द्वारिका ढुंगाना : साइकल मर्मत गर्नेदेखि गीतकारसम्म

द्वारिका ढुंगाना : साइकल मर्मत गर्नेदेखि गीतकारसम्म


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

एक जमाना थियो, उनी साइकल मर्मतको काम गर्थे । त्यहीँबाट कमाएको पैसाले उनको गुजारा चल्थ्यो । पढाइ राम्रै थियो । पढ्दै गए । २००९ सालमा जन्मिएका उनी अर्थात् गीतकार द्वारिका ढुंगाना अहिले चल्तीका गीतकारमा गनिन्छन् ।

भक्तपुरको चाँगुनारायणमा जन्मिएका ढुंगानाले २०२८ सालदेखि व्यवसायिकता रोजे । तत्कालीन यातायात मन्त्रालयमा खरिदार पदमा जागिरे भए उनी । धनगढी-डडेलधुरा राजमार्गमा खटिए । स्वास्थ्य मन्त्रालय, तथ्याङ्क विभागहुँदै सूचना र प्रविधि मन्त्रालयसम्म हुलाक सेवामा पुगेर काम गर्न भ्याए ।

रमाइलो स्वभावका उनी अर्थात् ढुंगानाले २०३५ सालमा गुप्तचर विभाग (बोलिचालीको भाषामा विशेष विभाग)मा सहायक निरीक्षक पदमा नियुक्ति पाए । लहडी स्वभावका र रमाइलोका लागि किस्सा बन्ने उनले २०३९ मा त्यो नोकरी पनि छोडे । फेरि २०३९ मा त्यही विभागमा अनुसन्धान अधिकृतको रूपमा नियुक्ति लिए । भन्न अलिक सर्माएका उनले त्यो अधिकृतको पद भने २०४३ मा हुप्र .(हुकुम प्रमाङ्गी) बाट पाएका थिए । उनी २०५६ सम्म गुप्तचरमै रहे ।

हाल राजधानी काठमाडौंको अनामनगरमा घरजम गरेर बसेका उनले २०२७ मा कवितामा प्रथम भएर ‘ब्यर्थ धन’ शीर्षकमा प्रज्ञा पुरस्कार, रेडियो नेपाल र भारतको मनमोहन मेमोरियल बनारसबाट समेत पुरस्कार पाइसकेका छन् । स्रस्टा समाज, लीलाध्वज थापा प्रतिष्ठानका सदस्यसमेत रहेका उनी करिव ८० वर्षको उमेरमा पनि दैनिकजसो गीत लेख्छन् । उनका गीत मनपराएर र बजेर अहिलेसम्म युट्युव र रेडियो नेपालबाट करिव १ लाख रुपैयाँ हात परिसकेको छ ।

उनका रेडियो नेपालमा २ सय ५० र म्युजिक नेपालमा २५ गीत रेकर्डेड छन् । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ, उनी जीवनको सुरुवातमा साइकल मर्मत गर्थे । साइकलको ट्युव फेर्थे, त्रिपट भएका रिङहरू सोझो बनाउँथे । अहिले उनी गीतकारका रुपमा चिनिन्छन् ।

उनका अहिले ख्याल ख्यालैमा… र स्वर्ग बन्छ संसार… प्रवीण बेडवाल र रचना रिमालले गाएको, परेलीको आँशु, वसन्तको बहार र यो यात्रा छ मेरो… गीत चर्चित छन् । अहिले पनि दैनिकजसो गीत लेखनमा व्यस्त उनले प्यास कविता संग्रह पनि प्रकाशित गरेका छन् । गीतकार ढुंगानाको दिवाकर शर्माले गाएको अजर अम्बर गीत पनि लोकप्रिय छ ।