनाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सल्लाहकार दीपेन्द्र केसीले विमोचित कृतिको बारेमा समालोचना गर्नुभएको थियो भने पञ्चम अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली भाषा तथा साहित्यमा योगदानको बारेमा बोल्नुभएको थियो ।

यसै कार्यक्रमका विविध पक्षहरुबीच, फोटोमा मुक्तक प्रतियोगिताद्वारा संचालित १ देखि १०० अंकसम्मको २७० जना विजयीहरुको ६५८ वटा मुक्तक तथा सम्बन्धित फोटोहरु समेत समाहित रहेको ‘विजयोपहार’ मुक्तकसंग्रहको पनि लोकार्पण भएको छ।

कार्यक्रममा अमेरिकाबाट आउनुभएका वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम ढकालका दुई कृति ‘भगवानलाई प्रश्न’ तथा ‘Borderless Dreams’ नामक कृतिको विमोचन गरिएको थियो ।

यस्तै, साहित्यकार कौशल खनाल, गोपाल दाहाल, श्रीराम प्रसाई, ब्रम्ह वाग्ले, जमुना गैरे बास्तोला, परमानन्द सापकोटा, विमल गिरि, सौरभ कारन्जित, चन्द्र शर्मा, पंचम अधिकारी, लोकनाथ शर्मा, दीपेन्द्र केसी, डिल्ली अम्माई लगायतले आफ्ना रचनामार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धासुमन ब्यक्त गर्नुभएको थियो।

संस्थाको नवौं अधिवेशनले सौरभ कारन्जितको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जसमा लोकनाथ शर्मा उपाध्यक्ष, गोपाल दाहाल महासचिव, जमुना गैरे बास्तोला सचिव र श्रीराम प्रसाई कोषाध्यक्ष छानिएका छन् । त्यस्तै, कार्यसमितिका सदस्यहरुमा मुना ताम्राकार, मुना राई, कौशल खनाल, विना खतिवडा, लीलाधर पन्त र विनोद शाही चयन भएका छन् । सल्लाहकार मण्डल र समितिलाई पूर्णता दिने काम पहिलो बैठकबाट गरिने निर्णय भएको छ ।

ज्ञातव्य छ, अधिवेशनमा नेपाली खेलकुद संघ बेल्जियम, एनआरएनए बेल्जियम, मोना बेल्जियम, नेपाली ब्यवशायी संघ, प्रवाशी नेपाली संघ युरोप तथा बेल्जियम लगायत विभिन्न संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।